×

वीरगञ्ज । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमामा मनाइने हनुमान जयन्ती यस वर्ष भोलि शनिवार वीरगञ्जदेखि काठमाडौँसम्म भक्तिपूर्ण उत्साहका साथ मनाइँदै छ ।

वीरगञ्जका विभिन्न टोलसहित पर्सा जिल्लाका स्थानीय तहहरूबाट निकालिने वृहत् शोभा यात्रा र ऐतिहासिक महावीर मन्दिरमा आयोजना हुने भव्य महाआरतीले धार्मिक वातावरणलाई भक्तिमय बनाउने तयारी छ । मन्दिरहरूमा हनुमान चालिसा पाठ, भजन–कीर्तन, हवन, सांस्कृतिक प्रस्तुति र झाँकीले उत्सवमा रौनक थपिने अपेक्षा गरिएको छ ।

हनुमान जयन्तीको अवसरमा वीरगञ्ज महानगरपालिका–११ श्रीपुरसहित विभिन्न टोलहरूबाट निकालिने शोभा यात्राले नगरका सडकहरूमा भक्ति लहर सिर्जना गर्ने अपेक्षा छ । श्रीपुरसँगै घडीअर्वा, रानीघाट, आदर्शनगर, परवानीपुर, मुर्ली, लक्षमानवा, गण्डक, छपकैया, पानीटंकी, नगवा, माइस्थान र बिर्ताबाट रङ्गीचङ्गी झाँकीसहित शोभा यात्रा निकालिने तयारी रहेको हिन्दु अभियन्ता कृष्ण साहले बताए ।

पर्सा जिल्लाका पर्सागढी, बहुदरमाई, पोखरिया, सखुवा प्रसौनी र जगरनाथपुरलगायतका स्थानीय तहहरूबाट पनि हजारौँ भक्तजनहरू शोभा यात्रामा सहभागी हुने साहले जानकारी दिए ।

साहका अनुसार, सबै शोभा यात्राहरू वीरगञ्जको ऐतिहासिक घण्टाघरमा एकत्रित भएर विशाल शोभा यात्रामा परिणत हुनेछन् । वृहत् शोभा यात्राले नगर परिक्रमा गर्दै धार्मिक एकता र सामाजिक सद्भावको सन्देश प्रवाह गर्नेछ । “यो वर्षको शोभा यात्रामा युवा, महिला र बालबालिकासहित सबै उमेर समूहको उत्साहपूर्ण सहभागिताले उत्सवलाई ऐतिहासिक बनाउने हाम्रो विश्वास छ,” साहले भने । यात्रामा हनुमानका भक्ति गीत, ढोल–नगारा र झाँकीले वातावरणलाई भक्तिमय बनाउने उनको भनाइ छ ।

श्रीपुरमा स्थानीय युवा रञ्जन सिंह राजपूतको नेतृत्वमा १०८ पटक सामूहिक हनुमान चालिसा पाठ आयोजना हुने भएको छ । उनले जयन्तीको अवसरमा प्रसाद वितरणका लागि १०८ किलोको विशाल लड्डु तयार पारिने जानकारी दिए । “यो लड्डु सामुदायिक सहकार्यको प्रतीक हो, जसलाई शोभा यात्रापछि भक्तजनमाझ वितरण गरिनेछ,” उनले भने ।

शोभा यात्राको भव्य समापनपछि वीरगञ्जको ऐतिहासिक महावीर मन्दिरमा भोलि साँझ ६ बजे भव्य महाआरती आयोजना हुँदै छ । श्री महावीर मन्दिर समिति, हनुमान चालिसा पाठ समिति, मारवाडी सेवा ट्रस्ट र राणी सती ज्योति मण्डलको संयुक्त आयोजनामा हुने महाआरतीमा हजारौँ भक्तजन सहभागी हुने अपेक्षा रहेको आयोजकले जनाएका छन् ।

वीरगञ्ज महानगरपालिका–६ का वडाध्यक्ष जयप्रकाश शाह अग्रवालले समुदायको एकताले भव्य महाआरती कार्यक्रम सम्भव भएको बताए । “आर्थिक र व्यवस्थापकीय चुनौतीका बाबजुद हामीले सांस्कृतिक प्रस्तुति, झाँकी र साङ्गीतिक कार्यक्रममार्फत उत्सवलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रयास गरेका छौँ,” उनले भने । आयोजकले सबै भक्तजनलाई महाआरतीमा सहभागी भएर पुण्य लाभ लिन आग्रह गरेका छन् ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले यस्ता धार्मिक उत्सवले वीरगञ्जलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने बताए । “वृहत् शोभा यात्रा र महाआरतीले स्थानीय समुदायको एकता प्रदर्शन गर्नुका साथै बाह्य पर्यटकलाई आकर्षित गर्नेछ,” उनले भने । मेयर सिंहले हनुमान जयन्तीले सांस्कृतिक र धार्मिक महत्त्व बोकेको उल्लेख गर्दै यस्ता कार्यक्रमले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बढाउने विश्वास व्यक्त गरे । “हनुमान जयन्तीमा गरिने शोभा यात्रा र महाआरती जस्ता आयोजनाहरूले वीरगञ्जको सांस्कृतिक पहिचानलाई विश्वमाझ चिनाउने अवसर प्रदान गर्छ,” उनले थपे ।

