वीरगञ्ज । श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा सञ्चालन हुन लागेको “श्री गहवामाई रथयात्रा–२०८३” को अवसरमा आयोजना गरिने निःशुल्क स्वास्थ्य शिविरलाई सफल बनाउन तथा व्यापक जनसहभागिता सुनिश्चित गर्न बुधबार गहवामाई मन्दिर प्राङ्गणस्थित समितिको कार्यालयमा बैठक सम्पन्न भएको छ।
बैठकले आगामी असार १३ गते शनिबार बिहान ७ः३० बजेदेखि सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविरमा सर्वसाधारणको सहभागिता बढाउन प्रभावकारी प्रचार–प्रसार गर्ने निर्णय गरेको गहवामाई तीर्थ क्षेत्र विकास समितिका सदस्य देवानन्द कलवारले जानकारी दिए।
बैठकमा स्वास्थ्य शिविर तथा रथयात्रा कार्यक्रमलाई व्यवस्थित र सफल बनाउन विभिन्न सरोकारवाला पक्षसँग समन्वय गर्ने, सर्वसाधारणसम्म समयमै सूचना प्रवाह गर्ने तथा भक्तजनहरूको सुविधालाई मध्यनजर गर्दै आवश्यक तयारीलाई तीव्रता दिने विषयमा छलफल भएको समितिका सदस्य डा. सुरसत्तम दुबेले बताए।
समितिका अनुसार हरेक वर्ष आयोजना हुने श्री गहवामाई रथयात्रामा हजारौं भक्तजनको सहभागिता रहने गर्दछ। धार्मिक आस्था र सांस्कृतिक महत्व बोकेको यो रथयात्रा वीरगञ्जको प्रमुख धार्मिक उत्सवमध्ये एक मानिन्छ।
आयोजकहरूले यस वर्षको रथयात्रालाई थप भव्य, व्यवस्थित तथा आकर्षक बनाउन विभिन्न तयारीका कार्यहरू अघि बढाएका छन्। रथयात्राको मिति नजिकिँदै जाँदा भक्तजनहरूमा उत्साह थपिएको छ भने स्थानीय स्तरमा व्यवस्थापनका कामहरू पनि तीव्र गतिमा भइरहेको जनाइएको छ।
समितिले निःशुल्क स्वास्थ्य शिविरबाट सर्वसाधारणले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास व्यक्त गर्दै स्वास्थ्य परीक्षण तथा परामर्श सेवाको लाभ उठाउन अधिकभन्दा अधिक नागरिकलाई सहभागी हुन आग्रह गरेको छ।