वीरगञ्ज । मधेसको पवित्र र आस्थाको पर्व चैती छठ शुक्रवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेर विधिवत् रूपमा सम्पन्न भएको छ ।
चैत शुक्ल चतुर्थीबाट सुरु भएको चार दिने छठ पर्वको अन्तिम दिन आज सप्तमी तिथिमा व्रतालुहरूले वीरगञ्जको रानीघाटस्थित सिर्सिया नदी, घडिअर्वा पोखरी, नगवा पोखरी, मुर्ली पोखरी, छपकैया पोखरीलगायत पर्सा जिल्लाका सम्पूर्ण नदी, पोखरी र खोलाहरूको छेउमा बनेका घाटहरूमा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन भएको हो ।
वर्षमा दुई पटक मनाइने पर्वको कार्तिकमा हुने छठलाई मुख्य मानिए पनि चैती छठको धार्मिक र सांस्कृतिक महत्त्व उत्तिकै रहेको ज्योतिष सम्राट डा. पुरुषोत्तम दुबेले बताए । मधेसमा हर्षोल्लास र भक्तिपूर्वक मनाइएको छठ पर्वले सामुदायिक एकता र परम्परालाई झल्काएको उनले बताए ।
चार दिनको विधिपूर्ण उत्सव
चैती छठको पहिलो दिन चैत शुक्ल चतुर्थीमा व्रतालुले ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका थिए । पवित्र स्नान गरेर चोखो भोजन (चोखोनीतो) खाई व्रतको सङ्कल्प लिएका थिए । दोस्रो दिन बर्तालुहरूले पञ्चमीमा ‘खरना’ पूजा गरेका थिए । दोस्रो दिन दिनभरि निर्जल उपवास बसेर बर्तालुहरूले साँझ सख्खरमा पकाइएको खिर र रोटी प्रसादको रूपमा ग्रहण गरेका थिए ।
तेस्रो दिन षष्ठीमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो । जसलाई स्थानीय भोजपुरी भाषामा ‘सँझिया घाटको अरघ’ भनिन्छ । अन्तिम दिन आज सप्तमीमा बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन भएको छ । आजको विधिलाई ‘भोर घाटको अरघ’ वा ‘पारन’ भनिन्छ ।
व्रतालुले ठेकुवा, केरा, उखु, सुन्तला, निबुवा, बोडी, सुथनी, मुलाजस्ता प्रसाद सूर्यतर्फ अर्पण गरेर पूजा सम्पन्न गरेका हुन् ।
पर्सा जिल्लाका रानीघाट, घडिअर्वा, नगवा, मुर्ली, छपकैया पोखरीसहित विभिन्न नदी र खोलाहरूको छेउमा बनाइएका छठ घाटहरूलाई सुन्दर र मनमोहक ढङ्गले सजाइएको थियो । रङ्गीचङ्गी फूल, बत्ती र बाँसको संरचनाले घाटहरू आकर्षक बनेका थिए । बिहानैदेखि घाटहरूमा व्रतालुको भीड लागेको थियो भने भजन–कीर्तन र लोकगीतले वातावरण भक्तिमय बनाएको थियो ।
रानीघाट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष रञ्जन सिंह राजपूतले पर्व हर्षोल्लास र शान्तिपूर्वक सम्पन्न भएको बताए । “चार दिनसम्म व्रतालुले कठोर नियम पालना गरेर सूर्यदेवको आराधना गरे । छठ हाम्रो आस्थाको उत्सव हो,” उनले भने ।
छठ पर्व वर्षमा दुई पटक—शरद ऋतुमा कार्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म—समान विधिले मनाइन्छ । कार्तिकको छठलाई मुख्य मानिए पनि चैती छठको धार्मिक महत्त्व कम छैन । छठ पर्व सूर्यदेव र उनकी पत्नी षष्ठीको उपासना गर्ने अवसर हो । जनविश्वासअनुसार व्रतले सन्तान सुख, स्वास्थ्य लाभ, छालाजन्य रोगबाट मुक्ति र मनोकामना पूरा हुन्छ । मधेसमा छठ पर्व जनजनको सहभागितामा हर्षोल्लासका साथ मनाइन्छ, जसले सामुदायिक एकता र सांस्कृतिक पहिचानलाई बलियो बनाउँछ ।
छठ व्रत बस्नुको पछाडि प्रकृतिप्रति कृतज्ञता र सूर्यको ऊर्जाबाट जीवन शक्ति प्राप्त गर्ने विश्वास जोडिएको छ । धार्मिक कथनअनुसार, पाण्डव पत्नी द्रौपदीले सूर्यदेवको उपासना गरेर आफ्नो सङ्कट हटाएकी थिइन् । त्यस्तै, रामायणमा भगवान् राम र सीताले निर्वासनबाट फर्केर सूर्यको पूजा गरेको उल्लेख छ । प्राचीन कालमा ऋषि–मुनिहरूले पनि सूर्यको तपस्या गरेर ज्ञान र शक्ति प्राप्त गरेको मानिन्छ । मधेसमा छठ पर्वको इतिहास हजारौँ वर्ष पुरानो छ, जुन पिँढी दरपिँढी चल्दै आएको छ । छठ पर्वले प्रकृति, स्वास्थ्य र आध्यात्मिकताको सङ्गमलाई प्रतिबिम्बित गर्छ ।
सिर्सिया नदी प्रदूषणले गर्दा थपिएको चुनौती
यद्यपि, सिर्सिया नदीको प्रदूषित र दुर्गन्धित पानीका कारण धेरै व्रतालुले घाटमा नपसी कृत्रिम कुण्डमै अर्घ्य दिनुपरेको छ । पर्सा र बारामा रहेका कपडा, तेल, घ्यु, छाला लगायतका उद्योगहरूले रसायनयुक्त फोहोर पानी सिर्सिया नदीमा मिसाउँदा नदीको अवस्था नाजुक बनेको छ ।
रानीघाट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष रञ्जन सिंह राजपूतले वीरगञ्ज महानगरपालिका र नदी प्रदूषण गर्ने उद्योगहरूलाई पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गरे । “नदीको पानी सफा नहुँदा व्रतालुहरूलाई अर्घ्य दिन असहज भएको छ । त्यसैले हामीले कृत्रिम कुण्ड बनाउनुपर्यो,” उनले भने । गत वर्ष पनि यस्तै समस्या देखिएपछि कृत्रिम कुण्ड बनाइएको थियो, र यो वर्ष पनि त्यही बाध्यता दोहोरिएको छ ।