वीरगञ्ज । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्को बिहीवार साँझ बसेको बैठकले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ ।
वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान रोपाइँमा समस्या भएको र रोपिएका खेतहरूमा समेत धाँजा फाट्न थालेको अवस्थालाई मध्यनजर गर्दै मधेस सरकारले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले सुख्खाग्रस्त क्षेत्रका किसानहरूका लागि विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह गर्ने र पर्साको वीरगञ्जसहित विभिन्न जिल्लामा देखिएको खानेपानी संकट समाधानका लागि आवश्यक स्रोतसाधन परिचालन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले संघीय खानेपानी मन्त्रालयसँग सहयोग माग्दै ट्याङ्करमार्फत पानी वितरणको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
मुख्यमन्त्री सतीश कुमार सिंहले सामाजिक सञ्जालमार्फत निर्णयहरू सार्वजनिक गर्दै खानेपानी संकट समाधानमा प्रतिबद्धता व्यक्त गरेका छन् । तर, वीरगञ्जका स्थानीय बासिन्दाहरूले भने प्रदेश सरकारको घोषणालाई ‘आश्वासनमात्र’ भन्दै आलोचना गरेका छन् ।
स्थानीयहरूले सरकारले ठोस योजना र कार्यान्वयनको खाका प्रस्तुत नगरेको गुनासो गरेका छन् । वीरगञ्जका - ७ निवासी रमेश यादव भन्छन्, “प्रदेश सरकारले ट्याङ्करबाट पानी वितरण गर्ने कुरा त गर्यो, तर यो प्रचारबाजीको कामबाहेक केही होइन। खानेपानीको दीर्घकालीन समाधानका लागि कुनै योजना देखिँदैन।”
यस्तै, मधेश प्रदेश सभाको बुधबारको बैठकमा पर्साको प्रतिनिधित्व गर्ने प्रदेश सांसद श्याम पटेलले वीरगञ्ज र पर्सा जिल्लामा खानेपानीको गम्भीर संकटबारे संसद्लाई जानकारी गराएका थिए । उनले संकटको समयमा स्थानीयले प्रदेश सरकारको उपस्थिति महसुस गर्न नसकेको आरोप लगाउँदै तत्काल ठोस कदम चाल्न माग गरे । “वीरगञ्जवासीले पानीको हाहाकार बेहोरिरहेका छन्, तर सरकार आश्वासनमात्र बाँडिरहेको छ,” उनले भने ।
स्थानीयहरूले मुख्यमन्त्री सिंहको नेतृत्वमा रहेको सरकारले खानेपानी संकट समाधानका लागि दीर्घकालीन योजना बनाउन नसकेको र सतही उपायहरूलाई प्राथमिकता दिएको आरोप लगाएका छन् । “ट्याङ्करबाट पानी वितरणले एक–दुई दिनको राहत त होला, तर यो समस्या बारम्बार दोहोरिन्छ । हामीलाई स्थायी समाधान चाहिएको छ,” वीरगञ्जका अर्का स्थानीय सुनिता साहले गुनासो गरिन् ।
प्रदेश सरकारले स्रोतसाधन परिचालन गर्ने र संघीय सरकारसँग सहयोग माग्ने निर्णय गरे पनि कार्यान्वयनको स्पष्ट खाका नहुँदा स्थानीयहरूमा निराशा छाएको छ । खानेपानी संकटले वीरगञ्जका बासिन्दाहरूको दैनिकी कठिन बन्दै जाँदा उनीहरूले सरकारले तत्काल प्रभावकारी कदम चालोस् भन्ने माग गरेका छन्।
वीरगञ्जसहित पर्सा जिल्लाको विभिन्न स्थानमा विगत १० दिनदेखि पानीको समस्या आएको हो । गर्मिबढे सँगै भू-सतहको पानी सुक्दा चापाकल चलन छोडेपछि समस्या बढेको हो । समस्या समाधानका लागि वीरगञ्ज महानगरपालिकाले विभिन्न स्थानमा डिप बोरिङ जडान गरी पानी वितरण गर्नुका साथै ट्यांकर मार्फत पानी वितरण गरेपनि समस्या समाधान हुन सकेको छैन् ।
संघीय खानेपानी मन्त्रालयले पनि विशेष प्याकेज घोषणा गरेर वीरगञ्जको विभिन्न स्थानमा खानेपानीका लागि बोरिङ जडानदेखि खानेपानी संस्थान मार्फत ओभर हेड ट्याङ्की मार्फत पानी वितरणलाई तिव्रता दिएको छ ।
अर्कोतर्फ समस्या विगत ३ वर्षदेखि लगातार भएपनि तिनै तहको सरकारले ठोस योजनाहरू नल्याउँदा गर्मीको समयमा समस्या विकराल हुनेगरेको छ ।