×

एयर इण्डिया विमानको दुर्घटनाको मुख्य कारण इन्धन आपूर्ति बन्द हुनु रहेको प्रारम्भिक निष्कर्ष निकालिएको छ।

भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी)को रिपोर्टले ककपिटमा रहेको इन्धन नियन्त्रण स्विचहरू ‘रन’ बाट ‘कटअफ’ मा परिणत भएपछि इन्जिनहरूमा इन्धन आपूर्ति रोकिएको प्रतिवेदन सार्वजनिक गरेको हो।

गत जुन १२ मा अहमदावादबाट लण्डन जाँदै गरेको बोइङ ७८७ ड्रीमलाइनर विमान रनवेबाट उडेको केही क्षणमै जमिनमा खस्दा कम्तीमा २६० जनाको मृत्यु भएको थियो। विमानमा सवारमध्ये केवल एक जना मात्र बाँचेका थिए।

ब्ल्याक बक्सबाट प्राप्त ४९ घण्टा उडान डेटा र २ घण्टा ककपिट अडियोका आधारमा, विमानले १८० नट गति पुगेको वेला दुवै इन्जिनका इन्धन स्विचहरू एक सेकेण्डको अन्तरमा बन्द गरिएको पाइएको छ।

ककपिट अडियो अनुसार, एक पाइलटले अर्कोलाई ‘किन कटअफ गरेको’ भनेर सोध्दा ‘मैले गरेको होइन’ भन्ने जवाफ दिएको रिपोर्टमा उल्लेख छ। त्यसपछि स्विचहरू पुनः सामान्य स्थितिमा फर्काइएको थियो। इन्जिन फेरि ‘स्टार्ट’ हुने क्रममा नै विमान जमिनमा खसेको थियो।

यो प्रारम्भिक प्रतिवेदन मात्र भएको र पूर्ण अनुसन्धान पछि मात्र अन्तिम निष्कर्ष सार्वजनिक हुनेछ।

Back to top