×

वीरगञ्ज । जिल्ला निर्वाचन कार्यालय पर्सामा मतदाता नामावली सङ्कलन र नयाँ दलहरूको सनाखतका लागि पछिल्लो समय भिडभाड बढेको छ । निर्वाचन आयोगले जेनजी समूहलाई लक्षित गरी अध्यादेशमार्फत असोज १० गतेदेखि मतदाता नामावली सङ्कलन सुरु गरेपछि युवाहरूको उत्साह बढेको हो ।

कार्यालयका सूचना अधिकारी अरुणकुमार ठाकुरका अनुसार असोज १० गतेदेखि कात्तिक २० गते बिहीबारसम्म ४ हजार ७ सय ३३ जनाले मतदाता नामावली दर्ता गरेका छन् । “जेनजी आन्दोलनपछि युवाहरू मतदाता नामावली सङ्कलनमा उत्साहित देखिएका छन्,” ठाकुरले भने । नेपाली नागरिकता प्राप्त गरेर १६ वर्ष उमेर पूरा भएका नागरिकहरूले नाम दर्ता गर्न सक्ने व्यवस्था छ ।

विदेशमा काम गर्ने, पढाइ वा अन्य कारणले बाहिर रहेका मतदाताहरूले कात्तिक ३० गतेसम्म नाम दर्ता गर्न सक्नेछन् । विगतमा नाम दर्ता भएर मतदाता परिचयपत्र हराएकाहरूले नागरिकता वा अन्य सरकारी परिचयपत्रका आधारमा मतदान गर्न पाउने ठाकुरले बताए । यसअघि २०७८ को निर्वाचनमा जग्गाधनी प्रमाण पुर्जालाई समेत आधार मानिएको थियो ।

जिल्ला निर्वाचन कार्यालयकी प्रमुख अनामिका रौनियारले आयोगको निर्देशनअनुसार मतदाता नामावली सङ्कलन, नयाँ दल दर्ताको सनाखत र निर्वाचन सामग्री व्यवस्थापनको काम भइरहेको जानकारी दिइन् । “फागुन २१ गते निर्वाचन घोषणा भएपछि आयोगका निर्देशनका आधारमा जिल्ला स्तरबाट काम गरिरहेका छौँ,” उनले भनिन् । कात्तिक ३० गतेसम्म नामावली सङ्कलन, दल सनाखत र सामग्री व्यवस्थापन जारी रहनेछ ।

चार महिनापछि हुने निर्वाचनका लागि मतपेटिका र जनशक्तिको अवस्था आयोगलाई जानकारी दिइएको पनि उनले बताइन । सुरक्षा व्यवस्थाबारे भने छलफल हुन बाँकी रहेको रौनियारको भनाइ छ । अध्यादेशबाट नामावली सङ्कलन भएकाले जेनजी युवाहरूको भिड बढेको उनको भनाइ छ ।

नाम दर्ता गराउन जिल्ला निर्वाचन कार्यालय पर्सा पुगेका जेन-जी युवा सरण गुप्ताले मतादाता नामावलीमा नाम दर्ता गराएर आफ्नो मताधिकार सुनिश्चित गर्न युवाहरूसँग आग्रह गरे । आफूले रोजेको प्रतिनिधिलाई संसद्सम्म पुर्‍याउने बाटो मतदान मात्र नभएकोले मतदाता नामावलीमा नाम दर्ता गराउन आवश्यक रहेको उनको भनाइ थियो ।

पर्सामा असार मसान्तसम्म २ लाख १ हजार ७६५ पुरुष, १ लाख ५५ हजार ४५८ महिला र १५ अन्य गरी कुल ३ लाख ५७ हजार २३८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ । निधन भएकाहरूको नाम हटाउने काम पनि जारी रहेको कार्यालयको भनाइ छ ।

नाम दर्ता बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म (आवश्यक परे ७ बजेसम्म) सञ्चालन भइरहेको बताउँदै कार्यालय प्रमुख रौनियारले सार्वजनिक बिदामा समेत सेवा दिने गरिएको दाबी गरिन् । उनले युवाहरूमा मतदाता नामावलीमा नाम दर्ता गराउने उत्साह देखिए पनि थप सक्रियता अपेक्षा गर्दै कार्यालयले नागरिकहरूलाई सहभागिता जनाउन आह्वान गरेको छ ।

Back to top