युरोपा लिग फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ।
गएराति भएका राउन्ड अफ सिक्सटिनका दोस्रो लेगका खेल सकिएसँगै अन्तिम आठमा पुग्ने टोलीहरूको टुङ्गो लागेको हो। गएराति भएको खेलमा इंग्ल्याण्डको एस्टन भिल्लाले फ्रान्सेली क्लब लिललाई २–० गोल अन्तरले पराजित गर्दै समग्रमा ३–० को नतिजासहित क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
अर्को प्रतिस्पर्धात्मक खेलमा नटिंघम फरेस्टले मिजील्याण्डलाई पेनाल्टी सुटआउटमा ३–० ले हराउँदै अघिल्लो यात्रा तय गर्यो। निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि नतिजा पेनाल्टीबाट लिइएको हो।
यस्तै, इटालीको बोलोन्याले रोमालाई ४–३ को रोमाञ्चक अन्तरले पाखा लगाउँदै अन्तिम आठमा आफ्नो नाम दर्ता गराएको छ। पोर्चुगिज क्लब पोर्टोले स्टुटगार्टलाई २–० ले तथा ब्रागाले फेरेन्कभारोसलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका छन्।
स्पेनिस क्लबहरू सेल्टा भिगो र रियल बेटिसले पनि आ–आफ्नो खेलमा जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेका छन्। सेल्टाले लियोनलाई २–० ले र बेटिसले पानाथिनाइकोसलाई ४–० ले पराजित गरे। जर्मनीको फाइबर्गले गेंकलाई ५–१ को भारी गोल अन्तरले हराउँदै क्वार्टरफाइनलको समीकरण पूरा गरेको छ।