×

वीरगञ्ज । भारतको जम्मु कश्मीरस्थित पाहलगाममा मङ्गलवार पर्यटकमाथि बन्दुकधारीहरूले गरेको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । मारिनेमा अधिकांश हिन्दु धर्मावलम्बी पर्यटक छन् ।

आक्रमण विगत केही वर्षयताकै सबैभन्दा ठूलो भएको एक वरिष्ठ प्रहरी अधिकारीले बताए ।

आक्रमण २२ अप्रिल सन् २०२५ मा बैसरान भन्ने स्थानमा भएको हो, जहाँ आतङ्ककारीहरूले पर्यटक, स्थानीय बासिन्दा र व्यावसायिक गतिविधिमा संलग्न नागरिकहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । 

घटनामा कम्तीमा २८ जनाले ज्यान गुमाएका छन् । जसमा २२ जना भारतीय पर्यटक, दुई स्थानीय नागरिक र एक नेपाली र एक युएईका नागरिक रहेका छन् । नेपाली नागरिक नाम सन्दीप न्यौपाने रहेको छ । आक्रमणबाट थप ३६ जना घाइते भएका छन् ।

आतङ्कवादी हमलाको जिम्मेवारी लश्कर–ए–तैयबा नामक पाकिस्तानस्थित आतङ्कवादी समूहको छायाँ सङ्गठन ‘द रेसिस्टेन्स फ्रन्ट’ले लिएको छ ।

भारतका प्रधानमन्त्री मोदीले घटनाको गहिरो निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै, दोषीहरूलाई कारबाहीको दायरामा ल्याइने र आतङ्कवादविरुद्ध सरकारको अडान अझ कडा हुने स्पष्ट सन्देश दिएका छन् ।

घटनापछि भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले सुरक्षा स्थिति मूल्याङ्कन गर्न श्रीनगर पुगेका छन् ।

Back to top