×

फाइल तस्बिर ।

वीरगञ्ज । स्वास्थ्य बिमा बोर्डले नारायणी अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाएर वीरगञ्ज महानगरपालिका–२८ मा रहेको बगही प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम सेवा विन्दु तोकेपछि वीरगञ्जका सहरी क्षेत्रका नागरिकहरू प्रत्यक्ष प्रभावित हुने भएका छन् ।

नारायणी अस्पतालबाट झन्डै १२ किलोमिटर टाढा रहेको बगही प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक जनशक्ति र पूर्वाधारको अभावले बीमित बिरामीहरूलाई सेवा प्राप्त गर्न कठिनाइ हुने देखिएको छ ।

नारायणी अस्पतालका प्रवक्ता डा. उदय नारायण सिंहका अनुसार, अस्पतालमा दैनिक पाँच सयदेखि सात सयको हाराहारीमा स्वास्थ्य बिमाका बिरामी प्रथम सेवा विन्दुबाट आउने गर्छन् । यीमध्ये ७०–७५ प्रतिशत बिरामी बीमित हुन्छन् । तीमध्ये दुई सयदेखि तिन सयको हाराहारीमा मधुमेह, उच्च रक्तचाप, मुटु रोगजस्ता दीर्घ रोगका बिरामी नियमित औषधि लिन आउँछन् । यस्ता बिरामीमा अधिकांश वीरगञ्जको मुख्य सहरी क्षेत्रका ज्येष्ठ नागरिक छन् ।

पर्सा जिल्लासहित बारा, रौतहट, सर्लाही, मकवानपुरलगायतका छिमेकी जिल्लाका नागरिकले पनि नारायणी अस्पताललाई प्रथम सेवा विन्दु बनाएका छन् । डा. सिंहले भने, “प्रथम सेवा विन्दु हटाइएपछि बीमित बिरामीहरूले रेफर लिएर मात्र यहाँ सेवा लिनुपर्नेछ । यो व्यवस्थाले सेवाग्राहीहरूलाई असुविधा हुनेछ ।” उनले अस्पताल प्रशासनले स्वास्थ्य बिमा बोर्डसँग समन्वय गरी नारायणी अस्पताललाई पुनः प्रथम सेवा विन्दुमा समावेश गराउन प्रयास गरिरहेको बताए ।

स्वास्थ्य बिमा बोर्डले वीरगञ्जका लागि तोकेको बगही प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक जनशक्ति र पूर्वाधारको अभाव रहेको छ । बगहीका प्रमुख डा. अभिनिशा पल्लवले हाल केन्द्रमा दैनिक २०–२५ बिरामी आउने गरेको र केवल तीन जना मेडिकल अधिकृतले सेवा प्रदान गरिरहेको बताइन् । उनले भनिन्, “हालको अवस्थामा पनि ल्याबमा सबै जाँच हुँदैन, सम्पूर्ण औषधि उपलब्ध छैनन्, र एक्स–रे मेसिन पनि बिग्रिएको छ । दरबन्दीअनुसारको जनशक्ति पनि छैन । यस्तो अवस्थामा नारायणी अस्पतालबाट आउने बिरामीको चाप थेग्न चुनौतीपूर्ण हुनेछ ।” डा. पल्लवले रेफर प्रक्रियामा पनि समस्या रहेको उल्लेख गरिन् । “अनलाइन इन्ट्रीको सुविधा नहुँदा रेफर प्रक्रिया जटिल छ । कतिपय सेवाग्राही बिरामी नै नल्याई काठमाडौँ रेफर गर्न माग गर्छन्, तर हामीले स्थानीय अस्पताल वा नारायणी अस्पतालमा मात्र रेफर गर्न मिल्छ,” उनले भनिन् ।

नारायणी अस्पताल वीरगञ्जको केन्द्रमा अवस्थित छ र यहाँसम्म सार्वजनिक यातायातको सहज पहुँच छ । तर, बगही प्राथमिक स्वास्थ्य केन्द्र छपकैया, नगवा, रानीघाट, घडिअर्वाजस्ता टोलहरूबाट टाढा छ । यी क्षेत्रबाट बगही पुग्न सार्वजनिक यातायातको अभाव हुन सक्ने स्थानीयको गुनासो छ । विशेषगरी ज्येष्ठ नागरिक र दीर्घ रोगी बिरामीहरूलाई यो नयाँ व्यवस्थाले ठूलो असुविधा हुने देखिएको छ ।

