फाइल तस्बिर ।
वीरगञ्ज । स्वास्थ्य बिमा बोर्डले वीरगञ्जको नारायणी अस्पताललाई पुनः प्रथम सेवा विन्दु र रिफरल सेन्टरका रूपमा कायम गरेको छ ।
यसअघि बोर्डले साउन १ गतेदेखि नारायणी अस्पताललाई प्रथम सेवा विन्दुको सूचीबाट हटाउने निर्णयको चौतर्फी आलोचना भएपछि अस्पताल प्रशासनको आग्रह र बीमितहरूको सुविधालाई मध्यनजर गर्दै बोर्डले यो निर्णय फिर्ता लिएको हो ।
नारायणी अस्पतालका सूचना अधिकारी तथा वरिष्ठ चिकित्सक डा. उदय नारायण सिंहका अनुसार, बोर्डको प्रथम सेवा विन्दु हटाउने निर्णयपछि अस्पताल प्रशासनले असार ३२ गते बोर्डलाई पत्र लेखेर नारायणी अस्पताललाई प्रथम सेवा विन्दुको सूचीमा कायम राख्न आग्रह गरेको थियो ।
सोही दिन बोर्डबाट प्राप्त पत्रमा बीमितहरूको स्वास्थ्य सेवालाई ध्यानमा राख्दै नारायणी अस्पताललाई आगामी असोज मसान्तसम्म प्रथम सेवा विन्दु र रिफरल सेन्टरका रूपमा सेवा प्रदान गर्न स्वीकृति दिइएको उल्लेख छ ।
डा. सिंहले भने, “बोर्डको यसअघिको निर्णयले वीरगञ्जवासी अन्योलमा परेका थिए । अब नारायणी अस्पताललाई पुनः प्रथम सेवा विन्दु र रिफरल सेन्टरका रूपमा कायम गरिएपछि बीमित बिरामीहरूले ठूलो राहत महसुस गरेका छन् ।”
नारायणी अस्पतालमा दैनिक पाँचदेखि सात सयसम्म स्वास्थ्य बिमाका बिरामी प्रथम सेवा विन्दुबाट आउने गर्छन्, जसमध्ये ७०–७५ प्रतिशत बीमित हुन्छन् । यीमध्ये दुईदेखि तिन सयसम्म मधुमेह, उच्च रक्तचाप, मुटु रोगजस्ता दीर्घ रोगका बिरामी नियमित औषधि लिन आउँछन् । विशेषगरी वीरगञ्जको सहरी क्षेत्रका ज्येष्ठ नागरिक र पर्सासहित बारा, रौतहट, सर्लाही, मकवानपुरलगायतका छिमेकी जिल्लाका बीमितहरूले नारायणी अस्पताललाई प्रथम सेवा विन्दु बनाएका छन् ।
बोर्डले यसअघि नारायणी अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाएर वीरगञ्ज महानगरपालिका–२८ मा रहेको बगही प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम सेवा विन्दु तोकेको थियो । तर, बगही नारायणी अस्पतालबाट १२ किलोमिटर टाढा रहेको र त्यहाँ आवश्यक जनशक्ति, ल्याब सुविधा, औषधि र एक्स–रे मेसिनको अभावले सेवा प्रवाहमा चुनौती देखिएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले प्रथम सेवा विन्दु हटाउँदा नागरिकलाई परेको असुविधालाई सम्बोधन गर्न पहल गरेका थिए । उनले सामाजिक सञ्जालमार्फत नजिक प्रथम सेवा विन्दु नभएका स्थानका केन्द्रीय सरकारी अस्पतालमा प्रथम सेवा विन्दु कायमै रहने व्यवस्था मिलाइएको बताएका थिए ।
मन्त्री पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एक प्रथम सेवा विन्दु सञ्चालन गर्ने नीतिअनुसार, उपयुक्त स्वास्थ्य संस्था नभएका स्थानमा स्वास्थ्य संस्था स्थापना र स्तरोन्नतिका लागि प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नारायणी अस्पताललाई पुनः प्रथम सेवा विन्दु र रिफरल सेन्टरका रूपमा कायम गरिएपछि वीरगञ्ज र छिमेकी जिल्लाका बीमितहरूले सहज रूपमा सेवा प्राप्त गर्नेछन् । विशेषगरी ज्येष्ठ नागरिक र दीर्घरोगी बिरामीहरूले बगहीजस्ता टाढा र सीमित स्रोतसाधन भएका केन्द्रहरूमा जानुपर्ने बाध्यता हटेको छ । नारायणी अस्पताल प्रशासनले पनि बीमितहरूलाई परिवर्तनबारे जानकारी लिई सहज रूपमा सेवा लिन अनुरोध गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार, नारायणी अस्पतालसहित कोशी अस्पताल (विराटनगर), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), गजेन्द्र नारायण सिंह अस्पताल (राजविराज), बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर), भरतपुर अस्पताल (चितवन), पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा), जीपी कोइराला श्वासप्रश्वास केन्द्र (तनहुँ), सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (बाँके), भेरी अस्पताल (नेपालगञ्ज), राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (दाङ), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला), र डडेलधुरा अस्पतालमा प्रथम सेवा विन्दु कायम रहनेछ ।
स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा ऐन, २०७४ (प्रथम संशोधन २०८२) अनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एक प्रथम सेवा विन्दु तोक्ने व्यवस्था लागू गरेको छ । बोर्डका अध्यक्ष चन्द्र थापाका अनुसार, व्यवस्थाले बीमितहरूलाई देशभरका सूचीकृत सरकारी स्वास्थ्य संस्थाबाट प्रथम सेवा विन्दुको सेवा लिन सहज हुनेछ । बोर्डले उपचार सुविधाको समय चक्रलाई पनि परिमार्जन गर्दै बीमितहरूले एक महिनाको अन्तरमा उपचार सुविधा लिने व्यवस्था गरेको छ ।
व्यवस्थाले स्वास्थ्य बिमा कार्यक्रमलाई थप सर्वसुलभ र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । मन्त्री पौडेलले स्वास्थ्य बिमा कार्यक्रमको दिगोपना र विस्तारका लागि निरन्तर प्रयासरत रहने बताउँदै नागरिकका सुझाव र गुनासोलाई सधैँ स्वागत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।