वीरगञ्ज । वीरगञ्जका नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएको भीमसेन जात्रा आइतबार राति शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जात्राको क्रममा कुनै अप्रिय घटना नभएको र शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिए ।
जात्राको सुरक्षाका लागि व्यापक प्रबन्ध गरिएको थियो । विगतमा जात्राको क्रममा बिर्ता र गहवाका युवा समूहबिच हुने सम्भावित झडपलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो । डिएसपी सुभाष भट्टको कमान्डमा करिब २५० नेपाल प्रहरी र ५० सशस्त्र प्रहरी खटिएका थिए । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टरका गणपति प्रहरी उपरीक्षक पूरण चन्द्र भट्ट पनि जात्रामा सहभागी थिए ।
“महानगरको चोक–चोकमा सुरक्षाकर्मी परिचालित थिए,” डिएसपी लम्सालले भने, “सूचना सङ्कलनलाई पनि प्राथमिकता दिइएको थियो, जसले गर्दा जात्रा अवधिभर कुनै अप्रिय घटना भएन ।” सादा पोसाकमा समेत सुरक्षाकर्मी खटाइएको कारण सुरक्षा व्यवस्था चुस्त रहेको उनले बताए ।
दशक अघिसम्म भीमसेन जात्राको नाम सुन्दा दुई समूहबिच झडपको सम्भावना हुने अनुमान गरिन्थ्यो । विशेषगरी, जात्रा गहवामाई मन्दिर पुग्दा स्थानीय युवाहरूले डोला खोस्ने प्रयास गर्दा बिर्ता र गहवाका युवा समूहबिच झडप हुने गर्थ्यो । यस्ता झडपमा सहभागीहरू घाइते हुने, सर्वसाधारणका घर र व्यापारिक प्रतिष्ठानका झ्यालका सिसा तोडफोड हुने र सार्वजनिक सम्पत्तिको क्षति हुने घटनाहरू विगतमा सामान्य थिए । तर, पछिल्लो केही वर्षयता वीरगञ्जको भीमसेन जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न हुँदै आएको छ । “विगतको तुलनामा अहिले जात्रा धेरै शान्तिपूर्ण भएको छ । पहिला झैझगडा र तोडफोडका घटनाहरू अब हुँदैनन्,” डिएसपी लम्सालले थपे ।
परम्परागत रूपमा, भीमसेन जात्रा प्रत्येक वर्ष बिर्तामाई मन्दिरबाट डोला (पालकी) सहित सुरु हुन्छ । जात्रा मुख्य सडक हुँदै गहवामाई मन्दिरसम्म पुग्छ र नगर परिक्रमा गरेर पुनः बिर्तामाई मन्दिरमा फर्किएर सम्पन्न हुन्छ । जात्रामा नेवार समुदायसहित गैर–नेवार समुदायको पनि उल्लेख्य सहभागिता रहने गरेको छ । जात्रामा सहभागीहरूले ‘लियो लियो, पायो पायो’ नारा उच्चारण गर्ने परम्परा छ । सोही कारण जात्रालाई स्थानीय रूपमा ‘लियो लियो, पायो पायो’ जात्राको रूपमा पनि चिनिन्छ ।
नेवार समुदायले भीमसेनलाई कुलदेवताको रूपमा पुज्ने र जात्रा निकाल्दा आर्थिक समृद्धि, वैभव, सुस्वास्थ्य र आरोग्य प्राप्त हुने धार्मिक विश्वास राख्छन् । नेवार समुदायका अगुवा सुन्दर श्रेष्ठले वीरगञ्जका नेवार समुदायले पुर्ख्यौली परम्परालाई विधिवत् रूपमा जोगाएर जात्रा मनाउँदै आएको बताए । “देशका अन्य सहर, विशेषगरी तराईका नेवार समुदायले जात्रा कमै मनाउने गर्छन्, तर वीरगञ्जमा भने यो परम्परा जीवन्त छ,” उनले भने ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले भीमसेन जात्रालाई वीरगञ्जको इतिहास र संस्कृतिसँग जोडिएको महत्त्वपूर्ण पर्वको रूपमा उल्लेख गरे । उनले आफूले सानैदेखि यो जात्रा देख्दै आएको र अहिले यसको स्वरूपमा धेरै परिवर्तन आएको बताए । “पहिला टोल–टोलबिच जात्रा लगाउने प्रतिस्पर्धा हुन्थ्यो, जसले झैझगडा र मारकाटको अवस्था निम्त्याउँथ्यो । तर, अहिले त्यस्तो अवस्था छैन । जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न हुँदै आएको छ र भविष्यमा पनि यसले निरन्तरता पाउनेछ,” उनले भने ।
मेयर सिंहले महानगरले जात्राको संरक्षण र प्रवर्द्धनका लागि हर सम्भव प्रयास गरिरहेको र यसलाई पर्यटकीय आकर्षणको रूपमा विकास गर्ने योजना रहेको बताए । “भीमसेन जात्रा वीरगञ्जको सांस्कृतिक पहिचान हो । हामी यसलाई पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न चाहन्छौँ,” उनले थपे ।
त्यस्तै, वीरगञ्ज–४ का वडाध्यक्ष जगत् प्रसाद साह कानुले वडाको नेतृत्व सम्हालेदेखि भीमसेन जात्रालाई प्राथमिकतामा राखेको बताए । “हामीले जात्रालाई शान्तिपूर्ण र व्यवस्थित बनाउन हरेक वर्ष विशेष ध्यान दिएका छौँ,” उनले भने ।
वीरगञ्जको भीमसेन जात्रा सांस्कृतिक र धार्मिक दृष्टिकोणले मात्र नभई सामुदायिक एकताको प्रतीकको रूपमा पनि स्थापित हुँदै गएको छ । विगतका झडप र अशान्तिका घटनाहरूलाई पछाडि छोड्दै जात्रा अब शान्ति, समृद्धि र सामाजिक सद्भावको सन्देश बोकेर अगाडि बढिरहेको छ ।
महानगर र स्थानीय प्रशासनको सक्रियता, सुरक्षाकर्मीको चुस्त व्यवस्थापन र समुदायको सहभागिताले जात्रा वीरगञ्जको सांस्कृतिक सम्पदाको रूपमा थप उजागर भएको छ । भविष्यमा यसलाई पर्यटकीय आकर्षणको रूपमा विकास गर्न सकिए वीरगञ्जको सांस्कृतिक र पर्यटकीय सम्भावना अझ फराकिलो हुने देखिन्छ ।