फाइल तस्बिर ।
वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार मधेस प्रदेशको सुख्खाग्रस्त पर्सा र बारा जिल्लाको हवाई तथा स्थलगत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।
नेकपा एमाले पर्साका सचिव महेश दासले दिएको जानकारीअनुसार प्रधानमन्त्रीले दुवै जिल्लाका ग्रामीण क्षेत्रमा देखिएको सुख्खा र विपद्को अवस्थाको प्रत्यक्ष अवलोकन गर्नेछन् ।
सचिव दासका अनुसार, बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्न आउन लागेका प्रधानमन्त्री ओलीको निरीक्षणपछि मधेस प्रदेशको विपद् सङ्कटग्रस्त क्षेत्रका बासिन्दाहरूका लागि विभिन्न राहत प्याकेज घोषणा गरिने अपेक्षा गरिएको छ।
“प्रधानमन्त्रीज्यूको स्थलगत निरीक्षणले प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्न मद्दत गर्नेछ, र त्यसपछि यहाँका जनताको राहत र पुनर्स्थापनाका लागि थप विशेष प्याकेज ल्याइनेछ,” दासले भने।
यसअघि, बुधवार बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । निर्णयले सुख्खा र अन्य प्राकृतिक प्रकोपबाट प्रभावित मधेस प्रदेशका बासिन्दाहरूलाई तत्काल राहत र सहयोग उपलब्ध गराउन मार्ग प्रशस्त गरेको छ ।
पर्सा, बारा, रौतहट लगायत मधेस प्रदेशका जिल्ला लामो समयदेखि सुख्खाको चपेटामा छन् सुख्खाको कारण यहाँको कृषि, पशुपालन र स्थानीय जनजीवनलाई गम्भीर रूपमा प्रभावित पारेको छ । खेतीपातीमा आश्रित अधिकांश स्थानीयवासी सिँचाइको अभाव र पानीको सङ्कटका कारण समस्यामा परेका छन् ।
प्रधानमन्त्रीको भ्रमण र राहत प्याकेजको घोषणाले सुख्खाग्रस्त क्षेत्रका जनतामा आशा जगाएको छ ।