नयाँ दिल्ली । पटनाको पारस अस्पतालमा चन्दन मिश्रको हत्या प्रकरणमा मुख्य अभियुक्त पक्राउ परेका छन् । प्रहरीले मुख्य अभियुक्तसँगै अन्य तीन जना अभियुक्त पनि पक्राउ गरेका छन् । पटनाका एसएसपी कार्तिकेय शर्माले बिबिसी हिन्दीलाई बताएअनुसार यी चार जनालाई आइतबार बिहान कोलकाताबाट पक्राउ गरिएको हो ।
‘सिसिटिभी फुटेजमा अगाडि देखिएको व्यक्ति र उनीसँगै रहेका तीन जनालाई पक्राउ गरिएको छ । अहिले हामी उनीहरूको ट्रान्जिट रिमान्डको प्रक्रियामा छौँ । त्यसपछि सोधपुछ गरिनेछ र हत्याको बारेमा थप जानकारी उपलब्ध हुनेछ’ शर्माले भने ।
पटनाको सबैभन्दा ठुला अस्पतालहरू मध्ये एक पारस अस्पतालको कोठा नम्बर २०९ मा बिहीबार बिहान ७ः१५ बजेतिर चन्दन मिश्र नामक व्यक्तिको हत्या गरिएको थियो ।
यसका लागि पाँच जना व्यक्ति पेस्तोल देखाउँदै कोठामा प्रवेश गरेर चन्दन मिश्र नामका व्यक्तिलाई गोली हानेर भागेका थिए । दोषी ठहरिएका चन्दन मूल रूपमा बिहारको बक्सरका बताइएको छ ।
अस्पतालमा भएको घटनाको सिसिटिभी फुटेजमा आक्रमणकारीहरूको अनुहारमा मास्क छैन । तिनीहरू कोठामा प्रवेश गर्छन्, कम्मरबाट पेस्तोल निकाल्छन् र गोली हान्छन् अनि बिना कुनै हतार निस्किएर जान्छन् ।
‘चन्दन मिश्र सजाय पाइरहेका कैदी हुन् । उनी पेरोलमा बाहिर निस्किएका थिए । यस्तो देखिन्छ कि बक्सरको ग्याङ्गवार वा व्यक्तिगत प्रतिशोधका कारण यो हत्या भएको देखिन्छ । प्रहरीले घटनामा संलग्न अपराधीहरूको पहिचान गरिसकेको छ’ यस घटनापछि पटनाका एसएसपी कार्तिकेय शर्माले भनेका छन् ।