रौतहट । राजपुर नगरपालिका–५ पानीटंकीस्थित राजपुरबाट अकोलवा जाने भित्री पक्की सडकखण्डको बीच भागमा फलामको ड्रमभित्र पहेँलो प्लास्टिकको बोरामा राखिएको शंकास्पद वस्तु फेला परेको छ।
आइतबार राति करिब १:३० बजे संयुक्त सुरक्षा फौजले उक्त वस्तु देखेपछि सुरक्षाका लागि इलाका कर्डन गरी सर्वसाधारणको आवतजावत तत्काल रोकिएको थियो। सम्भावित जोखिमलाई ध्यानमा राख्दै नेपाली सेना अन्तर्गतको बम डिस्पोजल टोलीलाई खबर गरिएको श्री नारायणदल गण का गणपति विश्वास विष्ट ले जानकारी दिए।
सोमबार बिहान करिब १०:०० बजे बम डिस्पोजल टोली घटनास्थलमा पुगेर शंकास्पद वस्तु निष्क्रिय पारेको जनाएको छ। निष्क्रिय गरेपछि गरिएको जाँचमा बोराभित्र कुनै विस्फोटक पदार्थ नभई माटो मात्र रहेको पुष्टि भएको सेनाले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उक्त वस्तु झुटो त्रास फैलाउने उद्देश्यले राखिएको हुन सक्ने अनुमान गरिएको छ।
नारायणदल गणले प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक बम डिस्पोजल टोली तैनाथ गरेको गणपति विष्टले बताए। साथै राजमार्ग सुरक्षाका लागि एक अतिरिक्त टोली तयारी अवस्थामा राखिएको उनले उल्लेख गरे। गणका अनुसार कुनै पनि स्थानमा शंकास्पद वस्तु फेला परेमा १० देखि ३० मिनेटभित्र घटनास्थलमा पुग्ने क्षमता सुरक्षा निकायसँग रहेको छ।
सुरक्षा निकायले सर्वसाधारणलाई कुनै पनि शंकास्पद वस्तु देखिएमा नछुने र तत्काल नजिकको सुरक्षा निकायलाई खबर गर्न आग्रह गरेका छन्।