वीरगञ्ज । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्न चाहने उम्मेदवारले धरौटी रकम बुझाउनुपर्ने भएको छ । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको सूचनाअनुसार उम्मेदवारी दर्ता गर्दा १० हजार रुपैयाँ धरौटी अनिवार्य गरिएको हो ।
आयोगद्वारा जारी सूचनामा उम्मेदवारले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर पेस गर्नुपर्ने उल्लेख छ । यो व्यवस्था प्रतिनिधिसभा सदस्य निर्वाचनका सबै उम्मेदवारमा लागू हुनेछ ।
तर, महिला, दलित, अल्पसङ्ख्यक समुदाय तथा आर्थिक रूपमा कमजोर उम्मेदवारका लागि धरौटी रकममा सहुलियत दिइएको छ । यस्ता उम्मेदवारले ५० प्रतिशत छुटसहित पाँच हजार रुपैयाँ मात्र बुझाए पुग्ने आयोगले जनाएको छ ।
आर्थिक रूपमा विपन्न उम्मेदवारले भने आफ्नो अवस्था पुष्टि गर्न सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि माघ ६ गते उम्मेदवारी दर्ताको मिति तोकेको छ ।