वीरगञ्ज । भारतको जम्मू-कश्मीरको पहलगाममा मङ्गलवार भएको भीषण आतङ्कवादी हमलाले भारत र पाकिस्तानबिचको सम्बन्धलाई नयाँ सङ्कटको मोडमा पुर्याएको छ ।
मङ्गलवार दिउँसो करिब २:३० बजे ‘मिनी स्विट्जरलैण्ड’ को नामले पनि परिचित पहलगामको बैसारन मेडोजमा आतङ्कवादीहरूले पर्यटकहरूलाई निशाना बनाएर अन्धाधुन्ध गोली चलाउँदा एक नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन् ।प्रत्यक्षदर्शीका अनुसार, हमलावरहरूले पर्यटकहरूको धर्म सोध्दै विशेष गरी हिन्दु धर्मावलम्बीहरूलाई निशाना बनाएका थिए ।
प्रतिबन्धित पाकिस्तानी आतङ्कवादी सङ्गठन लश्कर-ए-तैयबाको छद्म समूह ‘द रेजिस्टेन्स फ्रन्ट’ले हमलाको जिम्मेवारी लिएको छ । घटनाले भारतमा ठूलो आक्रोश पैदा गरेको छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरबको भ्रमण छोट्ट्याएर स्वदेश फर्किएका छन् ।
हमलापछि भारतले तत्काल कडा कदम चालेको छ । बुधवार प्रधानमन्त्री मोदीको अध्यक्षतामा बसेको सुरक्षा मामिलासम्बन्धी मन्त्रीमण्डलीय समितिको आपत्कालीन बैठकमा गृह मन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह, विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल सहभागी थिए । बैठकमार्फत भारतले पाकिस्तानविरुद्ध अभूतपूर्व कदम चल्दै सन् १९६० मा भएको सिन्धु जल सन्धिलाई तत्काल प्रभावबाट स्थगित गर्ने निर्णय गरेको छ । सन्धि पाकिस्तानको कृषि, पेयजल र औद्योगिक आवश्यकताका लागि महत्त्वपूर्ण मानिन्छ । सन्धि दुई देशबिच चार युद्धका बाबजुद कायम रहेको ऐतिहासिक सम्झौता हो । सन्धि स्थगित भएसँगै पाकिस्तानको पञ्जाब र सिन्ध प्रान्तमा जल, खाद्य र ऊर्जा सङ्कट गहिरिने जोखिम बढेको छ । विश्लेषकहरूले पाकिस्तानलाई आतङ्कवाद विरुद्ध कदम चाल्न दबाब दिनका निमित्त भारतको कदमलाई ‘जल कूटनीति’को रूपमा हेरेका छन् ।
यसैगरी, भारतले अटारी-वाघा सीमामा रहेको एकीकृत चेकपोस्ट बन्द गर्दै वैध कागजातसहित सीमा पार रहेका भारतीय नागरिकहरूलाई १ मे २०२५ सम्म फर्कने अनुमति दिइएको छ । पाकिस्तानी नागरिकलाई दिइँदै आएको सार्क भिसा छुट योजना र अन्य सबै भिसा रद्द गरिएको छ, र भारतमा रहेका पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिइएको छ । कूटनीतिक सम्बन्धमा पनि कटौती गरिएको छ । नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगका सैन्य, नौसेना र वायु सल्लाहकारहरूलाई ‘अवाञ्छित व्यक्ति’ घोषित गरी एक साताभित्र भारत छाड्न निर्देशन दिइएको छ, र उच्चायोगको कर्मचारी सङ्ख्या ५५ बाट ३० मा झारिएको छ । भारतले इस्लामाबादस्थित आफ्ना सैन्य सल्लाहकारहरूलाई पनि फिर्ता बोलाएको छ । जम्मू-कश्मीर पुलिस र राष्ट्रिय अनुसन्धान एजेन्सीले हमलाको अनुसन्धान थालेको छ । भारतले हमलाको योजना सीमापारि पाकिस्तानबाटबाट रचिएको र चार आतङ्कवादी मध्ये दुई स्थानीय र दुई पाकिस्तानी पश्तुन संलग्न रहेको दाबी गरेको छ ।
पाकिस्तानले भारतको कदमलाई ‘गैरजिम्मेवार’ भन्दै जवाफ दिएको छ । प्रधानमन्त्री शहबाज शरीफले बिहीबार राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएर हमला र भारतको प्रतिक्रियाबारे छलफल गर्ने योजना बनाएका छन् । पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले हमलामा आफ्नो देशको कुनै संलग्नता नरहेको दाबी गरेका छन् । तर, भारतले हमलाका दोषी र तिनका संरक्षकलाई विश्वको जुनसुकै कुनामा भए पनि पक्रने प्रतिबद्धता जनाएको छ ।
भारतमा हमलाले राजनीतिक र सामाजिक आक्रोश बढाएको छ । प्रधानमन्त्री मोदीले संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई बिहीबार साँझ ६ बजे संसद् भवनमा सर्वदलीय बैठकका लागि बोलाएका छन् । जम्मू-कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाले पनि छुट्टै सर्वदलीय बैठक बोलाएका छन् । राज्यसभा सांसद कपिल सिब्बलले पाकिस्तानलाई आतङ्कवादी राष्ट्र घोषित गर्न र अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्दा चलाउन माग गरेका छन् । शिवसेना (यूबीटी) नेता उद्धव ठाकरेले केन्द्र सरकारको सुरक्षा नीतिलाई असफल भन्दै आलोचना गरेका छन् । अभिनेता सलमान खानले सामाजिक सञ्जालमार्फत हमलाको निन्दा गर्दै निर्दोषहरूको हत्या ‘सम्पूर्ण विश्वको हत्या’ सरह भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय समुदायले पनि हमलाको कडा निन्दा गरेको छ । नेपालका राष्ट्रपति राम चन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, विश्व मुस्लिम लीग, इरान र संयुक्त अरब इमिरेट्सले हमलाको भर्त्सना गरेका छन् । भारतले समर्थनलाई स्वागत गर्दै आतंकवादविरुद्ध एकजुट हुन आह्वान गरेको छ ।
यद्यपि, भारतको कडा कदम र पाकिस्तानको जवाफी चेतावनीले दक्षिण एसियाको शान्ति र स्थायित्वमा गम्भीर प्रश्न उठाएको छ । सिन्धु जल सन्धिको निलम्बन र कूटनीतिक सम्बन्धको कटौतीले क्षेत्रीय द्वन्द्वको जोखिम बढाएको छ । विश्लेषकहरूले पाकिस्तानलाई आर्थिक र कूटनीतिक दबाबमा पार्ने भारतको कदमलाई आतंकवादविरुद्धको ‘सर्जिकल स्ट्राइक’को कूटनीतिक रूप ठानेका छन् ।
पहलगाम हमलाले भारत र पाकिस्तानबिचको सम्बन्धलाई नयाँ सङ्कटमा धकेलेको छ । भारतको कडा कदमहरूले पाकिस्तानमाथि दबाब बढाए पनि क्षेत्रीय स्थायित्वमा चुनौती थप्ने देखिएको छ । सर्वदलीय बैठक र पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको बैठकले आगामी दिनमा दुई देशको रणनीति स्पष्ट पार्नेछ । वर्तमान जस्तो संवेदनशील अवस्थामा, निर्दोष नागरिकको सुरक्षालाई प्राथमिकता दिँदै कूटनीतिक संयम र सहकार्य आवश्यक छ । अन्तर्राष्ट्रिय समुदायको भूमिका पनि सङ्कट समाधानमा निर्णायक हुन सक्छ ।