×

वीरगञ्ज । पर्साको पटेर्वा सुगौली र जिराभवानी गाउँपालिकामा नवनिर्मित कृषि तथा पशुपंक्षी सेवा केन्द्र भवनहरूको आइतबार समुद्घाटन गरिएको छ। संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. मदनप्रसाद परियारले दुवै गाउँपालिकामा आयोजित छुट्टाछुट्टै कार्यक्रममा रिबन काटेर सेवा केन्द्र भवनको उद्घाटन गर्नुभएको हो।

विश्व बैंकको आर्थिक सहयोग तथा संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) मार्फत आर्थिक वर्ष २०८२/०८३ मा यी सेवा केन्द्र भवनहरू निर्माण गरिएको हो।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. परियारले नेपालका ६ वटा प्रदेशका १७१ स्थानीय तहमा REED कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँले कृषि तथा पशुपंक्षी क्षेत्रमा पिछडिएका किसानहरूलाई प्रविधि र सेवासँग जोड्न यी सेवा केन्द्रहरू कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै क्रमशः अन्य पालिकाहरूमा पनि विस्तार गरिने बताउनुभयो।

पटेर्वा सुगौली गाउँपालिकामा आयोजित कार्यक्रममा उत्कृष्ट कार्य गर्ने कृषकहरूलाई मन्त्री परियारको हातबाट कृषि उपकरणसहित सम्मान गरिएको थियो। पशुपालनतर्फ भैँसी पालक कृष्ण थिङ र गोरखनाथ यादव तथा कृषितर्फ विश्वनाथ मुखिया र सरला दास सम्मानित भएका थिए। गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीका अनुसार किसानहरूको हौसला बढाउन र आधुनिक खेतीतर्फ आकर्षित गर्न उपकरणसहित सम्मान गरिएको हो।

नवनिर्मित सेवा केन्द्र भवनहरू अपाङ्गतामैत्री र महिलामैत्री बनाइएका छन्। केन्द्रमा स्तनपान कक्ष, महिलामैत्री पूर्वाधार, पशु पोस्टमार्टम र बाली उपचार सेवा, रेबिज चेकजाँच, प्रयोगशाला तथा माइक्रोस्कोपिक परीक्षण सुविधा, साथै कृषि तथा पशु शाखाका लागि तालिम हलसमेत व्यवस्था गरिएको छ।

पटेर्वा सुगौलीको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ममता महतो, प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, पाँच वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्वास्थ्य, कृषि र शिक्षा शाखाका प्रतिनिधि, स्थानीय भद्रभलाद्मी तथा शिक्षकहरूको सहभागिता रहेको थियो। साथै आयोजना निर्देशक डा. चन्द्रप्रसाद रिमाल, नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका सदस्य प्रमोद यादव, कृषि प्राविधिक सीमा कुमारी, गोविन्द भैया थारु, मोहन दास र पशु प्राविधिक कृष्ण थापालगायत कर्मचारीहरू उपस्थित थिए।

यसैगरी, जिराभवानी गाउँपालिका वडा नम्बर ३ मा पनि मन्त्री परियारले कृषि तथा पशुपंक्षी सेवा केन्द्रको उद्घाटन गर्नुभयो। कार्यक्रममा गाउँपालिका अध्यक्ष अनुज चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमित गिरी, विभिन्न वडाध्यक्षहरू तथा स्थानीय किसानहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

यी सेवा केन्द्रहरू सञ्चालनमा आएसँगै स्थानीय किसानहरूले प्राविधिक सल्लाह, उपचार तथा तालिमका लागि टाढा–टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको छ।

Back to top