×

तस्बिर : आशुकुमार सर्राफ / यात्राडेली ।

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा हैजाको महामारीले समुदाय स्तरमा गम्भीर रूप लिँदै गएको छ । आइतबार दिउँसो १ बजेसम्म झाडापखालाबाट प्रभावित भएका २ सय २१ जनामध्ये ४२ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ ।

वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सुमनचन्द्र ठाकुरका अनुसार हाल नारायणी अस्पतालमा १५ जना, तराई हस्पिटलमा १२ जना, नेशनल मेडिकल कलेजमा ७ जना, अलि अर्थो सेन्टरमा २ जना, भवानी हस्पिटलमा २ जना र नारायणी सेन्ट्रल अस्पतालमा २ जना हैजा सङ्क्रमित बिरामीको उपचार भइरहेको छ । मङ्गलम डायग्नोस्टिकमा परीक्षण गराएका २ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ ।

शुक्रवार वीरगञ्ज–१२ को मुर्ली टोलमा तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । तर, आइतबार दिउँसोसम्म वडा नम्बर ३, ११, १२, १३, १६, १८, २४ र ३० मा सङ्क्रमण फैलिएको छ ।

हैजाको महामारीका बिच दुई जनाको मृत्यु भएको खबरले थप चिन्ता बढाएको छ । शुक्रवार नारायणी अस्पतालमा ३५ वर्षीय एक पुरुष र वीरगञ्ज हेल्थ केयर हस्पिटलमा १९ वर्षीय एक युवतीको मृत्यु भएको थियो । नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहले मृत्युको कारण झाडापखाला वा हैजा हो भन्ने यकिन नभएको र थप अनुसन्धान आवश्यक रहेको बताए ।

वीरगञ्जमा खानेपानीको पाइपमा ढलको दूषित पानी मिसिएको आशङ्का गरिएको छ । खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा खानेपानी तथा ढल व्यवस्थापन विभागको टोलीले प्रभावित क्षेत्रका ११ ठाउँबाट पानीको नमुना सङ्कलन गरी काठमाडौँको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाएको छ । नतिजा आज साँझसम्म आउने आउने अपेक्षा छ । 

वीरगञ्ज महानगरपालिकाले तत्कालै कडा कदम चाल्दै भदौ ८ र ९ गते महानगरका सबै विद्यालय बन्द गर्ने र पानीपुरी, चाटजस्ता स्ट्रिट फूडको बिक्रीमा रोक लगाएको छ । प्रमुख राजेशमान सिंहले अस्पतालहरूलाई शय्या अभावमा कुनै बिरामी उपचारबाट वञ्चित नहोस् भन्दै गम्भीरतापूर्वक लाग्न निर्देशन दिएका छन् । महानगरले २५ टोली स्वास्थ्यकर्मी परिचालन गरी घर–घरमा सचेतना फैलाउने, सरसफाइमा जोड दिने र बिरामीलाई अस्पताल ल्याउने काम गरिरहेको छ ।  वीरगञ्ज नर्सिङ क्याम्पसका विद्यार्थीलाई पनि सचेतना अभियानमा खटाइएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा स्वास्थ्य मन्त्रालयको टोली वीरगञ्जमा खटिएको छ । खानेपानी मन्त्री यादवले अस्पतालहरूको अनुगमन गरी उपचारमा लापरबाही नगर्न निर्देशन दिएका छन् । जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिले सरोकारवालासँग समन्वय गरी घरदैलो सचेतना अभियान सञ्चालन गर्ने र अस्पतालहरूलाई पर्याप्त शय्या, जनशक्ति र औषधिको व्यवस्था गर्न निर्देशन दिएको छ ।

नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. नीरज सिंहले हैजालाई सामान्य नलिई तुरुन्त उपचार गराउन र शुद्ध पानी पिउन, सरसफाइमा ध्यान दिन सुझाएका छन् । उनले समयमै उपचार गरेमा हैजा पूर्ण रूपमा निको हुने बताए । 

वीरगञ्जमा हैजाको महामारीले स्थानीय समुदायलाई आक्रान्त बनाए पनि स्थानीय, प्रदेश र केन्द्र सरकारको समन्वयमा नियन्त्रणका लागि तीव्र प्रयास भइरहेको छ । वीरगञ्जका प्रमुख राजेशमान सिंहले बिरामीको उपचार र सचेतना अभियानमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीयलाई शुद्ध पानी पिउन, सरसफाइमा ध्यान दिन र लक्षण देखिए तुरुन्त अस्पताल जान आग्रह गरिएको छ ।

Back to top