ज्योतिष सम्राट् डा. पुरुषोत्तम दुबेका अनुसार, चैत्र शुक्ल पूर्णिमाको हनुमान पूजाले भक्तजनलाई बल, बुद्धि र सकारात्मक ऊर्जा प्रदान गर्छ । “शनिवारको जयन्तीले शनि दोष निवारण र सङ्कट मुक्तिको विश्वासलाई थप बलियो बनाउनेछ,” उनले भने । शास्त्रमा हनुमानलाई पवनपुत्र र एकादश रुद्रका रूपमा वर्णन गरिएको छ । उनको आराधनाले रोग, भय र नकारात्मक शक्तिबाट मुक्ति मिल्ने धार्मिक मान्यता छ । “हनुमान चालिसाको पाठ र महाआरतीले मनको शान्ति र आत्मबल बढाउँछ,” दुबेले थपे ।

हनुमान जयन्तीको अवसरमा वीरगञ्जको घडीअर्वा रामजानकी मन्दिर, बारा कलैयाको हनुमान मन्दिर, काठमाडौँको हनुमानढोका, पशुपति र गोकर्णेश्वरको पञ्चमुखी हनुमान मन्दिरमा विशेष पूजा, हवन र भजन–कीर्तनको आयोजना हुने भएको छ । 

मन्दिरहरूमा भक्तजनको भीड लाग्ने अनुमान छ भने भक्ति सङ्गीत र दीप प्रज्वलनले धार्मिक वातावरण सिर्जना हुनेछ । पर्सा जिल्लाको सखुवा प्रसौनीस्थित हनुमान मन्दिर र जगरनाथपुरको राम–हनुमान मन्दिरमा पनि शोभा यात्रा र सामूहिक पूजाको तयारी भइरहेको स्थानीयले बताए ।

उत्सवलाई सुरक्षित र शान्तिपूर्ण बनाउन पर्सा प्रहरीले व्यापक सुरक्षा योजना बनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले शोभा यात्राको रुटमा ८०० सुरक्षाकर्मी परिचालन गरिने र संवेदनशील क्षेत्रमा सादा पोसाकमा प्रहरी खटाइने जानकारी दिए । “हामीले ट्राफिक व्यवस्थापनदेखि भीड नियन्त्रणसम्म विशेष ध्यान दिएका छौँ । सबै समुदायको सहभागितामा शान्तिपूर्ण उत्सव सम्पन्न गर्न प्रतिबद्ध छौँ,” उनले भने । प्रहरीले शोभा यात्राको रुटमा सिसिटिभी निगरानी र ड्रोनको प्रयोग गर्ने तयारी गरेको छ ।

यस वर्षको हनुमान जयन्तीले वीरगञ्जमा सामुदायिक सहभागिताको नयाँ उदाहरण प्रस्तुत गर्ने अपेक्षा छ । विभिन्न टोल र स्थानीय तहबाट आयोजना हुने शोभा यात्राहरूले धार्मिक उत्सवलाई सामाजिक एकताको पर्वमा परिणत गर्नेछन् । स्थानीय व्यवसायी र सामाजिक सङ्घसंस्थाले शोभा यात्रा र महाआरतीका लागि आर्थिक तथा व्यवस्थापकीय सहयोग प्रदान गरेका छन् ।

“हनुमान जयन्तीले हामीलाई धार्मिक मात्र होइन, सामाजिक रूपमा पनि जोड्छ । यो उत्सवले हाम्रो सांस्कृतिक धरोहरलाई जीवन्त राख्ने काम गर्छ,” स्थानीय व्यवसायी धरमनाथ सर्राफले भने । उनले यस्ता कार्यक्रमले युवा पुस्तालाई आफ्नो संस्कृतिप्रति गर्व गर्न प्रेरित गर्ने बताए ।

हनुमान जयन्तीको वृहत् उत्सवले वीरगञ्जलाई धार्मिक र सांस्कृतिक केन्द्रको रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा छ । वृहत् शोभा यात्रा र भव्य महाआरतीको संयोजनले भोलिको उत्सवलाई ऐतिहासिक र अविस्मरणीय बनाउने भक्तजनहरूको विश्वास छ ।

Back to top