×

वीरगञ्ज । वीरगञ्जमा शनिवार हनुमान जयन्तीको शोभा यात्राका क्रममा भएको हिंसात्मक झडप र त्यसपछिको कर्फ्यु व्यवस्थापनका क्रममा प्रहरीले चलाएको गोलीले स्थानीय हरेन्द्र राउत अहिर घाइते भएको दाबीलाई जिल्ला प्रशासन कार्यालय पर्साले अस्वीकार गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले शनिवारको घटनामा प्रहरीले १४५ राउन्ड अश्रुग्याँस र दुई राउन्ड हवाई फायर मात्र गरेको दाबी गरेका छन् । तर, घाइते राउत, नारायणी अस्पताल र चिकित्सकहरूले उनलाई प्रहरीको गोली नै लागेको पुष्टि गरेपछि प्रशासनको भनाइमाथि प्रश्न उठेको छ । 

आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सिडिओ अर्यालले शनिवारको घटनामा प्रहरीले १४५ राउन्ड अश्रुग्याँस र दुई राउन्ड हवाई फायर मात्र गरेको बताए । वीरगञ्ज–१६ इनरवाका स्थानीय हरेन्द्र राउत अहिरलाई प्रहरीको गोली लागेर घाइते भएको भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले अनभिज्ञता जनाउँदै घुमाउरो रूपमा आरोपलाई इन्कार गरे । उनले भने, “हामीले हवाई फायर मात्र गरेका छौँ ।” 

तर, घाइते राउतले प्रहरीले नै गोली चलाएर आफूलाई घाइते बनाएको दाबी गरेका छन् । नारायणी अस्पतालमा उपचाररत राउतले सञ्चारकर्मीहरूलाई बताएअनुसार शनिवार राति साइकलमा बिर्ताबाट दूध लिएर घर जाँदै गर्दा इनर्वा चौकमा प्रहरीले कुनै चेतावनीबिना गोली चलाएको थियो । “म साइकलमा थिएँ, कसैलाई केही गरेको थिइनँ । अचानक गोली चल्यो र मेरो बायाँ हातमा लाग्यो,” उनले भने । राउतलाई उनका आफन्तले तत्काल नारायणी अस्पताल पुर्‍याएका थिए । हाल उनको त्यहाँ उपचार भइरहेको छ । 

नारायणी अस्पतालका आकस्मिक कक्षका चिकित्सकहरूले राउतको बायाँ हातमा गोली लागेको पुष्टि गरेका छन् । अस्पतालले आइतबार जारी गरेको विज्ञप्तिमा शनिवारको हिंसात्मक घटनामा ४३ जना घाइतेको उपचार गरिएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको उल्लेख छ । विज्ञप्तिअनुसार गम्भीर घाइतेमध्ये एक जनाको बायाँ हातमा गोली लागेको छ । नारायणी अस्पतालका प्रवक्ता डा. उदय नारायण सिंहले प्रेस विज्ञप्तिमार्फत प्रहरीको गोलीबाट एक व्यक्ति घाइते भएको पुष्टि गरे । “हामीले घाइतेको उपचारमा कुनै कसर बाँकी राखेका छैनौँ । गोली लागेका व्यक्तिको अवस्था स्थिर छ,” उनले भने । 

राउतको दाबी र अस्पतालको पुष्टिको बाबजुद सिडिओ अर्यालले गोली लागेको घटनालाई अस्वीकार गर्नुले स्थानीय र सञ्चारकर्मीहरूबिच विभिन्न प्रश्न उठेका छन् । शनिवार राति राउतलाई गोली लागेको विषयमा जानकारी लिन खोज्दा प्रहरी र प्रशासनसँग सम्पर्क हुन नसकेको सञ्चारकर्मीहरूले बताएका छन् । घटनाको स्वतन्त्र छानबिन र पारदर्शिताको माग स्थानीय समुदायले उठाउन थालेका छन् । 

सिडिओ अर्यालको भनाइ र राउतको दाबीबिचको विरोधाभासले प्रशासनको पारदर्शितामाथि प्रश्न उठाएको छ । स्थानीय समुदाय र सञ्चारकर्मीहरूले इनर्वा चौकमा भएको गोली काण्डको सत्य तथ्य छानबिन गर्न माग गरेका छन् । “प्रशासनले सत्य लुकाउन खोज्नु दुखद छ । हरेन्द्र राउतलाई गोली लागेको कुरा अस्पतालले नै पुष्टि गरेको छ,” एक स्थानीयले भने ।

शनिवार छपकैया क्षेत्रमा शोभा यात्राका क्रममा दुई समुदायबिच भएको झडपले स्थिति तनावग्रस्त बनेको थियो । “जय श्रीराम” लेखिएको झन्डा खोस्ने प्रयास र इदगाह चोकमा ढुंगामुढा प्रहारबाट सुरु भएको विवादले उग्र रूप लिँदा कम्तीमा ४३ जना घाइते भएका थिए । झडपमा दुई बिरयानी पसल, तीन मासु पसल, एक औषधि पसल र केही निजी घरमा तोडफोड भएको थियो भने आठ मोटरसाइकलमा आगजनी हुँदा लाखौँको सम्पत्ति नष्ट भएको प्रारम्भिक अनुमान छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले व्यापक बल प्रयोग गरेको थियो । 

झडप नियन्त्रण भन्दा बाहिर गरेपछि प्रशासनले साँझ साढे बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म कर्फ्यु आदेश जारी गरेको थियो । स्थिति अझै नियन्त्रण बाहिर रहेको दाबी गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्युलाई आइतबार राति १२ बजेसम्म लम्ब्याएको छ ।

कर्फ्यु उल्लङ्घन गरेको आरोपमा आइतबार दिउँसोसम्म चार दर्जनभन्दा बढी जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए । 

सर्वपक्षीय बैठकले शनिवारको घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र घाइतेको निःशुल्क उपचारको माग गरेको छ । बैठकमा विभिन्न राजनीतिक दल, हिन्दु सङ्घ-संस्थाका प्रतिनिधि, नागरिक समाज र सुरक्षा निकायका प्रतिनिधिहरूले सामाजिक सद्भाव कायम राख्न र साम्प्रदायिक तनाव भड्किन नदिन अपिल गरेका छन् । सामाजिक सञ्जालमा फैलिएका भ्रामक भिडियो र अफवाहप्रति सचेत रहन प्रशासनले सबै पक्षलाई आग्रह गरेको छ । 

आइतबार बिहानदेखि वीरगञ्जमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त गस्तीले सुरक्षा व्यवस्था कडा पारिएको छ । सामाजिक सञ्जालमा शनिवारको घटनाले व्यापक चर्चा पाएको छ । कतिपयले शान्तिपूर्ण शोभा यात्रामाथि सुनियोजित आक्रमण भएको दाबी गरेका छन् भने कतिपयले साम्प्रदायिक तनाव भड्काउने प्रयासप्रति चिन्ता व्यक्त गरेका छन् । 

प्रशासनले सबै समुदायलाई संयमित रहन र शान्तिपूर्ण सहअस्तित्वको भावना आत्मसात् गर्न अपिल गरेको छ । कर्फ्यु राति १२ बजेपछि हटाउने वा निरन्तर राख्ने विषयमा थप छलफल हुने बताइएको छ । तर, प्रहरीको गोलीबाट स्थानीय घाइते भएको दाबी र प्रशासनको अस्वीकारले वीरगञ्जमा तनावको वातावरण कायमै रहेको सङ्केत गर्छ ।

Back to top