फाइल तस्बिर ।
वीरगञ्ज । भोभोली चैत ७ गते बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई पर्साले जनाएको छ ।
पर्सा जिल्लाबाट कुल ११ हजार ४१३ विद्यार्थीले एसइई परीक्षामा सहभागिता जनाउँदै छन् । जसमा छात्रा ५ हजार ७३६ र छात्र ५ हजार ६७७ रहेका छन् ।
जिल्लाभर २९ वटा परीक्षा केन्द्र तोकिएको छ, जसमध्ये २८ वटा सामुदायिक विद्यालय र एउटा निजी विद्यालय छन् । वीरगञ्ज महानगरपालिकामा सबैभन्दा बढी १७ केन्द्र रहेका छन् भने बाँकी १२ केन्द्र जिल्लाका अन्य १३ स्थानीय तहमा फैलिएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख उपसचिव हरि राउतले परीक्षा मर्यादित र अनुशासित बनाउन कडा नियम लागू गरिएको बताए । उनका अनुसार, परीक्षा केन्द्रमा मोबाइल फोनसहित कुनै पनि विद्युतीय उपकरण लैजान पूर्ण रूपमा निषेध गरिएको छ । कसैले यस्ता उपकरण बोकेको भेटिएमा तत्काल जफत गरिने र फिर्ता नहुने उनले चेतावनी दिए । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने उनले जानकारी दिए ।
परीक्षा केन्द्रको सम्पूर्ण जिम्मेवारी केन्द्राध्यक्षलाई दिइएको छ । राउतले भने, “कुनै पनि लापरबाही भेटिएमा निरीक्षक वा केन्द्राध्यक्षमाथि तत्काल कारबाही हुनेछ ।” यस्तै, उत्कृष्ट रूपमा केन्द्र सञ्चालन गर्नेहरूलाई पुरस्कृत गर्ने व्यवस्था पनि रहेको उनले बताए । अनुगमन समितिको निरीक्षणका आधारमा पुरस्कार प्रदान गरिने उनको भनाइ छ ।
अनुगमन समितिमा पर्साका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका अधिकृत, पत्रकार महासङ्घ र अभिभावक सङ्घका प्रतिनिधि सहभागी हुनेछन् । राउतले सबै पक्षसँग परीक्षालाई मर्यादित बनाउन सहयोगको आग्रह गरेका छन् ।
पर्सा जिल्लामा परीक्षा व्यवस्थापनका लागि व्यापक तयारी भए पनि मधेस सरकारको बहिर्गमनले केही प्रश्न उठाएको छ । यद्यपि, शिक्षा समन्वय इकाईले परीक्षा निर्धारित समयमै र व्यवस्थित रूपमा सम्पन्न हुने दाबी गरेको छ । १४ वटै स्थानीय तहका विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षालाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको जानकारहरू बताउँछन् ।
परीक्षा सुरु हुने अघिल्लो दिनसम्म सबै केन्द्रमा आवश्यक सामग्री पुर्याइसकिएको र सुरक्षाको पनि कडा व्यवस्था गरिएको राउतले बताए ।
यसैबिच, मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकार एसइई परीक्षाको सम्पूर्ण प्रक्रियाबाट बाहिरिएको घोषणा गरेका छन् । परीक्षा सुरु हुनुअघि बुधवार मुख्यमन्त्री सिंह र शिक्षा मन्त्री रानी शर्मा तिवारीले पत्रकार सम्मेलन गरी जानकारी दिए ।
प्रदेश सरकारले केन्द्राध्यक्ष चयनमा गोला प्रथा लागू गर्न प्रस्ताव गरेको थियो । तर, शिक्षा समन्वय इकाई र शैक्षिक संस्थाहरूले प्रस्ताव अस्वीकार गरेपछि सरकारले प्रक्रियाबाट हात झिकेको हो । मुख्यमन्त्री सिंहले शिक्षा समन्वय इकाईका प्रमुखहरूले परीक्षालाई आफ्नो नियन्त्रणमा राख्न खोजेको आरोप लगाए । उनले भने, “हामीले कुनै खास व्यक्तिलाई केन्द्राध्यक्ष बनाउन खोजेका होइनौँ, केवल गोला प्रथाबाट निष्पक्ष चयन होस् भन्ने चाहेका थियौँ। तर उनीहरूले मानेनन्,” उनले थपे, “प्रदेश सरकारको कुरै नमान्ने भएपछि हामीलाई परीक्षामा संलग्न हुनुको कुनै औचित्य देखिएन ।” विवादले मधेस प्रदेश सरकार र शिक्षा समन्वय इकाईबिचको तनाव सतहमा आएको छ ।