बारा । बाराको कलैया उपमहानगरपालिकाले नगर प्रमुखको लागि १ करोड १५ लाख रुपैयाँको चारपांग्रे गाडी खरिद गरेको छ। अर्थ मन्त्रालयको नयाँ गाडी खरिद नगर्नेसम्बन्धी निर्देशनलाई लत्याउँदै उपमहानगरपालिकाले महिन्द्राको स्कोर्पियो ‘एन’ मोडेलको गाडी खरिद गरेको हो।
स्थानीय तहमा बजेट अभाव रहेको भनिए पनि जनप्रतिनिधिहरू आफ्नै सुविधाका लागि खर्च गर्न पछि नपरेको आरोप लागेको छ। नगरपालिकामा पहिले नै नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत चढ्ने गरी तीनवटा गाडी उपलब्ध रहेको स्थानीय बासिन्दाहरू बताउँछन्।
कलैया उपमहानगरपालिका वडा नम्बर ४ का पूर्व वडा अध्यक्ष जटाशंकर सहनी भन्छन्, "अहिलेका जनप्रतिनिधिहरू मुकुटविनाका राजा भएका छन्। जनताका समस्या समाधानभन्दा आफ्नै सुविधा बढाउनेतर्फ ध्यान दिएका छन्।" नगर प्रमुख बिनोद प्रसाद साहसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।
अर्थ मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तहहरूलाई नयाँ गाडी खरिद नगर्न निर्देशन दिएको थियो। तर, कलैया उपमहानगरपालिकाले यसलाई उल्लंघन गरेको देखिन्छ।
"नगरको काम धेरै भएकोले आवश्यकताअनुसार गाडी खरिद गरिएको हो। अर्थ मन्त्रालयले स्थानीय तहलाई गाडी खरिद गर्न रोकेको छैन।" तर, कोष तथा लेखा नियन्त्रक कार्यालय, बाराका अनुसार कानुनी अस्पष्टताका कारण स्थानीय तहलाई नियमन गर्न गाह्रो भइरहेको छ।
स्थानीय नागरिकहरू भन्छन्, "वडाहरूमा विकास बजेटको अभाव देखाउने, तर नगर प्रमुखका लागि महँगो गाडी खरिद गर्ने प्रवृत्ति कति उचित?" यस प्रकरणले "कहीँ नभएको जात्रा हाँडी गाउँमा" भन्ने उखानलाई चरितार्थ गरेको" स्थानीय बासिन्दाहरूको भनाइ छ।