×

चितवन । “हाम्रो दाना, छाना र नाना चलचित्रकै कामबाट चलेको छ, त्यसैले चलचित्र उद्योगको हीतमा सबैले हातेमालो गरौ”, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सबैलाई आह्वान गरे । 

चलचित्र पत्रकार संघ चितवनले चितवनको कमलनगरस्थित होटल ह्याप्पी होममा आयोजना गरेको मोफसलमा नेपाली चलचित्रको बजार र चलचित्र पत्रकारहरुको सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डिसीले चलचित्र बजारलाई फराकिलो बनाउन चलचित्र पत्रकारको भूमिका अपरिहार्य भएको बताए । उनले भने, ‘चलचित्र बजारलाई बिस्तार गर्नका लागि चलचित्र पत्रकारको भूमिका अपरिहार्य छ, त्यसैले तपाईहरु आफ्नो क्षमता अभिवृद्धि गर्ने र चलचित्रका बहुआयामिक विषयमा कलम चलाउने गर्नुहोस् ।’

बोर्ड अध्यक्षको जिम्मेवारी सम्हालेसँगै आफुले पनि महत्वपूर्ण कामहरु गरेको उनको दाबी छ । डिसीकाअनुसार ११० दिनको अवधिमा बोर्डको कार्यालयलाई महिला मैत्री र अपाङग मैत्री बनाइएको छ । यसका साथै चलचित्र सम्बन्धी ऐन संशोधन र पारित गर्ने कार्यलाई आफुले पहिलो प्राथमिकतामा राखेको उनले सुनाए । त्यस्तै आगामी बैशाख १ गतेदेखि रियल टाइम बक्सअफिस रेकर्ड सार्बजनिक गर्ने गरी तिव्र गतिमा काम भइरहेको छ भने सुटिंग स्टुडियो बनाउने काम पनि सोही रफ्तारमा भइरहेको उनले बताए । 

मध्यपहाडी र पूर्वपश्चिम राजमार्गको आसपासमा रहेका लगभग १५० हलहरु बन्द भएको जानकारी दिँदै पुनः सुचारु गरेको खण्डमा एक वर्षसम्म नेपाल सरकारले कुनै पनि कर नलिने व्यवस्था गरेको पनि उनले बताए । उनले थपे, ‘मनोरञ्जन पनि गास, बास, कपास जस्तै आधारभूत आवश्यक्ताभित्र पर्दछ, र मनोरञ्जनको एक माध्यम चलचित्र पनि हो । त्यसैले दर्शकले खोजे जस्तै चलचित्र निर्माणका लागि जोड दिन आवश्यक छ ।’ 

बोर्डले भर्खरै कलाकारलाई वितरण गरेको परिचयपत्रका बारेमा विवाद उब्जिएको प्रसँगमा उनले भने, ‘नेपाल सरकारको छाप भएको परिचय पत्रको पनि छुट्टै महत्व छ । यसका साथै परिचय पत्रसँगै एक लाख रुपैयाँको बीमा पनि छ भन्ने कुरा धेरैलाई थाहा छैन रहेछ । यसले कलाकारको बीमाको पनि सुनिश्चितता गरेको छ ।’ 

साथै उनले चलचित्र सँग सम्बन्धीत विज्ञापन अरु मिडियालाई नदिने व्यवस्था कार्यन्वयनकै क्रममा रहेको पनि स्पष्ट पारे । विगतका दिनमा बोर्डको सहकार्यमा भएका कार्यक्रमको भूक्तानी नदिएका संघ संस्था र व्यक्तिलाई आगामी दिनमा बजेट तथा कार्यक्रम नदिने अडान पनि उनले अघि सारे ।  नकारात्मक भन्दा पनि बोर्डले गरेका सकारात्मक कामलाई जनतासामु सुसूचित गरिदिन पनि उनले अनुरोध गरे । 

चलचित्र पत्रकार संघ नेपाल पर्साका अध्यक्ष गोविन्द अर्यालको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रिय अध्यक्ष समिर बलामीले चलचित्र पत्रकारले दर्शकको मनोभावनालाई पनि समेट्नुपर्ने आवश्यक्ता औँल्याए । 
 
