×

वीरगञ्ज । वीरगञ्जका सचिन कुमार महेताले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट प्रदर्शन गर्दै ४ जिपिए प्राप्त गर्न सफल भएका छन् ।

पर्सा जिल्लाका दर्जनौँ सामुदायिक विद्यालयहरूको नतिजा सन्तोषजनक नरहेको समयमा सचिनको उपलब्धिले सबैलाई चकित पारेको छ । उनी सामुदायिक विद्यालयबाट ४ जिपिए ल्याउने जिल्लाकै एक मात्र विद्यार्थी बनेका छन् ।

वीरगञ्जको त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम माध्यमिक विद्यालयबाट कक्षा १० को अध्ययन पूरा गरेका सचिनले भर्खरै प्रकाशित एसइईको नतिजामा ४ जिपिएको उत्कृष्ट अङ्क हासिल गरेका हुन् ।

पर्साको छिपहरमाई गाउँपालिका घर भई हाल वीरगञ्ज–२४ रामगढवाको सामान्य परिवारमा जन्मिएका सचिनले आफ्नो सफलताको श्रेय आफ्नो मिहिनेत, अभिभावक र शिक्षकहरूको सहयोग तथा मार्गदर्शनलाई दिएका छन् । “मैले दिनरात मिहिनेत गरेँ । मेरो परिवार र शिक्षकहरूले मलाई सधैँ हौसला र मार्गदर्शन प्रदान गर्नुभयो, जसले म यो स्थानमा पुग्न सकेँ,” सचिनले भने, “म कक्षा १२ सम्म विज्ञान सङ्कायमा पढेर चिकित्सक बन्न चाहन्छु, विशेषगरी मुटुरोग विशेषज्ञ बन्ने मेरो सपना छ ।”

सचिनका बुवा सञ्जय प्रसाद कुशवाहले छोराको सफलतामा गर्व व्यक्त गर्दै सामान्य परिवारबाट यस्तो नतिजा ल्याउनु ठूलो कुरा भएको बताए । “सामुदायिक विद्यालयमा पढे पनि मिहिनेत र लगनशीलताले उत्कृष्ट अङ्क ल्याउन सकिन्छ भन्ने उदाहरण मेरो छोराले देखाएको छ,” उनले भने । यद्यपि, उनले विद्यालय र वीरगञ्ज महानगरपालिकाले सचिनको उपलब्धिलाई सम्मान नगरेकोमा दुख व्यक्त गरे । “छोराले ४ जिपिए ल्याएर कीर्तिमानी नतिजा हासिल गरे पनि विद्यालय वा महानगरपालिकाबाट कुनै सम्मान वा प्रोत्साहन प्राप्त भएको छैन, जुन दुखद छ,” सञ्जयले गुनासो गरे ।

सचिनकी आमा रञ्जुदेवी महतो कोइरीले पनि छोराको मेहनत र लगनशीलताको प्रशंसा गर्दै उनको सपना पूरा हुनेमा विश्वास व्यक्त गरिन् । “हामीले सधैँ सचिनलाई पढाइमा ध्यान दिन प्रेरित गर्‍यौँ । उसको सफलताले हामीलाई गर्व महसुस भएको छ,” उनले भनिन् ।

सचिनको उपलब्धिले सामान्य पृष्ठभूमिका विद्यार्थीहरूका लागि कडा मेहनत र लगनले ठूलो सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । विशेषगरी, पर्सा जिल्लाका सामुदायिक विद्यालयहरूको एसइई नतिजा सन्तोषजनक नरहेको पृष्ठभूमिमा सचिनको सफलताले अन्य विद्यार्थीहरूलाई पनि प्रेरणा दिने अपेक्षा गरिएको छ । उनको चिकित्सक बन्ने सपना र त्यसतर्फको यात्रालाई स्थानीय समुदाय र शुभचिन्तकहरूले शुभकामना दिएका छन् ।

यद्यपि, सञ्जयले व्यक्त गरेको गुनासोले स्थानीय सरकार र शैक्षिक संस्थाहरूलाई उत्कृष्ट विद्यार्थीहरूलाई प्रोत्साहन र सम्मान गर्ने नीतिमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ । सचिनको कीर्तिमानी उपलब्धिले सामुदायिक विद्यालयहरूमा समेत गुणस्तरीय शिक्षा र मेहनतले उत्कृष्ट नतिजा सम्भव छ भन्ने प्रमाणित गरेको छ ।

Back to top