स्वास्थ्य बिमा बोर्डले पर्सा जिल्लामा प्रथम सेवा बिन्दुका रूपमा नारायणी अस्पताललाई हटाएर वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ मा रहेको बगही प्राथमिकता स्वास्थ्य केन्द्र, पोखरिया अस्पताल, पर्सागढी नगरपालिका–६ मा रहेको बागेश्वरी त्रितौना प्राथमिक स्वास्थ्य केन्द्र र धोबिनी गाउँपालिका–२ मा रहेको भिखमपुर प्राथमिक स्वास्थ्य केन्द्र गरी ४ वटा मात्रै सरकारी स्वास्थ्यलाई तोकेको छ ।

यसैबिच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले प्रथम सेवा विन्दु हटाउँदा नागरिकलाई परेको असुविधालाई सम्बोधन गर्न पहल भइरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले भने, “स्वास्थ्य बिमा व्यवस्थित गर्न हरेक स्थानीय तहमा कम्तीमा एक प्रथम सेवा विन्दु सञ्चालन गर्ने नीतिअनुसार, उपयुक्त स्वास्थ्य संस्था नभएका ठाउँमा स्वास्थ्य संस्था स्थापना र स्तरोन्नति गर्न प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरिनेछ ।” उनले नागरिकलाई घरदैलोमै सेवा उपलब्ध गराउने र स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा ऐन, २०७४ (प्रथम संशोधन २०८२) को दफा ९ को उपदफा (६) अनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एक स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दुको रूपमा तोक्ने व्यवस्था लागू गरेको छ । बोर्डका अध्यक्ष चन्द्र थापाले यो व्यवस्थाले बीमितहरूलाई जुनसुकै सरकारी स्वास्थ्य संस्थाबाट प्रथम सेवा विन्दुको सेवा लिन सहज हुने बताए । “यसअघि बीमितले दर्ता गरेको एक मात्र प्रथम सेवा विन्दुबाट सेवा लिनुपर्ने बाध्यता थियो । अब देशभरका सूचीकृत सरकारी स्वास्थ्य संस्थाबाट सेवा लिन सकिन्छ,” उनले भने । बोर्डले उपचार सुविधाको समय चक्रमा पनि परिवर्तन गरेको छ । नयाँ व्यवस्थाअनुसार, बीमितहरूले एक महिनाको अन्तरमा उपचार सुविधा प्राप्त गर्न सक्नेछन् । बोर्डका सूचना अधिकृत विकेश मल्ल ठकुरीले भने, “अब १२ चक्रमा कार्यक्रम सञ्चालन हुनेछ । उदाहरणका लागि, साउनमा दर्ता भएका बीमितले भदौ छाडेर १ असोजदेखि सुविधा लिन सक्छन् ।”

स्वास्थ्य बिमा बोर्डले स्थानीय तहलाई एक महिनाभित्र आवश्यक विवरण पठाउन अनुरोध गरेको छ । न्यूनतम मापदण्ड पूरा गर्ने स्वास्थ्य संस्थाहरूलाई प्रथम सेवा विन्दुको स्वीकृति दिइनेछ । बोर्डले ग्रामीण र दुर्गम क्षेत्रका बीमितहरूलाई विशेष राहत प्रदान गर्ने लक्ष्य राखेको छ ।

नारायणी अस्पताल प्रशासनले बीमितहरूलाई परिवर्तनबारे जानकारी लिई नजिकको प्रथम सेवा विन्दुबाट रेफर लिएर मात्र अस्पताल आउन अनुरोध गरेको छ । साथै, अस्पताललाई पुनः प्रथम सेवा विन्दुमा समावेश गराउन बोर्डसँग समन्वय भइरहेको डा. सिंहले बताए । नयाँ व्यवस्थाले स्वास्थ्य बिमा कार्यक्रमलाई थप सर्वसुलभ र लचिलो बनाउने अपेक्षा गरिएको छ । तर, बगहीजस्ता प्राथमिक स्वास्थ्य केन्द्रहरूको सीमित स्रोतसाधन र पूर्वाधारले तत्कालका लागि बीमितहरूलाई असुविधा हुने देखिएको छ ।

स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा यस्ता चुनौतीहरू समाधान गर्न सकिएमा मात्र कार्यक्रमले नागरिकको अपेक्षा पूरा गर्न सक्नेछ ।

Back to top