पोखरा । सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्रको प्रचारप्रसारलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको टोली सराङ्कोट पुगेको छ।
सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति र अन्नपूर्ण केबलकारको सहकार्यमा आयोजित ‘सराङ्कोट एट फोटो पत्रकार’ कार्यक्रममा संघका अध्यक्ष राम गुरुङको नेतृत्वमा टोलीले सराङ्कोटको धार्मिक क्षेत्र तथा पर्यटन स्थलको फोटो तथा भिडियो कैद गरेको हो।
फोटो पत्रकारहरूद्वारा खिचिएका तस्बिरहरूले धार्मिक तथा पर्यटन क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्ने सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताए। उनका अनुसार, यहाँ रहेको कैलाशेश्वर महादेव मन्दिरमा प्रत्येक सोमबार साँझ ५ देखि ७ बजेसम्म महाआरति आयोजना गरिन्छ।
समितिले २०६१ सालदेखि गुरुयोजना निर्माण गरी धार्मिक संरचनाहरू निर्माण गर्दै आएको छ। हालसम्म विशाल शिव मन्दिर (कैलाशेश्वर महादेव), नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका मन्दिर, स्वागतद्वार निर्माण गरिसकिएको छ। ती संरचनाहरू निर्माणका लागि अहिलेसम्म ३५ करोडभन्दा बढी खर्च भइसकेको अध्यक्ष जिसीले जानकारी दिए।
धार्मिक क्षेत्रको दीगो व्यवस्थापन तथा थप विकासका लागि बालउद्यान, योग ध्यान केन्द्र, सिसाको आकाशे पुलसहित थप संरचना बनाउने लक्ष्य रहेको उनले बताए।
पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले सराङ्कोट क्षेत्रको विकासका लागि पत्रकारहरूको महत्वपूर्ण भूमिका रहेको भन्दै फोटो पत्रकारहरूको पहलले थप टेवा पुग्ने विश्वास व्यक्त गरे।
पर्यटन प्रवर्द्धनका लागि सराङ्कोट जाने यात्रुहरूका लागि सोमबार साँझ ४ देखि ७ बजेसम्म केबलकार भाडामा विशेष छुटको व्यवस्था गरिएको अन्नपूर्ण केबलकारका बजार व्यवस्थापक अरुण कोइरालाले जानकारी दिए। नेपाली नागरिकका लागि महाआरतिसँगै सराङ्कोट भ्रमण गर्न आउजाउ गर्न केबलकार शुल्क २५० रुपैयाँ मात्र तोकिएको छ।
एनपिजेएका अध्यक्ष राम गुरुङले पर्यटन प्रवर्द्धनका लागि फोटो पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको भन्दै नेपाल फोटो पत्रकार संघ कास्की सदैव यस खालका कार्यक्रम आयोजना गर्न तत्पर रहेको बताए। पोखरालाई पर्यटन राजधानीको रूपमा विकास गर्न फोटोको माध्यमबाट प्रचारप्रसारलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता उनले जनाए।