वीरगञ्ज । अमेरिकी अर्बपति व्यवसायी एलन मस्कले नयाँ राजनीतिक दल गठनको घोषणा गरेका छन् । उनले नयाँ दललाई ‘अमेरिका पार्टी’ नाम दिएका छन् । मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, ‘आज अमेरिका पार्टी गठन हुँदै छ ताकि तपाईँले आफ्नो स्वतन्त्रता फिर्ता पाउन सक्नुहोस् ।’ उनले यस सम्बन्धमा एक्समा सार्वजनिक सर्वेक्षण पनि गरेका थिए ।
मस्कले आफ्नो सन्देशमा भने, ‘तपाईँहरूमध्ये ६६ प्रतिशतले नयाँ राजनीतिक दल चाहनुहुन्छ, अब तपाईँले त्यो पाउनुहुनेछ । अमेरिकालाई बरबाद गर्ने र भ्रष्टाचार गर्ने सन्दर्भमा अमेरिकाका दुवै (रिपब्लिकन र डेमोक्र्याटिक) दल समान छन् ।’
मस्कले चार जुलाईमा अमेरिकाको स्वतन्त्रता दिवसका अवसरमा एक्समा एउटा मत सर्वेक्षण राखेका थिए । त्यसमा उनले सोधेका थिए, ‘के तपाईं दुई–दलीय प्रणालीबाट स्वतन्त्रता चाहनुहुन्छ र ? के हामीले अमेरिकामा नयाँ पार्टी बनाउनुपर्छ र ?’ सर्वेक्षणको नतिजामा, ६५.४ प्रतिशतले ‘हो’ र ३४.६ प्रतिशतले ‘होइन’ मत दिएका थिए ।
मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्पबिच ‘बिग ब्युटिफुल बिल’ लाई लिएर चर्को बहस भएको थियो । त्यसपछि मस्कले आफूलाई ट्रम्प प्रशासनबाट बिदा भएका थिए । जवाफमा ट्रम्पले भने, ‘जब हामीले विद्युतीय सवारी साधनको अनिवार्य खरिदको अनुदान काट्ने बारेमा कुरा गर्यौँ तब मस्कलाई समस्या हुन थाल्यो । म एलनसँग धेरै निराश छु । मैले उनलाई धेरै मद्दत गरेको छु ।’
त्यसपछि मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा ट्रम्पलाई कृतघ्न भन्दै धेरै सन्देश लेखेका थिए । मस्कले भने, ‘यदि म नभएको भए, ट्रम्पले चुनाव हार्थे ।’ उनले ट्रम्पलाई महाभियोग लगाउनेसम्मका कुरा समेत गरेका थिए । वास्तवमा मस्क ट्रम्पको विधेयकले अमेरिकामा लाखौँ रोजगारी समाप्त गर्नुका साथै अमेरिकालाई ठूलो रणनीतिक क्षति पुग्ने विश्वास गर्छन् । दुवै सदनबाट पारित भएर ट्रम्पले हस्ताक्षर गरेपछि ‘बिग ब्युटिफुल बिल’ कानुन बनेको छ ।
१३ जुलाई, २०२४ मा पेन्सिलभेनियाको बटलरमा एक चुनावी सभामा डोनाल्ड ट्रम्पलाई गोली लागेको थियो । त्यस घटनामा गोलीको छर्रा ट्रम्पको दाहिने कानमा लाग्यो । यसपछि मस्कले एक्समा राष्ट्रपति चुनावमा ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका थिए । मस्क सम्पूर्ण चुनावी अभियानमा ट्रम्पको लागि पूर्ण रूपमा खटिएका थिए । ट्रम्पलाई राष्ट्रपति बनाउन मस्कले ठूलो धनराशि खर्च पनि गरेका छन् । ट्रम्पले चुनाव जित्ने बित्तिकै अमेरिकी राजनीतिमा मस्कको कद ह्वात्तै बढ्यो ।
