वीरगञ्ज । वीरगञ्जमा शनिवार हनुमान जयन्तीको शोभा यात्राका क्रममा भएको झडपपछि उत्पन्न तनाव व्यवस्थापन र सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासन कार्यालय पर्साले हिन्दुवादी संघ–संस्थाका प्रतिनिधिहरूसँग छलफल सुरु गरेको छ ।
आइतबार बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालयमा सुरु भएको सुरक्षा समितिको बैठकमा सञ्चारकर्मीको प्रवेशमा निषेध गरिएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले हिन्दुवादी संघ–संस्थासँगको छलफलअघि विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग सर्वदलीय बैठक बसिएको जानकारी दिए । उनले सामाजिक सद्भाव कायम राख्दै स्थितिलाई नियन्त्रणमा लिन सबै पक्षलाई संयमित रहन आग्रह गरेका छन् ।
बैठकमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र, सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिताललगायत सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थिति रहेको छ ।
सिडिओ अर्यालका अनुसार बैठकले शनिवारको घटनाको समीक्षा गर्दै तनाव न्यूनीकरणका उपाय र वीरगञ्जमा जारी कर्फ्यु आदेश हटाउने वा निरन्तरता दिने विषयमा निर्णय लिनेछ । शनिवार साँझ साढे ७ बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म लागू गरिएको कर्फ्युका कारण सहरको जनजीवन प्रभावित बनेको छ ।
शनिवार छपकैया क्षेत्रमा शोभा यात्राका क्रममा दुई समुदायबिच भएको झडपमा कम्तीमा ४० जना घाइते भएका थिए भने लाखौँको सम्पत्ति नष्ट भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र हवाई फायरको सहारा लिएको थियो । आइतबार बिहानदेखि अवस्था सामान्य बन्दै गए पनि सुरक्षाकर्मीको बाक्लो उपस्थिति कायमै छ ।
प्रशासनले कर्फ्यु उल्लङ्घन गर्ने ४० जनालाई नियन्त्रणमा लिएको छ । यद्यपि, अत्यावश्यक सेवा र परीक्षार्थीलाई आवागमनमा सहजता प्रदान गरिएको छ । कर्फ्युका कारण रक्सौल नाकामा यात्रुहरू अलपत्र परेका छन् । उनीहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाइएको छ ।
सिडिओ अर्यालले घटनाको निष्पक्ष छानबिन हुने र दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाएका छन् । बैठकको निष्कर्षले वीरगञ्जको पछिल्लो अवस्था र कर्फ्युको भविष्य निर्धारण गर्ने अपेक्षा गरिएको छ ।