×

वीरगञ्ज । ठाकुरराम बहुमुखी क्याम्पसमा १६ वर्षपछि मङ्गलवार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना प्रक्रियालाई लिएर विवाद चर्किएको छ ।

मतगणना अझै सुरु नभएको अवस्थामा क्याम्पस प्रशासन र निर्वाचन समितिले सञ्चारकर्मीलाई क्याम्पस परिसरमा प्रवेश गर्न रोक लगाएपछि मतगणनाको निष्पक्षता र पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ । 

बुधवार बिहान १० बजे मतगणना सुरु गर्ने घोषणा गरिए पनि दिउँसो १२ बजिसक्दा गणना प्रक्रिया अघि नबढेपछि समाचार सङ्कलनका लागि क्याम्पस पुगेका पत्रकारहरूलाई प्रशासनले प्रहरीको सहायता लिएर प्रवेशमा रोक लगाएको छ ।

पत्रकारहरूको प्रवेशमाथि लगाइएको रोगको निर्णयले विद्यार्थी सङ्गठनका नेताहरू आक्रोशित बनेका छन् भने निर्वाचन समितिको नियतमाथि थप शङ्का उत्पन्न भएको छ । 

विद्यार्थी नेता सुधीर पटेलले क्याम्पस प्रशासन र निर्वाचन समितिले सत्ताधारी दलको विद्यार्थी सङ्गठनलाई जिताउन चलखेल गरिरहेको आरोप लगाउँदै पत्रकारहरूलाई रोक लगाइनु त्यही षड्यन्त्रको हिस्सा भएको दाबी गरे । “मतगणना स्थलमा सञ्चारकर्मीको उपस्थितिले पारदर्शिता कायम हुने भएकाले उनीहरूलाई जानाजान बाहिर राखिएको छ,” उनले भने, “यो कदमले हामीलाई निर्वाचन प्रक्रियाको निष्पक्षतामाथि झन् आशङ्का बढाएको छ ।” 

प्रमुख निर्वाचन अधिकृत दिलीप सिंहले भने सञ्चारकर्मीमाथि रोक लगाउनुको कारण मङ्गलवार मतदानका बेला भएको कथित ‘लफडा’ लाई दोष दिए । “पत्रकारहरूकै कारण मतदानमा अनेक समस्या देखिए, त्यसैले मतगणना स्थलमा उनीहरूलाई प्रवेश गर्न दिइएको छैन,” उनले भने ।

यद्यपि, निर्वाचन अधिकृत सिंहको तर्कलाई विद्यार्थी नेताहरूले हास्यास्पद र गैर जिम्मेवार भनेका छन् । उनीहरूले मतदानका बेला पत्रकारको उपस्थितिले कुनै अवरोध नभएको र यो बहाना मात्र भएको बताएका छन् । 

मङ्गलवार भएको मतदानमा कुल १०,७२९ मतमध्ये ४,२९९ मत खसेको थियो । सभापति, सचिव, कोषाध्यक्षसहित २१ पदका लागि २४७ उम्मेदवार प्रतिस्पर्धामा छन् । तर, मतगणना प्रक्रियामा भएको ढिलाइ र सञ्चारकर्मीमाथिको प्रतिबन्धले क्याम्पस प्रशासन र निर्वाचन समितिको नियतमाथि गम्भीर आलोचना भएको छ ।

पत्रकारहरूलाई बाहिर राखेर मतगणना गर्न खोज्नुले प्रक्रियालाई गोप्य राख्ने प्रयास भएको भन्दै विद्यार्थी सङ्गठनहरूले आन्दोलनको चेतावनी दिएका छन् । 

लामो समयपछि भएको स्ववियु निर्वाचनको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ भने सञ्चारकर्मीको प्रवेश निषेधले सूचनाको स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमाथि समेत आघात पुगेको टिप्पणी सुरु भएको छ । क्याम्पस प्रमुख रणजित प्रसाद यादव र निर्वाचन अधिकृत सिंहको कदमले उनीहरूको जिम्मेवारी र निष्पक्षताप्रति थप शङ्का उत्पन्न भएको छ ।

Back to top