वीरगञ्ज । नेपालको प्रमुख व्यापारिक जिल्ला पर्सामा आजदेखि लागूऔषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धी तीन महिने सचेतनामूलक अभियानको औपचारिक शुभारम्भ भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा सुरु भएको अभियानमा जिल्ला प्रहरी कार्यालय पर्सा र पर्सा जिल्लाका १४ वटै स्थानीय तहहरूले सक्रिय सहभागिता र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।
वीरगञ्जस्थित पूजन होटेलमा आयोजित एक विशेष समारोहमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पानसमा बत्ती बालेर अभियानको उद्घाटन गरेका छन् ।
अभियानले पर्सा जिल्लालाई लागूऔषध दुर्व्यसनीको चपेटाबाट मुक्त बनाउने दीर्घकालीन उद्देश्य बोकेको छ । आगामी तीन महिनासम्म जिल्लाका सबै स्थानीय तहहरूमा व्यापक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने योजना छ ।
विद्यालय, टोल समुदाय, युवा क्लबहरू र विभिन्न सरोकारवाला संघसंस्थाहरूसम्म पुगेर आयोजना गरिने कार्यक्रमहरूले लागूऔषधको प्रयोग, यसको दुष्प्रभाव र रोकथामका उपायहरूबारे जनचेतना फैलाउने लक्ष्य राखिएको छ । अभियानको प्रभावकारिता बढाउन स्थानीय तहका जनप्रतिनिधि, प्रशासनिक नेतृत्व र प्रहरी संगठनका प्रमुखहरूले संयुक्त रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उद्घाटन समारोहका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले लागूऔषध दुर्व्यसनी नियन्त्रणका लागि केवल प्रतिबद्धता व्यक्त गर्नु मात्र पर्याप्त नभएर सबै पक्षले मिलेर ठोस कदम चाल्नुपर्ने बताए । उनले वीरगञ्ज र पर्सा जिल्लाको भारतसँगको खुला सिमानाले लागूऔषधको ओसारपसार र सेवनको जोखिमलाई थप जटिल बनाएको उल्लेख गरे ।
“हाम्रा युवाहरू सीमावर्ती भारतीय सहरहरूमा पुगेर लागूऔषध सेवन गर्ने र ओसारपसारमा संलग्न हुने गरेको पाइएको छ । यसले उनीहरूको भविष्य मात्र होइन, हाम्रो समाजको आधार नै खतरामा परिरहेको छ,” उनले भने । मेयर सिंहले लागूऔषधको कुलतमा फसेका युवाहरूलाई पुनर्जननको बाटोमा ल्याउन र यस समस्याको जरो उखेल्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका विशिष्ट अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले लागूऔषध दुर्व्यसनीलाई नेपाली समाज र युवा पुस्ताका लागि गम्भीर चुनौतीको रूपमा चित्रण गरे । उनले स्थानीय तहहरूलाई आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा लागूऔषध रोकथाम र नियन्त्रणलाई प्राथमिकतामा राखेर छुट्टै बजेट विनियोजन गर्न आग्रह गरे । “अभियानलाई दिगो बनाउन स्थानीय तहहरूले आफ्नै स्रोत र साधन परिचालन गर्नुपर्छ । जिल्ला प्रशासनको तर्फबाट म हर सम्भव सहयोग गर्न तयार छु,” उनले भने । प्रजिअ अर्यालले समस्याको समाधानका लागि प्रशासन, प्रहरी र समुदायबिच बलियो समन्वयको आवश्यकता रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालले कार्यक्रममा लागूऔषध दुर्व्यसनीको वर्तमान अवस्था र यसले निम्त्याएका समस्याहरूबारे विस्तृत प्रस्तुति दिए । उनले लागूऔषधको प्रयोगले व्यक्तिको स्वास्थ्य, पारिवारिक सम्बन्ध र सामाजिक संरचनामा पार्ने नकारात्मक प्रभावबारे जानकारी गराए । साथै, उनले पर्सा जिल्लामा लागूऔषध सम्बन्धी अपराधको तथ्याङ्क प्रस्तुत गर्दै यसको नियन्त्रणमा प्रहरीको सक्रिय भूमिका रहने प्रतिबद्धता दोहोर्याए । “हामीले लागूऔषधको आपूर्ति शृङ्खला तोड्न र प्रयोगकर्तालाई सुधारको बाटोमा ल्याउन निरन्तर प्रयास गरिरहेका छौँ,” उनले भने ।
पर्सा जिल्लाको भौगोलिक अवस्थिति र भारतसँगको खुला सिमानाले लागूऔषधको ओसारपसार र प्रयोगलाई नियन्त्रण गर्न चुनौतीपूर्ण बनाएको छ । अभियानले यस्ता चुनौतीहरूको सामना गर्न स्थानीय स्तरमा जनचेतना बढाउने र युवाहरूलाई लागूऔषधको दुष्चक्रबाट जोगाउने लक्ष्य राखेको छ ।
कार्यक्रममा सहभागी सबै पक्षले अभियानलाई प्रभावकारी बनाउन र पर्सा जिल्लालाई लागूऔषध मुक्त बनाउने सपनालाई साकार पार्न आ-आफ्नो क्षेत्रबाट योगदान गर्ने वाचा गरेका छन् ।
तीन महिनाको अवधिमा सञ्चालन हुने अभियानको समापनपछि यसको प्रभावकारिता मूल्याङ्कन गरिने र आवश्यक परे थप रणनीति तयार गरिने आयोजकले जनाएको छ । अभियानले पर्सा जिल्लामा लागूऔषध दुर्व्यसनविरुद्धको लडाइँमा एउटा कोसेढुंगा साबित हुने अपेक्षा गरिएको छ ।