वीरगञ्ज । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पर्सा जिल्लाको ठोरी गाउँपालिकामा बिहीबार आन्तरिक तथा भारतीय पर्यटकहरूको उल्लेखनीय घुइँचो लागेको छ। पर्सा, बारा, रौतहट, मकवानपुर, चितवनसहित छिमेकी भारतका विभिन्न स्थानबाट आज बिहानैदेखि पर्यटकहरू सवारीसाधनसहित ठोरी पुगेका थिए।
नयाँ वर्ष मनाउन आएका पर्यटकहरूले राईधारा, गणेशमान पार्क, ठुटेखोला, सीतागुफा परिसर, सुन्दरबस्ती, रेडहिल पार्क, मनमोहन पार्क, सिङ्गेडाँडा, गडुवालाइन पार्क, बाघमोर्चा पार्क, चीसोपानी र रानीवनलगायतका पर्यटकीय स्थलहरूमा दिनभर रमाइलो गरेका थिए। ठूलो सङ्ख्यामा पर्यटकको आगमनसँगै ठोरी गाउँपालिकामा बिहीबार निकै चहलपहल र कोलाहलमय वातावरण देखिएको थियो।
मधेस प्रदेश सरकारले ठोरीलाई प्रदेशकै पहिलो पर्यटकीय क्षेत्र घोषणा गरेपछि यहाँ आन्तरिक पर्यटकहरूको आकर्षण बढ्दै गएको छ। प्राकृतिक सौन्दर्य र हरियालीले लोभ्याउने ठोरी भारतीय पर्यटकहरूका लागि पनि प्रमुख गन्तव्य बन्दै गएको छ। भारतको पश्चिमी तथा पूर्वी चम्पारण, बेतिया, मुजफ्फरपुर, नरकटियागंज, मोतिहारी र राजधानी पटनासम्मबाट नयाँ वर्ष मनाउन पर्यटकहरू ठोरी आउने गरेका छन्।
ठोरीका होटल व्यवसायी दिनेश नेपालका अनुसार बारा, पर्सा, रौतहट र सर्लाहीलगायतका जिल्लाबाट ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक पिकनिक तथा घुमफिरका लागि आएका छन्। भारतको बेतियाबाट आएका पर्यटक दीपु गुप्ताले नेपालमा घुम्नका लागि धेरै रमणीय स्थान भएकाले प्रायः खुशियाली मनाउन ठोरी आउने गरेको बताए।
अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी सम्भावित भीडलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको थियो। इलाका प्रहरी कार्यालय ठोरी तथा सशस्त्र सीमा सुरक्षा बल ठोरीको नेतृत्वमा अन्य पालिकाबाट समेत सुरक्षाकर्मी परिचालन गरिएको थियो। इप्रका ठोरीका प्रहरी निरीक्षक मिलनबहादुर विकले शान्ति सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको जानकारी दिए।
यसैगरी, पर्यटकहरूको सवारी पार्किङ तथा स्थान व्यवस्थापनका लागि निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिले समन्वय गरेको समितिका अध्यक्ष जीवन खड्काले बताए।
नयाँ वर्ष तथा राष्ट्रिय टोपी दिवसको अवसर पारेर ठोरी गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई स्वागत तथा सम्मानसमेत गरेको छ। ठोरी प्रवेश गर्ने एक सय जना पर्यटकलाई गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले ढाका टोपी, खादा र टीका लगाएर स्वागत गरेका थिए। उक्त कार्यक्रममा उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, कर्मचारी तथा सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो।
वीरगञ्जमा पनि नयाँ वर्षको चहलपहल
अङ्ग्रेजी नयाँ वर्ष २०२६ लाई स्वागत गर्दै वीरगञ्जमा पनि बुधबारदेखि भारतीय पर्यटकहरूको उल्लेखनीय भीड देखिएको छ। भारतीय सवारीसाधन नेपाल प्रवेश गर्ने प्रमुख नाका भएकाले वीरगञ्ज भन्सार क्षेत्रमा चारचक्के र दुईचक्के सवारीसाधनको लाम देखिएको थियो।
वीरगञ्ज नाका हुँदै मकवानपुरको दामन, हेटौंडा, चितवनको सौराहा, नारायणघाट, देवघाट, पोखरा र काठमाडौंका लागि ठूलो सङ्ख्यामा भारतीय सवारीसाधनहरू गन्तव्यतर्फ गएका थिए। रक्सौल र आसपासका भारतीय पर्यटकहरूले बुधबार राति वीरगञ्जका विभिन्न रेस्टुरेन्टहरूमा नयाँ वर्षको उत्सव मनाएका थिए।
नयाँ वर्षको अवसरमा शङ्खधर सख्वा पार्क र घडीअर्वा पोखरी परिसरमा समेत सर्वसाधारणको बाक्लो भीड देखिएको थियो।