×

वीरगञ्ज । नेपाल खानेपानी संस्थानले उपलब्ध गराएको पानीबाट वीरगञ्जमा हैजा सङ्क्रमण फैलिएको भन्ने विभिन्न सञ्चारमाध्यममा आएका समाचारहरू तथ्यहीन र आधारहीन रहेको पाइएको छ ।

समाचारमा दाबी गरिएजस्तो खानेपानी संस्थानको धाराको पानी प्रयोग गर्नेहरूमा हैजा सङ्क्रमण फैलिएको भन्ने कुनै तथ्य, तथ्याङ्क वा प्रमाण फेला परेको छैन । साथै, पाइप फुटेर ढल मिसिएको कारणले हैजा फैलिएको भन्ने दाबी पनि झुटो रहेको स्पष्ट भएको छ ।

विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरूले वीरगञ्जमा हैजा सङ्क्रमण फैलिनुको कारण खानेपानी संस्थानको पानी भएको दाबी गरेका थिए । तर, यस्तो दाबीलाई पुष्टि गर्न कुनै प्रयोगशाला रिपोर्ट, तथ्याङ्क वा विज्ञको भनाइ समावेश गरिएको छैन ।

समाचारमा पाइप फुटेर ढल मिसिएको र त्यसैबाट हैजा फैलिएको भनिए पनि कुन ठाउँमा यस्तो भएको हो भन्ने कुनै जानकारी खुलाइएको छैन । साथै, कुनै प्रयोगशालाको आधिकारिक रिपोर्ट वा प्रमाण पनि प्रस्तुत गरिएको छैन । आधारहीन समाचारले सर्वसाधारणमा भ्रम सिर्जना गरेको भन्दै सम्बन्धित निकायहरूले खण्डन गरेका छन् ।

नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जका प्रमुख प्रवीण साहले यस्ता समाचारहरू पूर्ण रूपमा भ्रामक रहेको बताएका छन् । उनले भने, “खानेपानी संस्थानको पानीबाट हैजा फैलिएको भन्ने दाबीमा कुनै सत्यता छैन । यस्तो दाबीलाई पुष्टि गर्ने कुनै प्रयोगशाला रिपोर्ट, तथ्याङ्क वा विज्ञको भनाइ समाचारमा समावेश गरिएको छैन ।”

साहले हैजा प्रभावित क्षेत्रहरूमा पानीको नियमित परीक्षण चलिरहेको जानकारी दिए । “बिग्रिएको, फुटेको वा लिकेज भएको पाइपहरूको पहिचान गरेर मर्मत कार्य पनि भइरहेको छ,” उनले भने । 

खानेपानी विभागको टोलीले वीरगञ्जका विभिन्न ठाउँबाट पानीको नमुना सङ्कलन गरेर परीक्षणका लागि पठाएको जानकारी गराउँदै साहले हालसम्म कुनै पनि नमुनाको आधिकारिक रिपोर्ट नआएको बताए । “यस्तो अवस्थामा खानेपानीबाट हैजा फैलिएको भन्नु आधारहीन छ,” उनले भने ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीले पनि खानेपानी संस्थान वा अन्य कुनै स्रोतबाट हैजा सङ्क्रमण फैलिएको भन्ने कुनै आधिकारिक पुष्टि नभएको बताएका छन् । उनले भने, “खानेपानी विभागले वीरगञ्जका ११ ठाउँबाट पानीको नमुना सङ्कलन गरेर परीक्षणका लागि पठाएको छ, तर हालसम्म कुनै रिपोर्ट प्राप्त भएको छैन । यस्तो अवस्थामा खानेपानीबाट हैजा फैलिएको भन्ने समाचारमा कुनै सत्यता छैन ।” 

त्यस्तै, स्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झाले पनि खानेपानी संस्थानको पानीमा ढल मिसिएर हैजा फैलिएको भन्ने कुनै जानकारी आफूलाई नभएको बताए । उनले भने, “खानेपानीबाट हैजा सङ्क्रमण फैलिएको भन्ने कुनै आधिकारिक जानकारी वा प्रयोगशाला रिपोर्ट हालसम्म प्राप्त भएको छैन । यस विषयमा थप जानकारी खानेपानी संस्थानसँग हुन सक्छ, तर अहिलेसम्म यस्तो कुनै पुष्टि भएको छैन ।”

नेपाल खानेपानी संस्थान, जिल्ला प्रशासन र स्वास्थ्य कार्यालयका अधिकारीहरूले स्पष्ट रूपमा खानेपानीबाट हैजा फैलिएको भन्ने समाचारलाई तथ्यहीन र भ्रामक भनेका छन् । समाचारमा कुनै प्रयोगशाला रिपोर्ट, तथ्याङ्क वा विज्ञको भनाइ नभएको र कुन ठाउँमा ढल मिसिएको भन्ने पनि खुलाइएको छैन । यस्ता आधारहीन समाचारले सर्वसाधारणमा अनावश्यक भ्रम र त्रास सिर्जना गरेको भन्दै सम्बन्धित निकायहरूले यस्ता दाबीहरूलाई विश्वास नगर्न र आधिकारिक जानकारीमा मात्र भरोसा गर्न आग्रह गरेका छन् ।

खानेपानी संस्थानले पानीको गुणस्तर सुनिश्चित गर्न नियमित परीक्षण र पाइप मर्मतको कार्यलाई तीव्रता दिएको जनाएको छ । साथै, हैजा प्रभावित क्षेत्रमा पानीको नमुना परीक्षणको रिपोर्ट प्राप्त भएपछि थप जानकारी सार्वजनिक गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

Back to top