बार्सिलोनाले यूएइफए च्याम्पियन्स लिगमा विजयी सुरुआत गरेको छ।
सेन्ट जेम्स पार्कमा बिहीबार सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली न्युक्यासल युनाइटेडविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गर्यो।
बार्सिलोनाको जितमा दुवै गोल मार्कस रासफोर्डले गरे। इङ्लिस क्लब न्युक्यासलका लागि एन्टोनी गोर्डनले गोल फर्काए। तीनै गोल दोस्रो हाफमा भएका थिए।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८औं मिनेटमा रासफोर्डको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो। उनले जुलेस कुन्डेको क्रसलाई हेडमार्फत पोस्टका दिशा दिए।
त्यसको ९ मिनेटपछि उनलै टोलीको अग्रता दोब्बर बनाए। रासफोर्डले बक्स बाहिरबाट गरेको बलले जाली चुमेको थियो।
निर्धारित समयको अन्तिम मिनेटमा गोर्डनले गोल गर्दै न्युक्यासललाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन।