वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा किर्ते कागजात र फर्जी शैक्षिक प्रमाणपत्रको आधारमा शिक्षकको रूपमा नियुक्ति लिएर वर्षौँदेखि कार्यरत बबली कुमारीको मामिला पुनः चर्चामा आएको छ ।
बबलीको नियुक्ति अवैध रहेको प्रमाणहरू भेटिएपछि स्थानीयहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वीरगञ्ज महानगरपालिकासहित सम्बन्धित निकायहरूमा कारबाहीको माग गरेका छन् । बबली हाल वीरगञ्ज महानगरपालिका–२४ स्थित श्री रामजानकी आधारभूत विद्यालयमा कार्यरत छिन् ।
यात्रा डेलीलाई प्राप्त प्रमाण अनुसार, वीरगञ्ज महानगरपालिका - २८ निवासी बबली कुमारीले पहिलो पटक विक्रम संवत् २०६५ असार १३ गते वीरगञ्ज महानगरपालिका–९ (तत्कालीन वीरगञ्ज–१२) स्थित श्री नेपाल रेल्वे माध्यमिक विद्यालयमा बाल विकास शिक्षकको रूपमा नियुक्ति लिएकी थिइन् ।
बबलीले रेल्वे स्कुलमा नियुक्ति पाउँदा त्यहाँका प्रधानाध्यापक थिए हरिहर प्रसाद यादव । हाल अवकाश प्राप्त गरिसकेका यादवले नियुक्ति पत्रमा रहेको प्रधानाध्यापकको हस्ताक्षर आफ्नो नभएको बताए । उनले आफू प्रधानाध्यापक रहँदा बबली कुमारी नामक कुनै शिक्षकलाई नियुक्ति नदिएको दाबी समेत गरे । यादवले आफ्नो हस्ताक्षर, विद्यालयको लेटर प्याड र छापसमेत किर्ते गरेर नियुक्ति लिइएको हुनसक्ने आरोप लगाउँदै छानबिन गर्न माग गरे ।
बबलीले २०६५ सालमा शिक्षकको रूपमा नियुक्ति लिए पनि उनको नागरिकता भने २०६८ सालमा मात्र बनेको छ । नागरिकता नै नभएको व्यक्तिले कसरी नियुक्ति पायो भन्ने गम्भीर प्रश्न पनि यहाँ उठ्छ ।
उपलब्ध कागजातहरूका अनुसार बबली २०६८ भदौ २३ मा नागरिकता प्राप्त गरेकी छन् । नागरिकतामा उनको जन्म मिति २०५० पुस २६ गते छ । सो अनुसार उनले शिक्षकका रूपमा नियुक्ति पाउँदा उनी केवल १५ वर्षकी थिइन् । कानुन अनुसार १५ वर्ष उमेर शिक्षक नियुक्तिका लागि अयोग्य मानिन्छ । यसले पनि बबलीको नियुक्ति अवैध रहेको स्पष्ट हुन्छ ।
प्रारम्भिक नियुक्तिपछि बबली निरन्तर शिक्षकको रूपमा कार्यरत रहेकी छन् । रेल्वे स्कुलबाट उनको सरुवा वीरगञ्ज–२४ को श्री रामजानकी आधारभूत विद्यालयमा भएको देखिन्छ । उनको सरुवा कहिले र कुन मितिमा भयो स्पष्ट छैन ।
फर्जी कागजातको आधारमा बबली कुमारीले नियुक्ति लिएको थाह पाएपछि स्थानीयहरूले अख्तियारमा उजुरी दिएका थिए । उजुरीको आधारमा अख्तियारले २०७९ माघ ४ मा वीरगञ्ज महानगरपालिकालाई पत्र लेख्दै बबलीमाथि कारबाही गर्न निर्देशन दिएको थियो ।
अख्तियारको निर्देशन अनुसार २०७९ चैत ९ मा वडा नम्बर २४ का वडाध्यक्ष विजय प्रसाद कुर्मीले विद्यालयलाई बबलीको योग्यता प्रमाणपत्र माग गरे । विद्यालयले चैत १५ मा कागजात पेस गरे पनि ती चित्तबुझ्दो नभएपछि पुनः कागजात माग गरियो । त्यस्तै २०८० वैशाख ५ मा विद्यालय व्यवस्थापन समितिको बैठकले बबलीको तलब र सुविधा रोक्का गर्ने निर्णय समेत गर्यो । तर, बबलीमाथि कारबाही गर्नुको सट्टा महानगरपालिकाका तत्कालीन शैक्षिक प्रशासन प्रमुख अरविन्द लाल कर्णले उनलाई वीरगञ्ज–१८ को नेपाल राष्ट्रिय आधारभूत विद्यालय सौराहामा सरुवा गरे । अन्यत्र सरुवा भए पनि बबलीले शक्ति र पहुँच प्रयोग गरी उक्त सरुवा रोकेर पुनः श्री रामजानकी विद्यालयमै कार्यरत रहेकी छन् ।
अख्तियारले २०८१ माघ २९ मा महानगरपालिकालाई फेरी पत्र लेख्दै बबलीले सेवा प्रवेश गर्दा पेस गरेका शैक्षिक प्रमाणपत्र उपलब्ध गराउन निर्देशन दिएको छ । महानगरले गत फागुन ८ मा विद्यालयलाई सोही निर्देशन अनुसार आवश्यक कागजातहरू उपलब्ध गराउन निर्देशन दिएको छ । स्थानीयहरूका अनुसार बबलीले भारतबाट नक्कली प्रमाणपत्र बनाएर आफ्नो योग्यता पुगेको देखाएकी छिन् ।
स्थानीयहरूले बबलीले शक्ति र पहुँचको दुरुपयोग गरी अवैध नियुक्ति कायम राखेको आरोप लगाएका छन् । “उनले किर्ते कागजात र फर्जी प्रमाणपत्रको आधारमा शिक्षक पद ओगटेकी छिन्, यो गम्भीर अपराध हो,” एक स्थानीयले भने । उनीहरूले अख्तियार र महानगरपालिकाले ठोस कारबाही नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।