वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले अपराध र अपराधी पक्राउ सम्बन्धी सूचना सार्वजनिक गर्दा दोहोरो चरित्र देखाएको भन्दै स्थानीयहरूले आक्रोश व्यक्त गरेका छन् ।
बारा प्रहरीले सामान्य अपराधमा संलग्न व्यक्तिहरूको नाम, ठेगाना र अनुहारसहितको तस्बिर सार्वजनिक गर्ने गरेको भए पनि पहुँचवाला र प्रभावशाली व्यक्तिहरू पक्राउ पर्दा भने यस्तो विवरण लुकाउने गरेको पाइएको छ ।
बारा प्रहरीको यस्तो विभेदकारी रवैयाले प्रहरीको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ ।
उदाहरणका लागि, गत फागुन २८ गते बाराको नवजन्म पुनःस्थापना केन्द्रमा कुटपिटका कारण प्रदीपप्रसाद मण्डल (धीरेन्द्र) को मृत्यु भएको घटनामा पक्राउ परेका मुख्य अभियुक्तमध्ये एक केन्द्रका सञ्चालक साहेबबाबु मन्सुरको पक्राउको सूचना बारा प्रहरीले सार्वजनिक गरेन ।
यस्तै, वैशाख ४ गते आफूलाई पत्रकार बताउँदै व्यवसायी र व्यापारीसँग रकम असुल्ने प्रयास गरेको आरोपमा पक्राउ परेका वीरगञ्ज-१० का विष्णु सर्राफको तस्बिर पनि प्रहरीले सार्वजनिक गरेको छैन । तर, सोही प्रकृतिका अन्य घटनामा पक्राउ परेका व्यक्तिहरूको पूर्ण विवरण र तस्बिर प्रहरीले नियमित रूपमा सार्वजनिक गर्दै आएको छ ।
स्थानीयहरूले बारा प्रहरीको रवैयालाई ‘पहुँचवालाप्रति नरम र सर्वसाधारणप्रति कठोर’ नीति भएको आरोप लगाएका छन् । “सानो अपराधमा पनि सर्वसाधारणको तस्बिर र नाम सार्वजनिक हुन्छ, तर ठूलो अपराधमा संलग्न पहुँचवाला व्यक्तिको सूचना लुकाइन्छ,” एक स्थानीयले गुनासो गरे, “यो प्रहरीको निष्पक्षतामाथिको ठूलो धब्बा हो ।”
बारा प्रहरीको कार्यशैलीले स्थानीय समुदायमा असन्तुष्टि बढ्दै गएको छ । बारा प्रहरीले आफ्नो पारदर्शिता र निष्पक्षतामाथि उठेका प्रश्नहरूको जवाफ दिन र सबै अपराधीहरूलाई समान व्यवहार गर्न तत्काल कदम चाल्नुपर्ने माग स्थानीयहरूले गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा उनले फोन उठाएनन् ।