चलचित्रको बजार फराकिलो बनाउनका लागि चलचित्र पत्रकारको सोचाई र बुझाई पनि फराकिलो हुनुपर्ने उनको बुझाई छ । बलामीले भने, ‘समाचार लेख्ने हाम्रो प्रमुख धर्म हो, हामी त्यसमै ध्यान दिउँ । बजार भन्ने बित्तिकै कति कमायो भन्ने मात्रै नभएर यहाँका दर्शकको मनोभावना के छ भन्ने पनि बुझ्न जरुरी छ ।’

फिलिम चल्नका लागि कुनै भाषा, क्षेत्र र समूदायले छेक्दैन भन्ने कुरा स्पष्ट पार्दै उनले दर्शकलाई चलचित्रको चेतना दिने चलचित्र पत्रकारको काम भएको बताए ।  व्यवसायिक पत्रकारितामार्फत हामीले चलचित्र पत्रकारको धर्म निर्वाह गर्नुपर्ने उनको सुझाव छ । साथै उनले बोर्ड अध्यक्ष डिसीलाई मुभी होलिडेका लागि पनि पहल गर्न आग्रह गरे । स्थानीय तहहरुलाई चलचित्र छायांकन गर्नका लागि छुट्टै कार्यक्रम गरेर सचेतना फैलाउन पनि उनले सुझाव दिए । 

नाटक, कविता, कथा, मेला, महोत्सव लगायतका सबै क्षेत्र चलचित्र पत्रकारकै क्षेत्र भएकाले चलचित्रमा मात्रै केन्द्रित नहुन पनि उनले सचेत गराए । चलचित्र समिक्षा लेख्नु अपराध हो भन्ने भाष्य निर्माण भएको प्रति आपत्ती जनाउँदै अध्यक्ष बलामीले चलचित्र समिक्षा लेख्नु भनेको चलचित्रको प्रवद्र्धन गर्नु हो भन्ने बुझाईलाई स्थापित गर्नुपर्ने धारणा राखे । 

कार्यक्रममा चलचित्र पत्रकार संघका सल्लाहकार डब्बु क्षेत्री, पूर्व अध्यक्षद्वय शान्ती प्रिय, बिदुर गिरी, संघका कोशी प्रदेश अध्यक्ष सञ्जु राई लगायत मकवानपुर, दाङ्, बाँके, पर्सा लगायतका शाखाका अध्यक्ष एवम् पदाधिकारीहरुले मोफसलमा चलचित्र बजारको अवस्था र सुधार गर्नुपर्ने पक्षका बारेमा जिज्ञासा राखेका थिए । सो अवसरमा चितवनका हल व्यवसायीले पनि त्याहाँको बजार र हल सञ्चालनका क्रममा भोग्नुपरेका समस्याका बारेमा अनुभव सुनाएका थिए । 

चलचित्र पत्रकार संघ नेपालकी उपाध्यक्ष (महिला) सुरक्षा भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण चितवन शाखाका सचिव रबिन सुबेदीले गरेका थिए । 

चलचित्र पत्रकार संघ नेपालको पाँचौं पूर्ण बैठकः 
अन्तरक्रिया कार्यक्रमअघि चलचित्र पत्रकार संघ नेपालको पाँचौं पूर्ण बैठक पनि सम्पन्न भएको थियो । संघका केन्द्रिय अध्यक्ष समिर बलामीको अध्यक्षतामा सम्पन्न बैठकमा संघका केन्द्रीय पदाधिकारी, सल्लाहकारसहित कोशी प्रदेश, चितवन, मकवानपुर, पर्सा, दाङ, र बाँके शाखाका अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति थियो ।

बैठकले चलचित्र पत्रकारहरूको हकहितको सुनिश्चितता, पेशागत विकास, चलचित्र उद्योगसँग सहकार्य, र कानूनी सुधारको आवश्यकता लगायतका १४ एजेण्डामा छलफल गरी निर्णय गरेको छ । यसका साथै बैठकले चलचित्र पत्रकारितालाई थप प्रभावकारी बनाउन राष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्ने, मिडिया संस्थाहरूसँग दीगो आर्थिक सहकार्य गर्ने र ६० वर्ष उमेर नाघेका पत्रकारहरूको लागि पेशागत सुरक्षा भत्ता प्रणालीलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।

बैठकमा संघका महासचिव रघुनाथ सापकोटाले संघको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष मनिष कार्कीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । दुवै प्रतिवेदन बैठकले सर्वसंवत रुपमा अनुमोदन गरेको थियो । 

