×

वीरगञ्ज ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ ।

सोही सन्दर्भमा, वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा लामो समयदेखि अवरुद्ध स्ववियु निर्वाचन प्रक्रिया अघि बढाउन एक समिति गठन गरिएको छ ।

क्याम्पस प्रमुख रणजीत प्रसाद यादवले जारी गरेको पत्रअनुसार त्रिवि शिक्षाध्यक्षको कार्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको माघ २८ गतेको निर्देशिकाको आधारमा समिति गठन गरिएको हो ।

स्ववियु निर्वाचन सम्बन्धी निर्देशिका २०८१ को दफा ५ को उपदफा १ र २ बमोजिम दिलीप कुमार सिंहको संयोजकत्वमा १३ सदस्यीय क्याम्पस स्ववियु निर्वाचन समिति गठन गरिएको छ ।

समितिमा सञ्जयभक्त श्रेष्ठ, सञ्जय कुमार दास, राम विनय प्रसाद यादव, गौरीशङ्कर पाण्डेय, प्रदीप कुशवाहा, कन्हैया झा, मुक्त कुमार भुसाल, नमोनारायण महतो, रामाधार प्रसाद साह, विजय कुशवाहा, गुन्जन कुमार सिंह र रघुनाथ प्रसाद चौरसिया सदस्य रहेका छन् ।  रघुनाथ प्रसाद चौरसिया सदस्य-सचिवको जिम्मेवारीमा छन् ।

क्याम्पस प्रमुख यादवले समितिलाई निर्देशिका २०६१ को दफा ५ को उपदफा ३ को परिधिभित्र रही आफ्नो काम, कर्तव्य, अधिकार र जिम्मेवारी निर्वाह गर्न अनुरोध गरेका छन् ।  

ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन लामो समयदेखि हुन सकेको छैन । त्रिविको नियमअनुसार प्रत्येक दुई वर्षमा स्ववियु निर्वाचन हुनुपर्ने भए पनि राजनीतिक अस्थिरता, विश्वविद्यालय प्रशासनको ढिलासुस्ती र विद्यार्थी सङ्गठनहरूबिचको विवादका कारण प्रक्रिया पटक-पटक अवरुद्ध हुँदै आएको छ ।

ठाकुरराम क्याम्पसमा पछिल्लो स्ववियु निर्वाचन २०६५सालमा भएको थियो । त्यसपछि विभिन्न कारणले निर्वाचनको मिति तोकिए पनि कार्यान्वयन हुन सकेको छैन । कयौँ पटक निर्वाचनको तयारी भए पनि त्रिवि प्रशासन र विद्यार्थी सङ्गठनबिच मतभेदका कारण स्थगित भएको थियो । त्यसयता कोभिड-१९ महामारी र अन्य प्रशासनिक समस्याले निर्वाचन थप पछि सरेको थियो ।  

विद्यार्थीहरूका अनुसार, स्ववियु नेतृत्वको अभावमा क्याम्पसमा शैक्षिक सुधार, पुस्तकालय व्यवस्थापन, छात्रवृत्ति वितरण र अतिरिक्त क्रियाकलापजस्ता महत्त्वपूर्ण मुद्दाहरू ओझेलमा परेका छन् । “हामीले लामो समयदेखि निर्वाचनको माग गर्दै आएका थियौँ, तर कुनै सुनुवाइ भएको थिएन । अब बल्ल यो प्रक्रिया अगाडि बढेको छ,” एक विद्यार्थी नेताले भने ।  

त्रिवि अन्तर्गत देशभरका ६० आङ्गिक र एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसहरूमा २०८१ मा हुने स्ववियू निर्वाचनले विद्यार्थीहरूमा ठूलो उत्साह ल्याएको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा पनि विभिन्न विद्यार्थी सङ्गठनहरूले प्रचार-प्रसार र उम्मेदवारीको तयारीमा जुटेका छन् । निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट र उपाध्यक्ष, सहसचिव तथा बाँकी ५० प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट चुनिनेछन् । मतदान मिति चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म चल्नेछ ।

वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस त्रिविको एक प्रमुख आङ्गिक क्याम्पस हो । यहाँ विज्ञान, मानविकी, व्यवस्थापन र शिक्षा शास्त्र लगायतका विषयमा स्नातक र स्नातकोत्तर तहको शिक्षा प्रदान गरिन्छ । पर्सा जिल्ला र आसपासका क्षेत्रका विद्यार्थीहरूका लागि ठाकुरराम क्याम्पस शैक्षिक केन्द्रको रूपमा स्थापित छ । यहाँको विद्यार्थी सङ्ख्या र सक्रिय सङ्गठनहरूको उपस्थितिले निर्वाचनलाई थप प्रतिस्पर्धात्मक बनाउने अनुमान छ ।

स्ववियु निर्वाचनले क्याम्पसमा शैक्षिक सुधार, नेतृत्व विकास र विश्वविद्यालय नीतिमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्छ । ठाकुरराम क्याम्पसमा विगतको निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) र अखिल (क्रान्तिकारी) लगायतका सङ्गठनहरूबिच तीव्र प्रतिस्पर्धा देखिएको थियो । तर, निर्वाचन नहुँदा क्याम्पसमा विद्यार्थी नेतृत्वको अभाव खट्किएको छ  ।   

निर्वाचनलाई शान्तिपूर्ण बनाउन क्याम्पस प्रशासनले सुरक्षा व्यवस्था कडा पार्ने तयारी गरेको छ । विगतमा केही क्याम्पसहरूमा निर्वाचनका क्रममा झडप भएका घटनालाई मध्यनजर गर्दै स्थानीय प्रहरीसँग समन्वय भइरहेको छ । क्याम्पस प्रमुख यादवले भने, “हामी निष्पक्ष र व्यवस्थित निर्वाचनका लागि प्रतिबद्ध छौँ ।”

लामो समयको प्रतीक्षापछि निर्वाचन हुन लागेकाले ठाकुरराम क्याम्पसका विद्यार्थीहरूमा उत्साह छाएको छ । “हामीलाई क्याम्पसको विकास र शैक्षिक सुधारका लागि सक्षम नेतृत्व चाहिएको छ,” एक विद्यार्थीले भने । अर्का विद्यार्थीले थपे, “निर्वाचन नहुँदा हाम्रा समस्या सुनाउने ठाउँ थिएन । अब नयाँ नेतृत्वले हाम्रा माग पूरा गर्ला भन्ने आशा छ ।”  

चैत ५ गते हुने स्ववियु निर्वाचनले ठाकुरराम बहुमुखी क्याम्पसमा लामो समयदेखिको नेतृत्व शून्यता अन्त्य विश्वास गरिएको छ । समिति गठनसँगै निर्वाचनको औपचारिक तयारी सुरु भएको छ र अबको केही दिनमा उम्मेदवारी दर्ता लगायतका प्रक्रिया अगाडि बढ्नेछ । निर्वाचनले वीरगञ्जका विद्यार्थीहरूको नेतृत्व क्षमता र सक्रियताको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ ।

Back to top