×

वीरगञ्ज । बारा जिल्लाको कलैया उपमहानगरपालिका–१ स्थित नवजन्म पुन:स्थापना केन्द्रमा दुई साताअघि भर्ना गरिएका प्रदीप प्रसाद मण्डलको सामूहिक कुटपिटका कारण मृत्यु भएको पुष्टि भएको छ ।

प्रहरी अनुसन्धानका क्रममा सुधार केन्द्रमा मण्डललाई दिइएको सजाय अस्वीकार गरेपछि उनीमाथि भएको सामूहिक कुटपिटका कारण उनको मृत्यु भएको पुष्टि भएको हो ।

मण्डलले अनुशासन उल्लङ्घन गरेको भन्दै सुधार केन्द्रका केही व्यक्तिहरूले बिहीबार राति उनलाई ‘मुर्गा बन्न’ सजाय दिन खोजेको प्रहरीको भनाइ छ । यद्यपि उनले अस्वीकार गरेपछि उनीमाथि सामूहिक कुटपिट भएको थियो ।

बाराका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङका अनुसार, सामूहिक कुटपिटका कारण गम्भीर घाइते भएका मण्डलको केही समयपछि मृत्यु भएको थियो ।

कुटपिटपछि सुधार केन्द्रका सञ्चालकहरूले मण्डललाई सुरुमा कलैया सिटी अस्पताल लगेका थिए, तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कलैया प्रादेशिक अस्पताल पुर्‍याइएको थियो एसपी तामाङले भने । तर, त्यहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरी अनुसन्धानका क्रममा सुधार केन्द्रका सञ्चालकहरूले अनुशासन तोड्नेलाई ‘कन्सिक्वेन्स’ भन्दै कडा सजाय दिने गरेको खुलासा भएको छ । ‘कन्सिक्वेन्स’ स्वरूप मण्डललाई मुर्गा बन्न निर्देशन दिइएको थियो । तर, उनले त्यसलाई अस्वीकार गरेका थिए ।

पक्राउ परेका व्यक्तिहरूले प्रहरी समक्ष दिएको बयानमा पनि मण्डलले सजाय अस्वीकार गरेपछि उनीमाथि कुटपिट गरिएको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ । ‘मण्डलले अनुशासन भङ्ग गरेका थिए, त्यसपछि उनलाई शारीरिक सजाय दिने तय भयो । तर उनले त्यो गर्न मानेनन्, त्यसपछि सबै रिसाउँदै कुट्न थाले, जसका कारण उनको मृत्यु भयो,’ पक्राउ परेकाहरूले दिएको बयानलाई उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने ।

एसपी तामाङले पनि सजाय दिन खोज्दा मण्डलले नमानेपछि कुटपिट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । उनले भने, ‘मुक्काले अनुहारमा कुटपिट गरिएको यथेष्ट प्रमाण नै छ, जसमा मध्यरातमा कोठाभित्र कुटपिट भएको देखिन्छ । शारीरिक यातना दिन मुर्गा बनाउन खोजिएको रहेछ, मुर्गा बन्न नमानेपछि कुटपिट गरिएको छ ।’

केन्द्रबाट बाहिरिएको सिसिटिभी फुटेजको सुरुवातमा एक अर्धनग्न युवकले मण्डललाई मुर्गा बन्न निर्देशन दिइरहेको देखिन्छ । तर, त्यसलाई अस्वीकार गर्दा युवकले उनीमाथि कुटपिट गर्न थाल्छन् । कुटपिट गर्दा गर्दै उनलाई कोठाको अर्को कुन्नासम्म पुर्‍याउँछन्, जहाँ केन्द्रमा रहेका अन्य व्यक्तिहरूले समूह बनाएर उनमाथि कुटपिट गर्न थाल्छन् । कुटपिटबाट भुईँमा लडेको अवस्थामा समेत मण्डलमाथि कुटपिट जारी रहन्छ ।

घटनालाई लुकाउन सञ्चालकहरूले सिसिटिभी फुटेज नष्ट गर्न खोजेको प्रहरीले दाबी गरेको छ । एसपी तामाङले भने, ‘केन्द्रका सञ्चालकहरूले सिसिटिभी फुटेज लगायतका महत्त्वपूर्ण प्रमाण लुकाउने प्रयास गरेका थिए, तर हामीले समयमै हस्तक्षेप गरेर प्रमाणहरू जोगाएका छौँ ।’

घटनामा सुधार केन्द्रका सञ्चालक सर्फराज मन्सुरीसहित नीरज सर्राफ, तमन्ना अली, सागर गुप्ता, मोहम्मद आसुमिया शेख, अरुण सर्राफ र परमेश्वर साह पक्राउ परेका छन् । पक्राउ परेकाहरूमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ भने सात दिनको म्याद थप गरिएको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।

Back to top