वीरगञ्ज । पर्सा जिल्लामा हैजाको प्रकोपपछि अब जापनिज इन्सेफलाइटिसको सङ्क्रमण पनि देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका र ठोरी गाउँपालिकामा पोथी लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस रोगका दुई बिरामी फेला परेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार पर्सागढी नगरपालिका–५ घर भई हाल वीरगञ्ज महानगरपालिका–८ मा बसोबास गर्ने ८ वर्षीय बालक र ठोरी गाउँपालिका–३ निवासी ८४ वर्षीय वृद्ध महिलामा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएको छ ।
वृद्ध महिलाको काठमाडौँस्थित न्युरो अस्पतालमा उपचार भएको थियो । उनको स्वास्थ्यमा केही सुधार आएपछि डिस्चार्ज भई घर फर्किसकेकी छन् ।
सङ्क्रमित बालकको अवस्था भने गम्भीर रहेको छ । गत महिना रोग पुष्टि भएपछि उनको काठमाडौँस्थित कान्ति बाल अस्पतालमा करिब एक महिना उपचार गरिएको थियो । तर, स्वास्थ्यमा कुनै सुधार नभएपछि परिवारले उनलाई घर ल्याएको जनस्वास्थ्य अधिकृत ठाकुरले बताए । बालकको अवस्था अझै पनि चिन्ताजनक रहेको छ ।
जापनिज इन्सेफलाइटिस क्युलेक्स प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक भाइरल रोग हो । क्युलेक्स प्रजातिको पोथी लामखुट्टेले विशेषगरी पशुपक्षी (जस्तै: घोडा, सुँगुर, बङ्गुर, हाँस) लाई टोकेर सङ्क्रमित भएपछि मानिसलाई टोक्दा रोग सर्ने गर्छ । जापनिज इन्सेफलाइटिस रोगको भाइरसले मानिसको मस्तिष्कमा गम्भीर असर पुर्याउँछ । रोगले मस्तिष्क ज्वरो निम्त्याउँछ ।
रोगका लक्षणहरूमा उच्च ज्वरो, टाउको दुख्ने, वाकवाकी, बान्ता, चक्कर लाग्ने, मानसिक भ्रम, र गम्भीर अवस्थामा पक्षाघात वा मृत्युसम्म हुन सक्छ । जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार समयमै उपचार गरिएमा बिरामीलाई अपाङ्गता वा मृत्युबाट जोगाउन सकिन्छ । उनले लक्षण देखिनासाथ नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा उपचारका लागि लैजान सुझाव दिएका छन् ।
पर्सामा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएसँगै स्थानीय स्वास्थ्य प्रणाली र समुदायलाई थप सतर्कता अपनाउनुपर्ने अवस्था आएको छ । समयमै उपचार र रोकथामका उपायहरू अवलम्बन गरेमा यो रोगको जोखिमलाई कम गर्न सकिन्छ । स्थानीय बासिन्दालाई स्वास्थ्य कार्यालयको सुझाव पालना गर्न र कुनै लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।