×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. २ ले वडा स्तरीय बजेटबाट खरिद गरिएको छाता, झुल तथा टर्च जेष्ठ नागरिक तथा असहाय वडा बासिन्दालाई वितरण गरेको छ। बढ्दो गर्मी, लामखुट्टेको प्रकोप तथा नजिकिँदै गरेको वर्षायामलाई मध्यनजर गर्दै उक्त सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ।

वडा अध्यक्ष मो. रेयाज मिया तेलीले पछिल्ला केही दिनयता अत्यधिक गर्मी बढ्दै गएको तथा लामखुट्टेको समस्या समेत बढेकाले जेष्ठ नागरिक र विपन्न समुदायलाई राहत स्वरूप सामग्री उपलब्ध गराइएको जानकारी दिए। उनका अनुसार पहिलो चरणमा ९० जना जेष्ठ नागरिक तथा असहाय नागरिकलाई छाता, झुल र टर्च वितरण गरिएको हो।

वडा अध्यक्ष तेलीले कार्यक्रममा उपस्थित हुन नसकेका बिरामी, अशक्त तथा छुटेका नागरिकलाई घरमै पुगेर सामग्री वितरण गरिने बताए। उनले वडा कार्यालयले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरे।

सामग्री वितरण कार्यक्रममा वडा सदस्य मो. लतिफ अन्सारी (पिर महमद), बसिर मिया हजाम, महिला सदस्य संगीता थापा भुजेल, वडा सचिव शेख कासिम, कार्यालय सहयोगी उस्मान अन्सारी, नेपाली कांग्रेस वडा नं. २ कमिटीका बुथ सभापति फिरोज आलम, सचिव कमल महतो लगायत स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थानीयवासीहरूले वडा कार्यालयद्वारा गरिएको सहयोगप्रति खुशी व्यक्त गर्दै यस्ता कार्यक्रमले जेष्ठ नागरिक तथा असहाय वर्गलाई राहत पुग्ने विश्वास व्यक्त गरेका छन्।

Back to top