वीरगञ्ज । वीरगञ्जको रानीघाटस्थित सिर्सिया (सरिसवा) नदीको प्रदूषित र दुर्गन्धित पानीका कारण चैती छठ पर्वमा सहभागी व्रतालुहरू कृत्रिम कुण्डमा अर्घ्य दिन बाध्य भएका छन् ।
नदीको पानी स्वास्थ्यका लागि प्रतिकूल बनेपछि रानीघाट छठ पूजा व्यवस्थापन समितिले स्थानीयको सहयोगमा कृत्रिम कुण्ड निर्माण गरेको हो । चैती छठको तेस्रो दिन आज (बिहीबार) व्रतालुहरूले नदी, पोखरी अथवा तालमा प्रवेश गरेर अस्ताउँदो सूर्यलाई र भोली सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । तर नदीको अवस्थाले परम्परा प्रभावित भएको छ ।
सिर्सिया नदीमा स्वच्छ पानीको अभावले व्रतालुहरूले परम्परागत रूपमा घाटमा गएर अर्घ्य दिने चलन छाड्नुपरेको छ । समितिका अध्यक्ष रञ्जन सिंह राजपूतले वीरगञ्ज महानगरपालिका र नदी प्रदूषण गर्ने उद्योगहरूलाई पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गरे ।
“नदीको पानी सफा नहुँदा व्रतालुहरूलाई अर्घ्य दिन असहज भएको छ । त्यसैले हामीले कृत्रिम कुण्ड बनाउनुपर्यो,” उनले भने । गत वर्ष पनि यस्तै समस्या देखिएपछि कृत्रिम कुण्ड बनाइएको थियो, र यो वर्ष पनि त्यही बाध्यता दोहोरिएको छ ।
समितिका कोषाध्यक्ष मुन्ना गुप्ताले सिर्सिया नदी नालामा परिणत भइसकेको आरोप लगाए । उद्योग सँगसँगै नदीसँगै जोडिएका घरहरूले ढल र शौचालयको पानी नदीमा मिसाएको कारण पनि नदी प्रदूषित भएको बताए । महानगरपालिकाले समय – समयमा नदीलाई सफाइ नगरिदिँदा र उद्योगहरूमाथि कारबाही नगर्दा पनि यस्तो अवस्था सृजना भएको गुनासो गरे ।
उनले नेपाल सरकारका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको परिवारले स्वयम् प्रदूषित पानीमा प्रवेश गरेर छठ पर्व मनाउनु पर्ने बाध्यता रहे पनि उनले नदीलाई प्रदूषणमुक्त बनाउन कुनै ठोस कदम नउठाएको आरोप लगाए ।
त्यस्तै, स्थानीय प्रदीप सर्राफले नदीलाई राजनीतिक रोटी सेक्ने माध्यम बनाइएको आरोप लगाए । “नेताहरूले नदी सफा गर्छु भन्छन्, तर काम शून्य हुन्छ । पर्सामा तीन सङ्घीय र दुई प्रदेश मन्त्री हुँदा पनि यो मुद्दा उठ्दैन,” उनले आक्रोश व्यक्त गरे ।
स्थानीय जमुनिया देवीले दुई दशकअघि सिर्सिया नदीको पानी सफा र निर्मल भएको स्मरण गरिन् । “त्यो बेला यहाँ छठ गर्न कति रमाइलो हुन्थ्यो, तर आज उद्योगको फोहोरले नदी मर्यो। दुर्गन्धले पस्नै डर लाग्छ,” उनले भनिन् । रानीघाट मठका पूर्व अध्यक्ष विकास साहले नदी प्रदूषणमुक्त बनाउन अब सशक्त आन्दोलन गर्ने चेतावनी दिए । “यो हाम्रो आस्थाको आधार हो, यसलाई जोगाउन हामी लड्नेछौँ,” उनले भने ।
नदी प्रदूषणको मुख्य जड उद्योगहरू रहेको स्थानीयको आरोप छ । पर्सा र बाराका कपडा, तेल, वनस्पति घ्यु, छालालगायतका उद्योगहरूले केमिकल युक्त पानी सोझै नदीमा मिसाउँदा सिर्सिया मृत प्रायः बनेको छ । वीरगञ्ज महानगरका वातावरण अधिकृत प्रकाश ऐरीले पर्साको तुलनामा बाराको जितपुरसिमरा उपमहानगरपालिका र परवानीपुर गाउँपालिकाका उद्योगहरूले बढी प्रदूषण गरिरहेको बताए ।
“वीरगञ्जका उद्योगले वाटर ट्रीटमेन्ट प्लान्ट जडान गरेर वा वैकल्पिक उपाय अपनाएर पानी प्रशोधन गर्छन्, तर बाराका कपडा, तेल र वनस्पति घिउ उद्योगले हदैसम्म लापरबाही गरेका छन्,” उनले भने । बाराको क्षेत्र आफ्नो अधिकारभित्र नपर्ने भएकाले त्यहाँ अनुगमन गर्न नसकिएको उनको भनाइ छ। “हामीले बाराको प्रशासन र स्थानीय तहसँग समन्वय गर्न खोजेका छौँ, तर प्रभावकारी सहयोग पाइरहेका छैनौँ,” ऐरीले थपे ।
वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले नदी सफाइका लागि पटक–पटक प्रयास गरे पनि प्रदेश र संघ सरकारको असहयोग र उद्योगीहरूको अटेरीपनले सफलता नपाएको बताए । “हामीले आफ्नो तहबाट कारबाही र पहल गरेका छौँ, तर ठूलो समाधानका लागि उच्च तहको सहयोग चाहिन्छ । हामी प्रयास जारी राख्छौँ,” उनले भने ।
वातावरण अधिकृत ऐरीले पनि सङ्घीय र प्रदेश सरकारले नदी प्रदूषण नियन्त्रणमा आवश्यक सहयोग नगरेको गुनासो गरे । “महानगर प्रमुखले बाराका जनप्रतिनिधिसँग निरन्तर छलफल गरिरहनुभएको छ, तर ठोस नतिजा निस्किएको छैन,” उनले भने ।
सिर्सिया नदीको प्रदूषणले चैती छठको धार्मिक र सांस्कृतिक महत्त्वमाथि प्रश्न उठेको छ । मधेसको पहिचानसँग जोडिएको छठ पर्वको रौनक हराउँदै गएको स्थानीयको गुनासो छ । उद्योगको लापरबाही र सरकारी उदासीनताले नदीको अवस्था सुध्रिनुको साटो बिग्रिँदै गएको छ ।