वीरगञ्ज । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका क्रममा हिन्दु धर्मावलम्बीहरूको धार्मिक आस्थामाथि ठेस पुग्ने अभिव्यक्ति दिइएको आरोप लगाउँदै पर्साका दुई प्रमुख हिन्दु धार्मिक सङ्गठनले जिल्ला प्रशासन कार्यालय पर्सामार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रिय बजरंग दल, पर्सा र नेपाल विश्व हिन्दु महासंघ, पर्साले बिहीबार संयुक्त रूपमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापन-पत्र बुझाउँदै सम्बन्धित व्यक्तिमाथि कानुनी कारबाही गर्न माग गरेका हुन्। ज्ञापन-पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत पठाइएको जनाइएको छ।
नेपाल विश्व हिन्दु महासंघ पर्साका अध्यक्ष श्रीनन्दन भारद्वाज र राष्ट्रिय बजरंग दल पर्साका प्रतिनिधि विवेक सिन्हासहितको टोलीले जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापन-पत्र हस्तान्तरण गरेको थियो।
ज्ञापन-पत्रमा रास्वपाको महाधिवेशनमा वीरगञ्जबाट सहभागी भएका प्रतिनिधि महबुब आलमले सञ्चारमाध्यममार्फत दिएको अभिव्यक्तिमा हिन्दु धर्मका आराध्य देव भगवान श्रीराम र लक्ष्मणको नाम राजनीतिक सन्दर्भमा प्रयोग गरिएको भन्दै आपत्ति जनाइएको छ।
दुवै सङ्गठनले कुनै पनि राजनीतिक व्यक्तित्वसँग हिन्दु धर्मका आराध्य देवहरूको तुलना गर्नु धार्मिक आस्था र भावनामाथिको आघात भएको उल्लेख गर्दै उक्त अभिव्यक्तिको भर्त्सना गरेका छन्।
सङ्गठनका प्रतिनिधिहरू विवेक सिन्हा र श्रीनन्दन भारद्वाजले करोडौँ हिन्दुहरूको आस्थाका केन्द्र भगवान श्रीरामको नाम राजनीतिक प्रचार वा महिमामण्डनका लागि प्रयोग गर्नु निन्दनीय र आपत्तिजनक भएको बताएका छन्।
ज्ञापन-पत्रमा धार्मिक आस्थाको सम्मान गर्दै राजनीतिक प्रचार वा व्यक्तिगत स्वार्थका लागि आराध्य देवहरूको नाम दुरुपयोग गर्ने कार्य तत्काल रोक्न माग गरिएको छ। साथै, हिन्दु समुदायको धार्मिक भावनामा चोट पुग्ने गरी अभिव्यक्ति दिने सम्बन्धित व्यक्ति तथा त्यसलाई प्रश्रय दिने पक्षले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग पनि गरिएको छ।
त्यसैगरी भविष्यमा सनातन धर्म, देवी–देवता तथा धार्मिक आस्थालाई होच्याउने वा विवादमा तान्ने गतिविधि दोहोरिए कडा विरोधका कार्यक्रमसहित कानुनी प्रक्रियामा जाने चेतावनी समेत ज्ञापन-पत्रमा उल्लेख गरिएको छ।
ज्ञापन-पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा असर पुग्ने विषयलाई गम्भीरतापूर्वक लिइने तथा कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने बताएका छन्।
दुवै सङ्गठनले धर्म, संस्कृति तथा सामाजिक सद्भावको संरक्षणका लागि सम्पूर्ण सनातन हिन्दु समुदायलाई एकजुट हुन पनि आह्वान गरेका छन्।