चलचित्र पत्रकार संघले चलचित्र पत्रकारितामा योगदान पु-याउने पत्रकारहरूको प्रोत्साहनका लागि सम्मान र पुरस्कार कोषको स्थापना गर्ने निर्णय गरेको छ । यसले पत्रकारितामा जिम्मेवारी र लगाव बढाउने विश्वास गरिएको छ । संघले चलचित्र उद्योग र पत्रकारिताबीचको समन्वयलाई प्रगाढ बनाउन राष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्ने र तालिम तथा बृत्ति विकासका लागि सरकारसँग बजेट व्यवस्थापनका लागि दबाब दिने निर्णय पनि गरेको संघका महासचिव रघुनाथ सापकोटाले जानकारी दिए ।

बैठकले चलचित्र पत्रकारिताको सुदृढीकरणका लागि कानूनी र नीतिगत सुधारको आवश्यकता औंल्याएको छ । संघले पत्रकारहरूको हकहितको सुनिश्चितता गर्दै पत्रकारिताको इमानदारी र निष्ठा कायम राख्न प्रतिवद्धता जनाएको छ ।

यसका साथै, संघका शाखाहरूले कार्यक्रमहरूको लागि स्थानीय तहसँग समन्वय गरी कार्यान्वयन गर्ने र वार्षिक रूपमा जेठ ७ गते संघको स्थापना दिवसको अवसरमा कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

१३ बुँदे चितवन घोषणा–पत्र जारी
चलचित्र पत्रकार संघ नेपालको चितवनमा सम्पन्न पाँचौं पूर्ण बैठकपछि १३ बुँदे चितवन घोषणा–पत्र जारी गरिएको छ । घोषणा–पत्रमा चलचित्र पत्रकारहरूको अधिकार संरक्षण, व्यावसायिक पत्रकारिताको प्रवद्र्धन र चलचित्र उद्योगको विकासका लागि विशेष योजना समावेश गरिएका छन् ।

संघका सल्लाहकार डब्बु क्षेत्री संयोजकत्वको घोषणा–पत्र तयारी समितिले जारी गरेको  घोषणा–पत्रले चलचित्र पत्रकारहरूको हकहितको सुनिश्चितता, व्यावसायिकता प्रवद्र्धन, र मर्यादित पत्रकारिताका लागि आवश्यक कदम चाल्न जोड दिएको छ । साथै, चलचित्र पत्रकारिता पुरस्कार कोष स्थापना, कार्यशाला, गोष्ठी, र तालिम आयोजनाका लागि सम्बन्धित निकायसँग सहकार्य गर्न माग गरिएको छ ।

घोषणा–पत्रमा नेपाली चलचित्रको प्रवद्र्धन र पर्यटन विकासका लागि सिनेमा पर्यटनका कार्यक्रमहरू सञ्चालन गर्न, नेपाली सिनेमाको माध्यमबाट कला, संस्कृति, र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पु-याउन, तथा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्न सरकारसमक्ष आग्रह गरिएको छ । 

बैठकले चलचित्र पत्रकारिता क्षेत्रमा देखिएका विकृति र विसंगति हटाउँदै मर्यादित पत्रकारितालाई प्राथमिकता दिन पत्रकारहरूलाई अनुरोध गरेको छ । चितवन घोषणा–पत्रमा, संघलाई आर्थिक सहुलियत वृद्धि गर्न सरकारसँग आग्रह गर्दै, चलचित्र पत्रकारिताका लागि स्वरोजगारमूलक मिडियाहरूलाई संरक्षण र सहयोग गर्न चलचित्र विकास बोर्डलाई समन्वयकारी भूमिका खेल्न अपिल गरिएको छ ।

बैठकले चितवनका पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धनका लागि नेपाली सिनेमाको माध्यमबाट प्रभावकारी कार्यक्रम ल्याउन र छायांकनका लागि स्थानीय सरकारले सहुलियत प्रदान गर्नुपर्नेमा जोड दिएको छ ।

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको व्यवस्थापनमा सम्पन्न बैठकले सहयोग गर्ने सबै निकाय र व्यक्तिहरूप्रति आभार प्रकट गर्दै यो अभियानलाई थप सक्रिय बनाउने प्रतिबद्धता जनाएको छ ।
 

Back to top