इजरायलले यमनमा हुथी विद्रोही समूहद्वारा नियन्त्रित तीन प्रमुख बन्दरगाहमा आक्रमण गरेको छ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले सामाजिक सञ्जालमार्फत ‘ब्ल्याक फ्ल्याग अपरेसन’ अन्तर्गत हुडायदाह, रास ईसा र सैफमा आक्रमण भएको बताएका छन्। इजरायली सेनाले आक्रमणअघि ती क्षेत्रमा रहेका सर्वसाधारणलाई तत्काल हट्न आदेश दिएको थियो। आक्रमणमा रास कनातिब विद्युत केन्द्र र सन् २०२३ मा हुथीहरूले नियन्त्रणमा लिएको व्यावसायिक जहाज ग्यालेक्सी लिडरमा प्रहार गरिएको इजरायलको दाबी छ।
सो जहाज अन्तर्राष्ट्रिय समुद्री मार्गमा निगरानीका लागि प्रयोग भइरहेको थियो। इजरायली आक्रमणपछि हुथी विद्रोही समूहले रकेटमार्फत् आक्रमण गरेको जनाइएको छ। हुथी सञ्चालित मिडियाले हुडायदाहमा आक्रमण भएको पुष्टि गरे पनि क्षति विवरण खुलाइएको छैन। इजरायली रक्षामन्त्री काट्जले इजरायलमाथि हात उठाउनेको हात काट्ने चेतावनी दिएका छन्। उता लाल सागरमा लाइबेरियाली ध्वजावहाक ग्रिक स्वामित्वको जहाजमा आक्रमण भएको छ।
आक्रमणबाट जहाज जल्न थालेपछि चालक दलका सदस्यहरुको उद्धार गरिएको छ। बेलायती समुद्री एजेन्सीका अनुसार यमनी बन्दरगाह हुडायदाहबाट ९४ किलोमिटर टाढा रहेको यो क्षेत्रमा गत अप्रिल यताकै ठूलो आक्रमण भएको हो। आक्रमणको जिम्मा कसैले लिएको छैन।