कतिपयले उनलाई ‘सुपर प्रेसिडेन्ट’ पनि भन्थे । मस्क र विवेक रामास्वामीलाई सरकारी दक्षता विभागको प्रमुख बनाइयो । तर जनवरी २० मा ट्रम्पको शपथ ग्रहणको केही घण्टापछि रामास्वामीले विभाग छोडे । यस विभागको उद्देश्य सरकारी खर्च कटौती गर्नु थियो ।
रामास्वामीले राजीनामा दिएपछि मस्क विभागको प्रमुख बने । उनले सरकारी खर्च कटौती गर्ने नाममा ठूलो मात्रामा सरकारी कर्मचारीहरूलाई बर्खास्त गर्ने मात्रै नभएर अमेरिकाले अन्य देशमा पठाउने खर्च पनि बन्द गरे । विशेष गरी कर्मचारी हटाउने कुरालाई लिएर मस्कले अमेरिकाभर विरोधको सामना गर्नुपरेको थियो । तर ट्रम्प सधैँ मस्कको समर्थनमा उभिए ।
आठ मार्चमा ट्रम्प उपस्थित भएको मन्त्रिपरिषद् बैठकमा मस्क र विदेश मन्त्री मार्क रुबियोले कर्मचारी कटौतीको विषयमा बहस गरेको समाचार बाहिर आएको थियो । मस्कले रुबियोलाई कर्मचारी कटौती गर्न असमर्थ भएको आरोप लगाए ।
दुवैले त्यो अस्वीकार गरे । जब दुईबिचको बहस तीव्र भयो, ट्रम्पले रुबियोको बचाउ गर्दै भने, ‘उनले राम्रो काम गरिरहेका छन् ।’ यो पहिलो पटक थियो जब मस्क र कुनै ठूला नेताबिच विवाद भयो, जहाँ ट्रम्पले उनलाई समर्थन गरेनन्। यद्यपि ट्रम्प र मस्क एकसाथ काम भने गरिरहेका थिए ।
ट्रम्प र मस्कलेसँगै काम गर्न जारी राखे पनि समय बित्दै जाँदा ट्रम्प सरकारसँग मस्कको सम्बन्ध पनि बिग्रँदै गयो । केही महिना अघि जब मस्कको विरोधमा धेरै देशहरूमा टेस्लाका गाडीहरू जलाइए, ट्रम्पले टेस्ला किनेर मस्कलाई समर्थन गरेका थिए ।
तर सबैभन्दा ठूलो विवाद २७ मेमा तब सुरु भयो जब मस्कले ट्रम्प सरकारको ‘बिग ब्युटिफुल बिल’ को खुलेर विरोध गरे । केही घण्टापछि उनले सरकारी दक्षता विभागबाट राजीनामा पनि दिए ।
ट्रम्पले ३१ मेमा राष्ट्रपति कार्यालयमा मस्कसँग पत्रकार सम्मेलन गरे । त्यस क्रममा उनले मस्कलाई एक असल साथीको रूपमा वर्णन गरेका थिए । त्यसपछि ट्रम्पले भने, ‘हामी तपाईँलाई सम्झनेछौँ ।’ ट्रम्पले मस्कलाई सुनको साँचो पनि उपहार दिँदै भने, ‘यो देशको तर्फबाट धन्यवादको रूपमा दिइँदै छ ।’
त्यसपछि, मस्कले तीन जुनमा मंगलबार फेरि एक पटक बिलको आलोचना गरे । मस्कले यो विधेयकले सरकारको घाटा बढाउँछ भन्ने तर्क गर्दै आएका छन् । उनले एक्समा लेखे, ‘मलाई माफ गर्नुहोस्, तर म यो अब सहन सक्दिन । यो अनावश्यक खर्चको बिल अपराध हो। यसको पक्षमा मतदान गर्नेहरूलाई लाज लाग्नु पर्छ ।’