वीरगञ्ज । भारतको ओडिशा राज्यस्थित भुवनेश्वरको पटिया क्षेत्रमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयको छात्रावास परिसरमा आइतबार साँझ एक नेपाली विद्यार्थीको रहस्यमय अवस्थामा मृत्यु भएको छ ।
मृतक विद्यार्थीको पहिचान बुटवल निवासी प्रकृति लम्सालको रूपमा भएको छ । उनी बीटेक तेस्रो वर्षमा अध्ययनरत थिइन् । उनको शव भुवनेश्वरको राजधानी अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ ।
लम्सालको मृत्युको वास्तविक कारण पुष्टि नभए पनि प्रारम्भिक रिपोर्टअनुसार उनले आत्महत्या गरेको बुझिएको छ । आफ्ना पूर्व प्रेमी अद्विक श्रीवास्तवबाट भएको दुर्व्यवहार सहन गर्न नसकेपछि लम्साल आत्महत्या गर्न बाध्य भएको आशङ्का गरिएको छ । आरोपित श्रीवास्तव सोही विश्वविद्यालयको तेस्रो वर्षको मेकानिकल इन्जिनियरिङका विद्यार्थी रहेको बताइएको छ ।
घटनाबारे एक पोस्ट सामाजिक सञ्जाल एक्स (पहिला ट्विटर) भाइरल भएको छ । पोस्टअनुसार, प्रकृति लम्साल लामो समयदेखि मानसिक तनावमा थिइन् । उनले आफ्नो पूर्व प्रेमी श्रीवास्तवबाट शारीरिक तथा मानसिक दुर्व्यवहार भएको गुनासो विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आइआरओ) मा दिएको बताइए पनि त्यहाँबाट कुनै ठोस कदम चालिएको थिएन ।
त्यहाँ अध्ययनरत अर्की एक नेपाली विद्यार्थीका अनुसार, विश्वविद्यालय प्रशासनसँग पटक–पटक सहायता माग्दा पनि कुनै उचित कारबाही नभएपछि लम्साल अन्ततः आत्महत्या गर्न बाध्य भइन् । सोही घटनासँग सम्बन्धित एक अडियो क्लिप पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । क्लिपमा आरोपित श्रीवास्तवले लम्सालमाथि गालीगलौज गर्दै दुर्व्यवहार गरिरहेको सुन्न सकिन्छ ।
लम्सालको शव भेटिएपछि सोमबार बिहानैदेखि सयौँ विद्यार्थीहरूले विश्वविद्यालय परिसर घेराउ गर्दै निष्पक्ष छानबिनको माग गरेका छन् । यसैबिच, विश्वविद्यालय प्रशासनले घटना सम्बन्धी जानकारी र अन्य महत्पूर्ण प्रमाणहरू लुकाउन खोजिरहेका भन्ने विभिन्न भिडियो क्लिक र पोस्टरहरू समेत सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।
आइतबार साँझ प्रकृति लम्साल मृत फेला परेको केही समयपछि नै उनका साथीहरूले लम्साललाई श्रीवास्तवले निरन्तर मानसिक तनाव दिएको र दुर्व्यवहार गर्ने गरेको बताएका थिए । उनका साथीहरूको दाबी अनुसार, श्रीवास्तवले दिइरहेको तनाव कै कारण लम्साल आत्महत्या गर्न बाध्य भइन् । लम्सालको मृत्यु पश्चात् विश्वविद्यालयको सहयोगमा श्रीवास्तव सहर छोडेर भाग्न खोजिरहेको समेत आरोप लागेको छ ।
घटना सार्वजनिक भएसँगै सयौँ विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनविरुद्ध नारा लगाउँदै धर्ना दिएका छन् । उनीहरूले प्रशासनले प्रमाण लुकाउन खोजेको र विश्वविद्यालय घटनालाई दबाउने प्रयासमा लागेको आरोप लगाएका छन् ।
विश्वविद्यालय प्रशासन र आन्दोलनरत विद्यार्थीहरूबिच भएको संवादको एउटा भिडियो क्लिप पनि सामाजिक सञ्जालमा बाहिरिएको छ । क्लिपमा विद्यार्थीहरू, “उनीहरू (प्रशासन) सत्य लुकाउन खोजिरहेका छन् । मृतकको मोबाइल फोन खोसेर प्रशासनले राखेको छ र परिवारलाई समेत फिर्ता दिएको छैन । उपकुलपतिलगायत सम्पूर्ण विश्वविद्यालय प्रशासन घटनालाई दबाउने प्रयासमा छन्,” भन्दै आक्रोश पोखिरहेका छन् । स्थिति तनावग्रस्त बनेपछि क्याम्पस प्रशासनको आग्रहमा विद्यार्थीहरूमाथि प्रहरी प्रयोग गरेर दमन समेत गरिएको बुझिएको छ ।
सामाजिक सञ्जालमा विश्वविद्यालयविरुद्ध व्यापक विरोध गरिँदै छ । आज विश्वविद्यालय परिसरमा ठूला प्रदर्शन गर्न आह्वान गरिएको छ र न्यायको माग गर्दै समर्थन जनाउन आग्रह गरिएको छ ।
यता, किट विश्वविद्यालयका रजिस्ट्रार ज्ञान रञ्जन महान्तीले सञ्चारकर्मीहरूलाई जानकारी दिँदै मृतक प्रकृति लम्साल आफ्नो साथीहरूसँगको विवादका कारण तनावमा रहेको बताउँदै घटनालाई सामान्य रूपमा लिनुपर्ने बताएका छन् । उनले भने, “प्रकृति लम्साल छात्रावासमै बस्दै आएकी थिइन् । प्रेम सम्बन्धमा समस्या भएपछि उनले आत्महत्या गरेकी हुन् । उनको कोठा सिल गरिएको छ र परिवारलाई खबर गरिसकिएको छ । घटनामा संलग्न रहेको आरोपमा श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेको छ ।”
घटना पश्चात् विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीहरूलाई तत्काल विश्वविद्यालय छाड्न निर्देशन दिएको छ । रजिस्ट्रार कार्यालयद्वारा जारी गरिएको एक सूचना अनुसार, सम्पूर्ण नेपाली विद्यार्थीहरूले १७ फेब्रुअरी २०२५ भित्र विश्वविद्यालय परिसर खाली गर्नुपर्नेछ ।
सूचनामा भनिएको छ, “विश्वविद्यालय तत्कालका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय विद्यार्थीहरू (नेपालबाट आएका) का लागि बन्द गरिएको छ । नेपाली विद्यार्थीहरूले १७ फेब्रुअरी २०२५ भित्र क्याम्पस खाली गर्नुपर्नेछ ।”
विश्वविद्यालयको निर्णयले नेपाली विद्यार्थीहरूबिच त्रास फैलिएको छ भने, घटनाले विश्वविद्यालय प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ ।