युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनबास क्षेत्र कुनै पनि हालतमा त्याग्न नसकिने बताएका छन्।
डोनबास क्षेत्र रुसलाई दिएमा त्यहीँ भाग भविष्यमा आक्रमण गर्नका लागि प्रयोग हुन सक्ने सम्भावना रहेको भन्दै राष्ट्रपति जेलेन्स्कीले कुनै पनि हालतमा भूमि त्याग्न नसकिने बताएका हुन्। यही शुक्रवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनबीच अलास्कामा हुन लागेको वार्ताको पूर्व सन्ध्यामा जेलेन्स्कीको यो भनाइ सार्वजनिक भएको हो।
केही दिनअघि अमेरिकी राष्ट्रपति ट्रम्पले शान्ति स्थापनाका लागि युक्रेनले केही भूभाग त्याग्नुपर्ने हुन सक्ने बताएका थिए। रुसले अहिलेसम्म युक्रेनको लोहन्सक पूर्ण रूपमा नियन्त्रणमा लिइसकेको छ भने डोनेट्स्कको ७० प्रतिशत भूभाग नियन्त्रणमा लिएको बिबिसीले उल्लेख गरेको छ।