×

वीरगञ्ज । पर्सा जिल्लाका किसानहरू पछिल्लो समय घोडगधा (नीलगाई)को बढ्दो आतङ्कका कारण गम्भीर समस्यामा परेका छन्। नीलगाईले गहुँ, हरिया तरकारीलगायतका बालीलाई चरण क्षेत्र बनाउँदा उखुबालीमा समेत व्यापक क्षति पुगेको किसानहरूले बताएका छन्।

पोखरिया नगरपालिका, कालिकामाई, छिपहरमाई, विन्ध्यवासिनी, जगरनाथपुर र जीराभवानी गाउँपालिकालगायतका क्षेत्रहरूमा नीलगाईको समस्या तीव्र बन्दै गएको छ। किसानहरूका अनुसार बिहान र बेलुकी खेतमा मानिस नभएको मौका छोपी नीलगाईहरू खेतमा प्रवेश गरी बाली चर्ने तथा जथाभावी हिंडेर क्षति पुर्‍याउने गरेका छन्।

स्थानीय किसान गोरख महतोका अनुसार नीलगाईहरू १५ देखि २० वटासम्मको समूह बनाएर खेतमा आउने गरेका छन्। “नीलगाईले गहुँ र हरिया तरकारीबाली चर्छन् भने उखुबालीमा समेत ठूलो क्षति पुर्‍याउँछन्,” उनले बताए। उनका अनुसार नीलगाईहरू दिनभर उखुबारी तथा नजिकका नदी किनार क्षेत्रमा बस्ने र बिहान–बेलुकी खेततर्फ आउने गरेका छन्।

किसानहरू बिहान खेतमा जानुअघि र बेलुका खेतबाट फर्किएपछि नीलगाईहरूले खेतमा प्रवेश गरी उत्पात मच्याउने गरेको गुनासो गर्छन्। यसले किसानहरूको उत्पादन घट्नुका साथै खेतीप्रति निराशा बढ्दै गएको उनीहरूको भनाइ छ।

खेतीबाली जोगाउन किसानहरूले विभिन्न उपाय अपनाइरहेका छन्। पछिल्लो समय नीलगाईलाई धपाउन खेतमा विद्युतीय साइरन जडान गरिएको छ। ती साइरनबाट मानव आवाजजस्तै ध्वनि निस्कने भएकाले नीलगाई खेततर्फ नआउने विश्वास गरिएको छ। किसानहरूका अनुसार यो उपाय हाल प्रभावकारी देखिएको छ।

नीलगाईको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सम्बन्धित निकायले ठोस योजना ल्याउनुपर्ने किसानहरूको माग छ।

Back to top