×

इस्लामावाद । पाकिस्तानमा हालको मनसुन वर्षाले ठूलो जनधनको क्षति पुर्‍याएको छ । देशभर भएका अविरल वर्षा, आकस्मिक बाढी र वर्षासम्बन्धी विभिन्न घटनाहरूका कारण अहिलेसम्म कम्तीमा दुई सय एक्काइस जनाले ज्यान गुमाएका छन् भने पाँच सय जनाभन्दा बढी घाइते भएका छन् ।

विवरण पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख गरिएको हो । तथ्याङ्क जुन २६ देखि जुलाई २१ सम्मको अवधिमा सङ्कलन गरिएको हो ।

पछिल्लो चौबिस घण्टा मात्रै पाँच जनाको मृत्यु र दश जना घाइते भएको जनाइएको छ । सबैभन्दा बढी प्रभावित क्षेत्र पूर्वी पञ्जाब प्रान्त रहेको छ । त्यहाँ एक सय पैँतिस जनाको मृत्यु र चार सय सत्तरी जनाभन्दा बढी घाइते भएका छन् ।

त्यस्तै उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा छयालीस जनाले ज्यान गुमाएका छन् र उनहत्तर जना घाइते भएका छन् । दक्षिणी सिन्ध प्रान्तमा दुई सय जनाभन्दा बढी प्रभावित भएका छन् । त्यहाँ दुई सय बाइस जनाको मृत्यु भएको र चालीस जना घाइते भएका छन् ।

बलुचिस्तान प्रान्तमा पनि सोही कारणले सोलह जनाको मृत्यु र चार जना घाइते भएका छन् । उत्तरी गिलगिट–बल्तिस्तान क्षेत्रमा भने कुनै मृत्यु भएको छैन, तर तीन जना घाइते भएको पुष्टि गरिएको छ। पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर क्षेत्रमा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । राजधानी क्षेत्र इस्लामाबादमा एक बालक घाइते भएको जनाइएको छ ।

वर्षा अझै जारी रहेकाले अधिकारीहरूले सम्भावित जोखिम रहेका क्षेत्रहरूमा उच्च सतर्कता अपनाइरहेका छन् ।

बाढीको चेतावनी जारी गरिएको छ र राहत तथा उद्धार कार्यका लागि प्रान्तीय सरकारहरूसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा निगरानी र सहायता कार्य सञ्चालन भइरहेको छ ।

Back to top