×

सर्लाही । विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणका बीच गुणस्तरहीन उत्पादन र प्राविधिक कमजोरीका कारण यात्रुहरू ज्यान जोखिममा पर्ने खतरा बढेको छ।

सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गको बाकै जंगल क्षेत्रमा एक विद्युतीय गाडी अनियन्त्रित भई सडकबाट तल खस्दा चालक गम्भीर घाइते भएका छन्। बागमती प्रदेश ०३० च ५५८९ नम्बरको जीईसी ब्राण्डको एईओएन वाइ कार दुर्घटनामा परेको हो।

चालकले पटक–पटक ब्रेक दबाउँदा पनि नलागेपछि गाडी अनियन्त्रित भई दुर्घटनामा परेको पीडित उमेश यादवले बताए। दुई पटक पल्टिएको गाडीमा कम्पनीले दाबी गरेका ६ एयर ब्यागमध्ये एक पनि नखुलेको गुनासो उनले गरेका छन्।

यादवका अनुसार, ५८ लाख रुपैयाँ पर्ने उक्त गाडीको दुर्घटनापछि कम्पनीले कुनै चासो नदेखाएको र उचित सहायता समेत नगरेको बताएका छन्। दुर्घटनामा गाडीको अगाडिको भाग ध्वस्त भएको छ भने चालकको टाउको फुटेको र शरीरमा गम्भीर चोट लागेको छ।

विद्युतीय गाडीहरूको सुरक्षासम्बन्धी कडाइ गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। यादवले गाडीको प्राविधिक त्रुटिले दुर्घटना भएको भन्दै कानुनी प्रक्रियामा जाने चेतावनी दिएका छन्।

Back to top