×

वीरगञ्ज । नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाले चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनमा ढिलाइ र आन्दोलनरत आवासीय चिकित्सकहरूको मागप्रति सरकारको उदासीनताको विरोधमा आन्दोलन चर्काउने घोषणा गरेको छ ।

शाखाका अध्यक्ष डा. मनोज कुमार गुप्ताको नेतृत्वमा चिकित्सक सङ्घले आज पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याललाई ज्ञापन पत्र बुझाइएको छ । ज्ञापन पत्रमा चिकित्सकहरूको सम्मान, हक अधिकार र सुरक्षाका लागि आन्दोलन अपरिहार्य भएको उल्लेख गर्दै सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरिएको छ । 

नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयले वैशाख १० गते जारी गरेको प्रेस विज्ञप्तिमा चिकित्सा शिक्षा आयोगको १६औँ पूर्ण बैठकको निर्णय कार्यान्वयन नभएको र आवासीय चिकित्सकहरूको मागप्रति सरकारले बेवास्ता गरेको उल्लेख छ । यसै सन्दर्भमा नारायणी अञ्चल शाखाले आन्दोलनरत चिकित्सकहरूको मागप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै केन्द्रीय कार्यालयले घोषणा गरेको आन्दोलनका कार्यक्रमलाई समर्थन गरेको छ ।

शाखाले निजी मेडिकल कलेजमा कार्यरत सम्पूर्ण चिकित्सकहरूलाई आकस्मिक तथा सघन उपचार (आइसियु) सेवा बाहेक अन्य सबै स्वास्थ्य सेवा बन्द गरी आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ । यसै गरी, शाखाले २४ घण्टाभित्र मागहरू सम्बोधन नभए वैशाख १२ गतेदेखि देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ । ज्ञापन पत्रमा आन्दोलनका कारण सर्वसाधारणलाई पर्न सक्ने असुविधाप्रति क्षमा याचना व्यक्त गर्दै स्वास्थ्यकर्मीहरूको सम्मान, हक अधिकार र सुरक्षाका लागि यो सङ्घर्ष अनिवार्य भएको उल्लेख छ ।

डा. गुप्ताले सम्पूर्ण चिकित्सकहरूलाई आन्दोलनमा सक्रिय सहभागिता जनाउन आह्वान गर्दै भने, “हाम्रा मागहरू केवल चिकित्सकहरूको हितका लागि मात्र नभई समग्र स्वास्थ्य सेवाको गुणस्तर र स्वास्थ्यकर्मीहरूको सुरक्षासँग जोडिएका छन् । सरकारले हाम्रा मागलाई गम्भीरतापूर्वक लिनुपर्छ ।”

उनका अनुआर नेपाल चिकित्सक सङ्घले उठाउँदै आएका मागहरूमा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता नेपाल सरकारको आठौँ तहको तलब सरह उपलब्ध गराउनुपर्ने, स्वास्थ्य सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको थप दरबन्दी सिर्जना गरी तत्काल विज्ञापन गरिनुपर्ने, अस्पताल विकास समिति अन्तर्गत कार्यरत चिकित्सकहरूलाई स्थायी नियुक्ति प्रदान गरिनुपर्ने र चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन गरिनुपर्ने समावेश छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ज्ञापन पत्र बुझ्दै चिकित्सकहरूको मागलाई सम्बन्धित निकायमा पुर्‍याउने र समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यद्यपि, देशव्यापी रूपमा चिकित्सकहरूको आन्दोलन चर्किँदै गएकाले सरकारले तत्काल ठोस कदम नचाले स्थिति जटिल बन्न सक्ने आकलन छ । नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यालयले काठमाडौँ उपत्यकामा स्वास्थ्य मन्त्रालय घेराउ र उपत्यका बाहिर जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम घोषणा गरेको छ । नारायणी अञ्चल शाखाले पनि आन्दोलनलाई पूर्ण समर्थन जनाएको छ ।

आन्दोलनले स्वास्थ्य सेवा ठप्प हुँदा सर्वसाधारणले ठूलो असुविधा भोग्नुपर्ने जोखिम छ । शाखाले आन्दोलनले जनतालाई असुविधा पुर्‍याउन सक्ने सम्भावनाप्रति क्षमा याचना व्यक्त गरेको छ, तर चिकित्सकहरूको माग सम्बोधन नहुँदा स्वास्थ्य क्षेत्रमा गम्भीर सङ्कट उत्पन्न हुने चेतावनी दिएको छ ।

Back to top