वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा फैलिएको हैजा (कोलेरा) महामारी नियन्त्रण र रोकथामका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार एकजुट भएर लागिपरेका छन् ।
आइतबार पर्सा जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीको अध्यक्षतामा बसेको जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिको बैठकमा हैजा सङ्क्रमण नियन्त्रण र रोकथामका लागि संयुक्त रूपमा काम गर्ने स्थानीय, प्रदेश र सङ्घीय सरकारका प्रतिनिधिहरूले प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सत्रुघनप्रसाद सिंहले महामारीप्रति प्रदेश सरकार गम्भीर रहेको बताए । उनले सङ्घीय सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेलसँग निरन्तर समन्वय भइरहेको र प्रभावित क्षेत्रमा स्रोतसाधन र जनशक्तिको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
“बिरामीको उपचारमा कुनै कमी हुन दिँदैनौँ । औषधि, उपकरण र जनशक्ति जे चाहिन्छ, मधेस सरकार उपलब्ध गराउन तयार छ,” मन्त्री सिंहले भने । उनले नारायणी अस्पतालमा आवश्यक औषधि र स्वास्थ्य सामग्री उपलब्ध गराइसकिएको र चिकित्सकसहित झन्डै एक दर्जन स्वास्थ्यकर्मीको टोली वीरगञ्ज आउन लागेको जानकारी दिए ।
प्रदेश सरकारले नारायणी अस्पतालमा १० जना मेडिकल अफिसर, १० जना परामेडिकल स्टाफ र केही स्टाफ नर्स पठाएको छ । मन्त्रालयका सचिव डा. ओमप्रसाद अर्यालले आवश्यकताअनुसार थप औषधि र जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले सङ्क्रमण पुष्टि भए लगत्तै महानगरपालिकाले सम्पूर्ण सम्बन्धित निकाय परिचालन गरी उपचार र रोकथाममा जुटेको बताए । महानगरले प्रभावित क्षेत्रका नालाहरूमा रहेका खानेपानीका पाइप व्यवस्थापनको काम आइतबारबाट सुरु गरेको छ ।
सबैभन्दा बढी प्रभावित वडा नम्बर १२ बाट पाइप व्यवस्थापन सुरु भएको र सोमबारदेखि अन्य वडाहरूमा पनि निरन्तरता दिइने कर्णले जानकारी दिए । महानगरले हैजा सम्बन्धी जनचेतना फैलाउन २६ वटा टोली परिचालन गरेको छ । टोलीमा महानगरका स्वास्थ्यकर्मी र वीरगञ्ज नर्सिङ क्याम्पसका विद्यार्थीहरू सहभागी छन् । उनीहरूले घरघरमा पुगेर सङ्क्रमणको अवस्था बुझ्ने, सम्भावित बिरामी पहिचान गर्ने, परामर्श दिने र सरसफाइसम्बन्धी सचेतना फैलाउने कामलाई तीव्रता दिएका छन् ।
महानगरपालिकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै विद्यालयहरू दुई दिनका लागि बन्द गरेको छ । आवश्यक परेमा अवधि लम्ब्याउन सकिने कर्णले बताए । स्थानीय बासिन्दालाई सरसफाइमा विशेष ध्यान दिन र शुद्ध पानीको प्रयोग गर्न आग्रह गरिएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले शनिवारको तुलनामा आइतबार हैजा र झाडापखालाका बिरामीको सङ्ख्यामा कमी आएको बताए । उनले सङ्क्रमितहरूको घरसम्म पुगेर परीक्षण सुरु गरिएको र वीरगञ्ज महानगरपालिकाबाट पर्याप्त सहयोग प्राप्त भएको जानकारी दिए । मधेस प्रदेश सरकारले अस्पताललाई १७ प्रकारका औषधि र आवश्यक सामग्री उपलब्ध गराएको छ ।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले सङ्क्रमण समुदाय स्तरमा फैलिएको भए पनि सबैको संयुक्त प्रयासमा एक-दुई दिनभित्र नियन्त्रणमा आउने विश्वास व्यक्त गरे । उनले सही सूचना, समयमै उपचार र स्रोत व्यवस्थापनमा तिनै तहका सरकारको समन्वय आवश्यक रहेको बताए ।
बैठकमा सहभागी नेपाली काँग्रेस पर्साका कार्यवाहक अध्यक्ष रामनारायण कुर्मीले सङ्क्रमणको स्रोत पत्ता नलागेसम्म नियन्त्रणका प्रयासहरू प्रभावकारी नहुने भन्दै अनुसन्धानमा जोड दिए ।
पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहानले वीरगञ्जमा हैजा फैलिएपछि जिल्लाका अन्य स्थानीय तहहरूले पनि सतर्कता अपनाएको बताए ।
जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिको बैठकले महामारी नियन्त्रणका लागि सात वटा निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीले बताए । निर्णयहरूमा माइकिङ, घरदैलो र सचेतना अभियान सञ्चालन गर्ने, अस्पतालहरूमा बिरामीको उपचारलाई प्राथमिकता दिने, सङ्क्रमण बढेमा ‘डेडिकेटेड बेड’ छुट्याउने, स्वास्थ्यकर्मीको अत्यावश्यक बाहेकको बिदा स्वीकृत नगर्ने, र औषधि, किट तथा पानी शुद्धीकरण सामग्रीको पर्याप्त व्यवस्था गर्न स्वास्थ्य कार्यालयले प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने समावेश छन् ।
यसैगरी, सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, पेसागत सङ्घसंस्था, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्था, मिडिया र दातृ संस्थाहरूसँग समन्वय गरी सचेतना अभियानलाई तीव्र बनाउने निर्णय भएको छ । महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीको बिदा नियन्त्रण गरिएको छ भने आवश्यक परेमा स्थानीय तहका स्वास्थ्यकर्मीलाई केन्द्रीकृत रूपमा खटाउने व्यवस्था गरिएको छ ।
दूषित नाला र ढलको पानीबाट हैजा सङ्क्रमण फैलिएको आशङ्का गरिएको छ । सङ्क्रमणको स्रोत पत्ता लगाउन वीरगञ्ज महानगरपालिका र स्वास्थ्य कार्यालय पर्साले प्रभावित क्षेत्रका ११ स्थानबाट खानेपानीको नमुना सङ्कलन गरी काठमाडौँस्थित टेकुको स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाएको छ । सङ्घीय सरकारको खानेपानी मन्त्रालयअन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार, वीरगञ्ज पुगेको प्राविधिक टोलीले खानेपानीको नमुना सङ्कलन र पानी शुद्धीकरणका लागि ‘पीयूष’ लगायतका सामग्री उपलब्ध गराएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरुवा रोग तथा महामारी नियन्त्रण महाशाखाबाट दुई विशेषज्ञ चिकित्सकको टोली पठाएको छ । टोलीले नारायणी अस्पताल र प्रभावित क्षेत्रहरूमा स्थलगत निरीक्षण गरिरहेको छ ।
वीरगञ्जमा फैलिएको हैजा महामारी नियन्त्रणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले संयुक्त रूपमा सक्रियता देखाएका छन् । सङ्क्रमणको स्रोत पहिचान, बिरामीको उपचार, जनचेतना अभियान र सरसफाइमा विशेष जोड दिइएको छ । तिनै तहका सरकार, गैरसरकारी संस्था, र स्थानीय समुदायको सहकार्यले महामारीलाई चाँडै नियन्त्रणमा ल्याउने अपेक्षा गरिएको छ ।