×

वीरगञ्ज । पर्सा जिल्लाको नगवा क्षेत्रमा स्थानीय युवाहरूले एमालेका उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल रुङटाको समर्थनमा सहभागिता जनाएका छन्।

केही दिनअघि नगवाका युवाहरूले एमाले उम्मेदवार प्रदीप यादवलाई नगवामा प्रवेश गर्न नदिँदै विरोध प्रदर्शन गरेका थिए। पटक–पटक निर्वाचन जिताएर पठाउँदा पनि नगवाको विकासमा कुनै ठोस काम नगरेको आरोप उनीहरूले यादवमाथि लगाएका छन्। युवाहरूका अनुसार पोखरी निर्माण, वर्षायाममा हुने जलडुबानको समस्या समाधानलगायत आधारभूत आवश्यकतामा यादव असफल रहेका छन्। उनीहरूले यादव केवल ‘स्टन्टबाजी’मै सीमित भएको गुनासो व्यक्त गरेका थिए।

यसैक्रममा आज आयोजित नेपाली कांग्रेस उम्मेदवार अनिल रुङटाको चुनावी कार्यक्रममा नगवाका युवाहरूले आफ्ना समस्या र असन्तुष्टि खुला रूपमा प्रस्तुत गरेका थिए। युवाहरूका गुनासाको जवाफ दिँदै उम्मेदवार रुङटाले नगवाको विकास कार्य स्थानीयवासीको सहभागिता र सहकार्यमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

विगतमा यस क्षेत्रबाट निर्वाचित नेताहरूले गर्न नसकेको काम आफूले गरेर देखाउने दाबी गर्दै रुङटाले भने, “म धेरै बोल्ने मान्छे होइन, म काम गरेर देखाउँछु। मेरो सबैभन्दा ठूलो शक्ति तपाईंहरू नै हुनुहुन्छ।” उनले नगवाको समग्र विकासलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने स्पष्ट पारे।

कार्यक्रमका अध्यक्ष तथा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का बुथ सभापति बाबुनन्द चौरसियाले स्थानीय तहदेखि केन्द्रसम्म नेपाली कांग्रेसलाई बलियो बनाउनु आजको आवश्यकता भएको बताए। उनले घर–घरमा पुगेर कांग्रेसको नीति, सिद्धान्त र उम्मेदवार अनिल रुङटाको एजेन्डा प्रचार गर्न कार्यकर्तालाई आग्रह गर्दै यस निर्वाचनलाई परिवर्तनको अवसरका रूपमा लिनुपर्ने धारणा राखे।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति रामनारायण कुर्मी, सचिव इम्तियाज आलम, पूर्व नगर सभापति विजय सर्राफ, भोला कलवार, प्रकाश, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरबिन्द गुप्ता, सचिव अनिल सिंह, हरि यादव, किरण सरकार, मनोजा चौधरी, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ पर्साकी किरण शर्मा, तरुण दल, दलित संघलगायत विभिन्न भ्रातृ तथा शुभेच्छुक संघ–संस्थाका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

Back to top