वीरगञ्ज । साढे दुई वर्षदेखि गाजामा हमास समूहविरुद्ध कारबाही जारी राखेको इजरायली सेना पछिल्लो पटक त्यहाँका भौतिक पूर्वाधार ध्वस्त पार्न सक्रिय बनेको पाइएको छ ।
६० हजार हाराहारीमा मानिसको मृत्यु भइसकेको गाजामा इजरायली सेनाले सबै आवासीय भवन ध्वस्त पार्ने गरी नियोजित रूपमा ठूला बम विस्फोट गराइरहेको पाइएको बिबिसीले जनाएको छ ।
बिबिसीले गरेको अध्ययनमा मानवरहित भवन र बस्तीमा इजरायली सेनाले शक्तिशाली बम खसालिरहेको छ ।
प्राप्त कतिपय फुटेजमा त्यस्ता पूर्वाधार ध्वस्त पारेर त्यहाँको भग्नावेश हटाउने कामसमेत इजरायली सेनाले गरेको बिबिसीको दाबी छ । उपग्रहहरूबाट लिइएको तस्बिरमा इजरायली सेनाले योजनाबद्ध रूपमा अस्पताल, ठूला आवासीय भवन तथा विद्यालयसमेत भत्काइरहेको छ ।
कानुनका जानकारहरूले यो अवस्थालाई युद्ध अपराध भनेका छन् । जेनेभा कन्भेन्सनअनुसार कुनै पनि युद्धमा पूर्वाधार लक्षित आक्रमण गर्नु युद्ध अपराध हो । तर इजरायली सेनाले हमास लडाकु लुकेको वा हतियार लुकाएको आरोपमा पूर्वाधारमा निशाना बनाएर जगैबाट भत्काउने काम गरिरहेको छ ।