वीरगञ्ज । वीरगञ्जका दुई युवा दुई फरक फरक गायन रियालिटी शोमा उत्कृष्ट प्रस्तुति दिँदै अर्को चरणमा छनौट भएका छन् । वीरगञ्जका सुमित श्रीवास्तव ‘सिङ्गिङ स्टार नेपाल’ सिजन २ मा, भने वीरगञ्जकै सिद्धान्त सहनी ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ मा छनौट भएका हुन् ।
सुमित श्रीवास्तवको सानदार प्रस्तुति
वीरगञ्ज निवासी सुमित श्रीवास्तव ‘सिङ्गिङ स्टार नेपाल’ सिजन २ को दोस्रो चरणका लागि छनौट भएका हुन् । उनले उदित नारायण झा र दीप नारायण झाको ‘ए मेरो हजुर’ बोलको गीत गाएका थिए, जसले निर्णायकहरू अर्जुन पोखरेल, डा. तृषला गुरुङ र सनुप पौडेललाई प्रभावित भएका थिए । तीनै जना निर्णायकले उनको गायकीको प्रशंसा गर्दै अर्को चरणमा छनोट गरेका थिए ।
सुमितको संगीत यात्रा बाल्यकालदेखि नै सुरू भएको थियो । उनले वीरगञ्जका विभिन्न सांगीतिक प्रतियोगितामा भाग लिँदै आफ्नो पहिचान बनाउँदै आएका थिए । रियालिटी शोमा छनौट भएपछि उनले आफ्नो यात्रा अझै चुनौतीपूर्ण भए पनि दर्शकको माया र साथले आफूलाई हौसला मिल्ने प्रतिक्रिया दिएका छन् ।
सिद्धान्त सहनीको धमाकेदार इन्ट्री
वीरगञ्जकै २० वर्षीय सिद्धान्त सहनी ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को ब्लाइन्ड अडिसनमा छनौट भएका छन् । उनको प्रस्तुति पहिलो एपिसोडमै प्रसारण भएको थियो । उनले पुष्पन प्रधानको ‘बाबुको जुँगो बन्धकी राखेर’ बोलको गीत गाएर निर्णायकहरूलाई चकित पारेका थिए ।
उनको गायकीबाट कोच मेलिना राई सबैभन्दा पहिले प्रभावित भइन् र आफ्नो कुर्सी घुमाइन् । त्यसपछि उदय सोताङ र खेम सेञ्चुरीले पनि उनलाई टिममा लिन इच्छुक देखाए । कोच राजु लामाले मात्र कुर्सी घुमाएनन् । कोचहरूको राम्रो प्रतिक्रिया पाएपछि उनी को टिममा जाने भन्ने अन्योलमा परेका थिए । अन्ततः उनले कोच उदय सोताङलाई रोजे ।
वीरगञ्जका यी दुई युवा गायन प्रतिभाहरूको सफलता प्रति वीरगञ्जवासी उत्साहित छन् । भोजपुरी समाज नेपालका अध्यक्ष ध्रुवसिंह ठकुरीका अनुसार सिद्धान्त र सुमितको सहभागिताले वीरगञ्जको पहिचानलाई थप उचाइमा पु-याएको छ । उनले वीरगञ्जका अन्य संगीतप्रेमी युवाहरूलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
गायन यात्रा अगाडि बढाइरहेका यी दुई प्रतिभाशाली गायकले आगामी चरणमा कस्तो प्रदर्शन गर्छन् भन्ने कुराले दर्शकहरूमा कौतुहलता बढाएको छ ।
वीरगञ्जबाट गायन रियालिटी शो मा सहभागि भएको यो पहिलो पटक भने हैन । यसअघि नेपाल आईडलसँगै द भ्वाईस अफ नेपालमा पनि वीरगञ्जबा झुमक ब्याण्डका विवेक परियारले सहभागिता मात्रै जनाएका थिएनन् । उनले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न नसकेपनि निर्णायक र दर्शकको मन जितेका थिए ।
त्यसपछि वीरगञ्जबाटै शशाङक लामा थिङग, राजन ठाकुर र सूर्यनारायण वि.क.ले पनि नेपाल आईडल सिजन ५ मा सहभागिता जनाएका थिए ।